८ वैशाख २०८१ शनिबार
समाज

पीडित परिवारमा तिहार र ल्होसारको रौनक

सिन्धुपाल्चोक - महत्वपूर्ण चाड दसैं मनाएपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन् । नजिकिँदो अर्को पर्व तिहार र बर्खामा मानो खाएर उब्जाएको मुरी भित्र्याउने चटारोबीच उनीहरू पुनर्निर्माणमा होमिएका हुन्। भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त जिल्ला भएकाले पीडितलाई विश्राम लिने छुट छैन । आफ्नो घर ठड्याउँदै छिमेकीलाई समेत सघाउनु उनीहरूको कर्तव्य र बाध्यता बनेको छ । त्यसैले पूर्वी सीमानाका तातोपानीदेखि पश्चिमी पर्यटकीय गाउँ हेलम्बुसम्मै पुनर्निर्माणको चटारो छ । साढे दुई वर्षअघि सरकारले थालनी गरेको पुनर्निर्माण अभियान पीडितले धर्मराउन दिएका छैनन् बरू यसलाई दिनानुदिन तीव्र बनाएका छन्।

‘आफ्नो मात्र घर बनाएर भएन नि,’ छिमेकीको घर निर्माणमा सघाइरहेकी साँगाचोकस्थित भीमटार माझी गाउँकी ४४ वर्षीया सुकुमाया माझीले भनिन्, ‘छिमेकीको छहारीमा बसेपछि उनीहरूलाई पनि सघाउनैप-यो।’ भूकम्पपछिका तीनवटा चाडबाड अस्थायी टहरोमा मनाएको उनको परिवारले योपल्टको दसैंको उमंगलाई आफ्नै नवनिर्मित घरमा भित्र्यायो।

आफ्नो घर बनेकाले सुकुमाया ढुक्कले छिमेकीलाई सघाइरहेकी छिन् । छिमेकीका ३५ भन्दा बढी घर निर्माणमा सघाइसकेको उनी बताउँछिन्। ‘उनीहरूलाई पनि घरभित्र छिराउनैप-यो,’ भूकम्पपछि अद्र्धदक्ष कामदार बनेकी उनले इँटाको गारो लगाउँदै गर्दा भएको भेटमा मुस्कुराउँदै भनिन्, ‘सबै गाउँलेको घर नबनी फुर्सद मिल्नेवाला छैन।’

आलोपालोमा पुनर्निर्माणमा जुटिरहेका पीडित आफ्नो घर बनिहाल्यो भनेर पन्छन पाउने अवस्थामा छैनन् । आफन्त, टोलछिमेक र सिँगै बस्ती उठाउने जिम्मेवारी पीडितकै थाप्लोमा छ । त्यसैले उनीहरू चाडबाड, बालीनाली भित्र्याउने मेलोलगायत समस्या देखाएर बाहानाबाजी गर्ने छुटमा छैनन् । पुनर्निर्माण अन्तिम चरणमा पु-याएका मार्मिङ गाउँका मानकाजी श्रेष्ठ नजिकिँदो तिहार नयाँ घरमा मनाउने तयारीमा छन् । ‘रंगरोगन र बत्तीको काम सकेपछि घर छिर्न पाउँछौं,’ झ्याल, ढोकाको काम गरिरहेका उनले भने । गाउँमा एकैपटक पुनर्निर्माण लहर सुरु भई कामदार अभाव हुन जाँदा यो दसैं आफ्नै घरमा मनाउने सपना पूरा नभएको खिन्नता उनले सुनाए । भूकम्पपछिको चार बर्खा, चाडबाड र तीन हिउँद अस्थायी टहरोमा कष्टप्रद ढंगले व्यतीत गरिसकेका पीडित जतिसक्दो चाँडो पक्की घरमा छिर्ने ध्याउन्नमा छन् । त्यसैले उनीहरूले पुनर्निर्माणलाई मूलमन्त्र बनाएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अुनदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार÷जिमाली) का निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापा पीडितको एकमात्र ध्येय नयाँ घर बनेकाले पुनर्निर्माणले गति लिएको बताउँछन् । ‘पक्की संरचनाको आवश्यकता र जसरी पनि घर बनाउनैपर्ने भन्ने बुझेपछि अब ढिला नगरौं भन्ने मानसिकता पीडितमा देखियो,’ उनले भने । जिमालीको पछिल्लो तथ्यांकअनुसार सिन्धुपाल्चोकमा ५३ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । तेस्रो किस्ता वितरण तीव्र पारिएकाले यो संख्या दिनप्रतिदिन बढिरहेको व्यवस्थापक थापा बताउँछन् । ७५ हजार पीडितले दोस्रो किस्ता पाइसकेका आधारमा थप २२ हजारभन्दा बढी घर निर्माण अन्तिम चरणमा पुगेका छन्।

जिल्लाको सबैतिर धान भित्र्याउने र हिउँदे बाली लगाउने चटारो सुरु भइसकेको छ । यो चटारोलाई उचित व्यवस्थापन गर्दै पीडित पुनर्निर्माणकै हतारोमा देखिएका छन् । ठूलो संख्यामा घर निर्माण सकिइसकेकाले कामदार अभाव हट्दै गएको छ । पीडिले सहजै कामदार पाउने अवस्था सिर्जना भएको छ । गैरजिल्लाका नागरिकसहित दैनिक ५० हजारभन्दा बढी जनशक्ति सिन्धुपाल्चोक पुनर्निर्माणमा जुटिरहेको प्राविधिकहरूको अनुमान छ।

६० प्रतिशत पीडितले पुनर्निर्माण सक्दा अधिकांशले भूकम्पपछि पहिलोपटक आफ्नै नयाँ घरमा दसैं मनाए। उनीहरू नजिकिँदै गरेका तिहार, ल्होसारलगायतका चाडबाडको उमंगसमेत भित्र्याउने तयारीमा छन् । यो वर्ष पीडित नयाँ बालीसमेत घरमै थन्क्याउन पाउने भएका छन् । सडक, खानेपानी, शौचालय, व्यवस्थित बिजुलीसहित सहरको छनक दिँदै जिल्लाका गाउँबस्ती रंगिन बनेर ठडिइरहँदा अस्थायी टहरो क्रमशः उखेलिँदै गएका छन्।

प्रकाशित: १६ कार्तिक २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App