गन्तव्य स्याङ्जा (फाेटाे फिचर)
शरद ऋतुको आगमन भइसकेको छ । दसैं–तिहारलगायतका चाडपर्वले छोइसकेको छ । हिमालका लर्कनहरू खुल्न थालेका छन् । फाँटहरू हुस्सुको बास, पहाडका टाकुरामा कुइरोको घेरो । मौसम न चिसो न त गर्मी नै । कस्तो मण्डले पाराको मौसम । खेतका फाँटमा पहेंलपुर धानका बाला झुलिरहेछ । बारीमा कोदोको बाला पनि । लाहोरबाट लाहुरेको आगमनले गाउँघरको रोधीँ ब्युझिएको छ।
सालैजो, मारुनी, यानीमाया, सुनीमाया, कौडा, रोइला घन्किरहेछ । गाउँका कुडुँले घर, दुई धुरी, तीन धुरी घरहरूले लिपपोत र रंगाउन अत्तुर छन्, गाउँले । पानी पँधेरा, कुवा, सडक, बाटो, आँगन र कर्सोहरू सरसफाईमा जुटेका छन् गाउँले । घरहरू रंगीचंगी भएका छन् । दसैं–तिहारलाई चाहिने खर्च र सरसमानका लागि गाउँले बजार झरेका छन् । समाजका हरेक वर्गलाई २०७५ सालको चाडपर्वले छोइसकेका छन्।
घटस्थापनादेखि सरकारी कार्यालयहरूमा बिदा सुरु भएको छ । देश तथा विदेशबाट दसैं, तिहार मनाउन गाउँघर आएका छन् । आउने क्रम जारी छ । चाडपर्व मनाउने औपचारिक र अनौपचारिक योजना बनाएका छन् । बनाउँदै पनि । कोही घुम्न (भ्रमण) गइसके । कोही जाने तर्खरमा । कोही जाने सपना र योजना बुन्दै।
विश्वमै पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्यटनको गन्तव्यको रूपमा स्याङ्जालाई विश्वमै चिनाउन सकिन्छ । स्वरेक महापुर मैदान, कालीगण्डकी ‘ए’, जलविद्युत् परियोजना, सेतीवेणी, राणाहरूको कुल्यान आलमदेवी, इष्टदेवी गह्रौंकालिका, सतौंचण्डी थान, नुवाकोट दरबार, कालीगण्डकी, आँधीखोलालगायत प्राकृतिक मनोरम स्थल, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थल स्याङ्जाका प्रतिनिधि गन्तव्य हुन्।
स्वरेक महापुर मैदान
साहसिक खेल प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो, स्वरेक महापुर मैदान । यो भिरकोट नगरपालिका–५ मा पर्दछ । समुद्री सतहबाट करिब एक हजार ६ सय मिटर उचाइमा रहेको छ । महापुर मैदान र सिरकोटमा मैदान करिब सात–आठ वर्षपहिले प्याराग्लाइडिङ परीक्षण उडान भरेको थियो । सन् २०१४ देखि बाबु एड्भेन्चर्स प्रालिद्वारा व्यावसायिक रूपमा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याए । द बाबु एडभेन्चर इन्टरनेसनल स्कुल दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल हो।
नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाईडिङ संघ, हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको व्यवस्थापनमा अगामी कात्तिक १५ देखि १८ सम्म ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ को आयोजना गरिएको छ । स्वरेक महापुर मैदान मनोरम दृश्यावलोकन, प्याराग्लाइडिङ र वनभोजस्थलका उत्कृष्ट गन्तव्य हो।
स्वरेकलगायत मन्साङ्कोट, सतौं, हुनिकोट, खिलुङ, पेल्काचौर, सिर्सेकोट लगायतका ठाउँबाट प्याराग्लाईडिङ गर्न सकिन्छ । स्वरेक वालिङ जैसीपँधेरा स्वरेक १० किलोमिटर । कार, महेन्द्र जीपमा, मोटरसाइकलमा जान सकिन्छ । सवारीसाधनमा करिब एक घण्टा लाग्छ । पैदलयात्रा दुई घण्टा । यसैगरी, बयाँरघारी स्वरेक करिब १० किमि । कार, महेन्द्र जीपमा, मोटरसाइकल जान्छ । सवारी साधनमा ४५ मिनेट । पैदाल डेढ घण्टा।
सिरुबारी
नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ हो, सिरुबारी । गाउँ पर्यटन र घरबास कार्यक्रम दक्षिण एसियाकै पहिलो हो । नमुना पनि । यो गाउँ विशुद्घ गुरुङ हो । यो आँधीखोला गाउँपालिका–१ मा पर्दछ । समुद्री सतहदेखि करिब एक हजार ६ सय १० मिटर उचाइमा अवस्थित छ । सिरुबारीमा ३९ वटा घर छन् । १७ वटामा घरबास (होमस्टे) बनाएका छन् । घरबास कार्यक्रम स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको अगुवामा २०५४ सालमा स्थापना भएको हो।
गाउँको परिचय त्यहाँको मौलिक घरहरूबाट पाउन सकिन्छ । संस्कार, संस्कृति र रहनसहन विशुद्घ मौलिक पाइन्छ । गाउँलाई अवलोकन गर्न भ्यु टावर बनाएको छ । भ्यु टावरबाट सिरुबारी हेर्न सकिन्छ । गाउँको गोरुजुरे डाँडाबाट धौलगिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायतका दर्जनौं हिमश्रृङ्खला सकिन्छ । गाउँ नजिककै बनभोज स्थल पनि छन्। होमस्टेमा जाने पाहुनाले साँझ रोधीँमा नाच्न, गाउँन र रमाउन सकिन्छ।
होमस्टे काठमांडौ–पोखरा दुई सय किमी । पोखरा–स्याङ्जा नौडाँडा–सेतीदोभान–कार्कीनेटा–सिरुबारी ६४ किमी । मिनी बस, महिन्द्रा जिप र मोटर साइकल जान्छ । पैदालका लागि सेतीदोभान–भुज्रुङखोला–सिरुबारी करिब सात घण्टा लाग्छ।
विश्वमै पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्यटनको गन्तव्यको रूपमा स्याङ्जालाई विश्वमै चिनाउन सकिन्छ।
पित्लेक देउराली
अर्गानिक होमस्टे पित्लेक देउराली वालिङ नगरपालिका–५ मा पर्दछ । पित्लेक, आरूपाट र पाँडेथोक टोल मिलेर पित्लेक देउराली होमस्टे बनाएका हुन् । २०६९ सालमा महेश गुरुङको अगुवाइमा होमस्टे स्थापना भएको हो । समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइमा पर्दछ । पित्लेक डाँडामा भ्यु टावर छ । भ्यु टावरबाट वालिङ, रामबाच्छा, खहरेलगायतका बजार हेर्न मिल्छ । धौलगिरि, माछापुछ्रे अन्नपूर्णलगायतका हिमालका लर्कनहरू झनै।
होमस्टेको विशेषता अर्गानिक स्वाद हो । कफी, गोलभेंडा, लोकल कुखुरा, खसी, बोका र मह पाइन्छ । हनी हर्भेस्टिङ अर्को विशेषता हो । गुरुङ संस्कृतिको मौलिक स्वाद पाइन्छ । झोरा प्रमुख हो । अरूपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोप वे, द्वार भञ्ज्याङ त्यहाँको पहिचान हो।
होमस्टे काठमाडौं २ सय किमि । पोखरा ६० किमि । मिर्दी, पाँडेथोक, पित्लेक हुँदै पाँच किमि । मिर्दी, जगतभञ्ज्याङ ११ किमि । वालिङ–मिर्दीदेखि महेन्द्र जीप र मोटर साइकल जान्छ । मिर्दी जगत सम्म सार्वजनिक बस चल्छ । जगतबाट पैदाल यात्रा सावा घण्टा । लालुपातेबाट करिब दुई घण्टा।
सुन्तलाबारी
सुन्तलाको बगैंचाबाट सुन्तलाबारी होमस्टे बनेको हो । सुन्तलाबारीमा सानाठूला गरी १६ हजार सुन्तलाका बोटबिरुवा छन् । त्यसैले सुन्तलाबारी होमस्टे बनाएको हो । यो वालिङ नगरपालिका–४ खाल्टेमा पर्दछ । समुद्री सतहबाट एक हजार १ सय ८५ मिटर उचाइमा अवस्थित छ । गाउँमा ३२ घर छन् । १५ घरमा होमस्टे गराइन्छ । सुन्तला सिजन पर्यटकहरूका लागि विशेष सिजन हो । सुन्तला र सुन्तलाबाट बनेका विभिन्न जुसहरू खान पाइन्छ।
२०६९ सालमा क्याप्टेन डिलबिक्रम गुरुङको नेतृत्वमा होमस्टे स्थापना भएको हो । सदाबहार लोकदोहोरी गायिका शर्मिला गुरुङ र सालैजोका बादशाह राजु गुरुङको जन्मस्थल हो, सुन्तलाबारी । सालैजो, झ्याउरे र सोरठी सुन्तलाबारीको संस्कृति हो । साहसिक खेल क्यानोनिङ, खाल्टे, हेवन, कान्छी मनकामना हाइकिङ गर्न सकिन्छ । होमस्टेमा काठमाडांै–पोखरा दुई सय किमि । पोखराबाट ५७ किमि । सिद्धार्थ राजमार्ग रामबाच्छा ८ किमि । महिन्द्रा जिप र मोटरसाइकल जान्छ । पैदलयात्रा दुई घण्टा लाग्छ।
बाहुनथान–खाँणदेवी
बाहुनथानमा खाँणदेवी मन्दिर थियो । मन्दिरको पुजारी, उम्रा गैह्रे जैसी बाहुन थिए । खाँणदेवीमा जैसी बाहुनले पूजाआजा गर्ने भएकाले बाहुनले पुजा गर्ने ठाउँ हुँदै अपभ्रंश भएर बाहुनथान भएको पाइन्छ । बाइसी र चौबिसी राज्यका राजा हिक्मतबहादुर खाँणकी श्रीमतीले प्रजा अर्थात् जनताका लागि गौचर अभाव देखिन् । गौचरन बनाउन बाहुनथान क्षेत्रमा नुन छर्किन् । पछि गौचरनका लागि गैह्रे बाहुनहरूलाई दिइन्।
वालिङको प्रमुख पर्यटकीय सम्भावना बोकेको ठाउँ हो, बाहुनथान । यो वालिङ नगरपालिका–११ मा पर्दछ । स्वर्गको नेपथ्यको रूपमा बाहुनथानको परिचय बनेको छ । वालिङको दोस्रो भ्यु टावर भनेर बाहुनथानलाई चिनिन्छ । बाहुनथान रक गार्डेन, मनोरम दृश्यावलोकन र वनभोजका लागि विशेष गन्तव्य बन्दै गएको छ । स्थानीय सरकारले सार्वजनिक जग्गामा हर्बल प्लान्ट बनाउने लक्ष्यसहित पतञ्जलीले डिपिआर गरेको छ ।वालिङ बाहुनथान करिब ६ किमि । महिन्द्रा जिप, मोटरसाइकल जान्छ । भुम्रे राउतडाँडा करिब एक किमि । पैदल करिब एक घण्टा।
गह्रौंसुर
शाहवंशीयहरूको इष्टदेवी भनेर गह्रौंकालिकालाई चिनिन्छ । यो वालिङ नगरपालिका–८, १० र गल्याङ ११ मा पर्दछ । गहौंसुरमा गह्रौंकालिका मन्दिर अवस्थित छ । गह्रौंसुर क्षेत्र सांस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधायुक्त क्षेत्रका रूपमा प्रसिद्घ छ । गह्रौंसुरमा गह्रौं राज्यका खाँड÷खाँण राजाहरूले युद्धका लागि बनाएका किल्ला, गौंडा तथा गढीहरू अझै देख्न पाइन्छ । गह्रौ राज्ये पूर्वमा भीरकोट, पश्चिममा रिडी, उत्तरमा पैञ्यु, दक्षिणमा पाल्पासम्म फैलिएको शक्तिशाली राज्य थियो।
समुद्री सतहबाट करिब १७ सय मिटर उचाइमा अवस्थित छ । स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, कास्कीलगायत जिल्लाका भूभागहरू, हरिया फाँटहरू, कालीगण्डकी, आँधीखोलालगायत विभिन्न सानाठूला गरी लगभग सयभन्दा बढी खहरे तथा खोलाहरू, अग्ला पहाडहरू, खोंचहरू, विभिन्न गुफाहरू, हिमालका दृश्यवलोकन गर्न सकिन्छ।
गह्रौंसुर क्षेत्र चारैतिर जंगलले घेरिएको छ । जंगलमा बाघ, स्याल, चितुवा, मृग, दुम्सीलगायतका वन्यजन्तु र धेरै प्रजातिका चराचुरुंगी पाइन्छ । धार्मिक पर्यटनको सम्भावना बोकेको गह्रौंसुरको ऐतिहासिक पहिचान छुट्टै छ । चण्डी र कालीलाई पञ्चवली दिन चलन छ । भगवतीलाई पूजा अर्चना । औंसी, एकादशी चौथी बलि पूजा हुँदैन । गह्रौंसुरमा विशेषगरी बडादसैं र चैतै दसैंमा मेला लाग्छ । वालिङ गह्रौंसुर ९ किमि । महिन्द्रा जिप, कार र मोटरसाइकल जान्छ । काफलडाँडासम्म मिनिबस । पैदालयात्रा करिब ३ घण्टा।
आलमदेवी
स्याङजाको सुदूरमा आलमदेवी पर्दछ । भूमि पवित्र छ । दक्षिणमा काली नागबेलीमा बगिरहेछ । रानीमहलले आलमवासीलाई बोलाइरहेछ । तर, कालीको चिच्याहटले आलमवासी रानीमहलको निमन्त्रण सुन्न पाउँदैनन् । पाल्पा श्रीनगरडाँडाको बतासले आलमदेवीलाई गिज्याइरहेछ । तर आलमदेवी अडिग छिन् । भीमसेनपातीको फेदमा विश्राम गरिरहेछ । कालीले तीनतिरबाट घेरेकी छिन् । हेर्दा लाग्छ, आलम कालीकी मात्र । वैघा, विर्घा र कोटाकोटाको शिर हो, आलमदेवी।
वेगमाता वेगेश्वरी भीमसेनपातीको फेदबाट अलप भइन् । अलपदेवी कालीगंगाको जलमा स्नान र शालग्रामको पवित्रता प्राप्त गरी पुनः भीमसेनपातीको फेदमा विराजमान । भीमसेनपातीको रुखबाट अलप भएकाले वेगमाता वेगेश्वरीलाई अलपदेवी भन्न थलियो । अलपदेवी भन्दाभन्दै अपभ्रंश भएर आलमदेवी बन्न पुगिन्।
वेगमाता वेगेश्वरीदेवी अत्यन्त सक्रिय देवी माता हुन् । उनलाई वैदिक विधिअनुसार अष्टमातृकाको रूपमा जागरण गराइएको हुनाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आशीर्वाद दिनुहुन्छ । अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ को अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवं इच्छाएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बिन सकिने वरदान माग्दा पुग्ने वरदान प्राप्त गर्न सकिन्छ । मन्दिरमा सोह्र श्राद्घबाहेक अन्य समयमा पूजाअर्चना हुन्छ।
काठमाडौं–स्याङ्जा मिर्मी ३ सय ५ पाँच किमि । गल्याङ–मिर्मी २२ किमि । मिर्मी–आलमदेवी १२ किमि । काठमाडौं–मिर्मि रात्रि बस सेवा पाइन्छ । पोखरा, बुटवलबाट दैनिक मिनिबस चल्छ । गल्याङ जिरोबाट महिन्द्रा जिपमा पनि जान सकिन्छ।
सतौं चण्डी
सतौं स्याङ्जा जिल्लाकै प्रसिद्घ धार्मिक गन्तव्यमध्ये एक हो । सतौंमा चण्डीदेवी, कालिकादेवी र पशुपतिनाथको पूजा गरिन्छ । चण्डी, कालिका र पशुपतिनाथ मन्दिरको उत्तर भागमा सतौंकोटे राजाले बनाएको कोटघर छ । दरबारको भाग्नावशेष र गद्दी बैठक पनि।
स्याङ्जाका चौबिसी राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य सतौंकोट । प्राचीन सतौं राज्यभित्र दरौं, पञ्चमूल, अर्जुनचौपारी, सातुपसल, लामागे र सतौंगाउँ फापरथुम पर्दछन् । शिरम्बु खाँण, अदप खाँण, मैपति खाँण, चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वीपति शाही, डवनल शाही, चामु शाही राजा थिए । सतौंका पहिलो राजा शिरम्बु खाँण हुन् । दीर्घनारायण शाही अन्तिम राजा । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने क्रममा हार व्यहोरेको एक मात्र राज्य हो सताैंकोट । सतौंकोट युद्धमा पृथ्वीनारायण शाहका दाहिने हात मानिने गोर्खा राज्यका सेनापति केहरसिंह बस्न्यात मारिएका थिए । युद्धमा वंशीराज पाण्डे नाम गरेका एक जना चौतारिया नजरबन्दमा परेका थिए।
सतौंकोटमा युद्ध हुँदा वैरीहरूको रगतबाट वैरीखोला बनेको किवंदन्ती पाइन्छ । अहिले वैरी खोलाबाट अपभ्रंश भएर वैदीखोला भन्छन् । सतौंकोटदेखि चण्डी थान मन्दिरसम्म सैनिक परिसर थियो । परिसरमा शैन्य भाग्नावशेषहरू देख्न पाइन्छ । सतौंकोटे राजाको इष्टदेवीको रूपमा सतौंचण्डी र कालिकालाई लिइन्छ । राजा दीर्घराज शाहीले चण्डीकालिका मन्दिरका लागि ५० मुरी खेत लामागे सातुपसल फाँटमा गुठी राखेका थिए । सतौंमा नरवली दिने प्रचलन थियो भन्ने किंवदन्ती पाइन्छ । हाल पञ्चवली मात्र दिएको पाइन्छ । विशेषगरी वडा दशैं र चैते दशैमा भक्तजनहरूको उल्लेख्य सहभागिता हुन्छ।
पञ्चासे पञ्चधाम
चार धामपछिको पाँचाैं धाम पञ्चासे धाम हो । पञ्चासेलाई सिद्घस्थलको रूपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले गण्डकी प्रदेशकै उत्कृष्ट स्थलको रूपमा पर्दछ । पञ्चासे पञ्चधाममा एउटा पोखरी रहेको छ । पोखरीमा झरेका पातहरू चराहरूले टिपेर सफा राख्ने जनश्रुति पाइन्छ।
पञ्चधाममा भगवान शिवसँग सम्बन्धित सबै पर्वहरूमा मेला लाग्दछ । विशेषगरी महाशिवरात्री, बालाचुर्तदर्शी, साउन महिनामा विशेषगरी शिव भक्तहरू दर्शनका लागि जान्छन् । पञ्चासेको बनमा विभिन्न प्रजातिका लालीगुराँस, सुनखरी, चिराइतो, पाँचऔले लगायतका जडीबुटी पाइन्छ । हाइकिङ, ट्रेकिङ, हिमाल दृश्यवलोकन, योगा र ध्यानका लागि अति उपयुक्त क्षेत्र हो, पञ्चधाम । खडकेटारी भाटखोला भञ्ज्याङ १९ किमि कच्ची सडक । भञ्ज्याङ पैदल यात्रा करिब दुई घण्टा।