२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँ छियाछिया

खाेटाङकाे माक्पा–राखाबांदेल जाेड्ने सडक निर्माण गरिँदै । तस्बिरः दमन/नागरिक

खोटाङ – आर्थिक वर्ष २०७४–०७५ मा खोटाङको खोटेहाङ गाउँपालिकाले डोजर प्रयोग गरेर ९१ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाले साना तथा ठूला आयोजना गरी ४६ वटा सडकको ट्रयाक खोलेको हो । सोही आर्थिक वर्षमा डोजर प्रयोग गरेरै दुईवटा सडकलाई ८ मिटर र तीनवटा सडकलाई ६ मिटर चौडा गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै हलेसी तुवाचुङ नगरपालिकामा डोजरकै प्रयोग गरेर ११६.१८ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । ११ वडा रहेको नगरपालिकाले आर्थिक वर्ष २०७४–०७५ मा विनियोजन गरेको २ करोड बजेट सडक निर्माणका क्रममा डोजर चलाएरै सकेको छ । डोजर प्रयोग गरेर सडक निर्माण गर्नेक्रममा विभिन्न वडाबाट पनि छुट्टै बजेट खर्च भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । अर्को नगरपालिका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पनि गत आर्थिक वर्ष डोजर प्रयोग गरेरै ९८.५ किलोमिटर सडकको ट्रयाक खोलेको छ । १५ वडा रहेको नगरपालिकाले डोजर चलाएरै २९.६ किलोमिटर सडक चौडा गरेको छ।

यी केही उदाहरणमात्र हुन् । आठ गाउँपालिका र दुई नगरपालिका रहेको खोटाङमा सडकको ट्रयाक खोल्ने काममा होस् या सडक चौडा बनाउने काममा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन् । सडक निर्माणका क्रममा कतै पनि जनशक्ति प्रयोग भएको छैन । टोलमात्र नभएर घरघरमा सडक पुर्याउने होडबाजीले गाउँ छियाछिया बनाएको छ । सडक विकासको पूर्वाधार भए पनि सडक निर्माणका क्रममा वातावरणमैत्री विधि अपनाइएको छैन । सडक निर्माणका क्रममा प्रयोग गरिने हेभी इक्विपमेन्ट डोजरका कारण जमिन थर्किँदा जताततै पहिरो जाने, पानीको मुहान सुक्ने, भूक्षय हुनेलगायत समस्या निम्तिरहेको जनप्रतिनिधिकै स्विकारोक्ति छ । ‘डोजरले धेरै असर गर्छ, जमिन थर्किन्छ, पहिरोको खतरा हुन्छ, पानीको मुहान सुक्छ,’ केपीलासगढी गाउँपालिका अध्यक्ष कृष्ण राईले भने, ‘यसो भन्दैमा मानवस्रोत परिचालन गरेर सडक खन्न सम्भव छैन । जनशक्ति पाइन्न । काम ढिलो हुन्छ । मेसिन प्रयोग गर्नुको विकल्प छैन।’

डोजर प्रयोग गरेर बनाइएका अधिकांश सडक निर्माणको केही समयपछि नै भत्किने गरेका छन् । हिउँदमा बनाइएका सडक वर्षामा गाडी गुड्नै नसक्ने अवस्थामा पुगेका देखिन्छन् । वातावरणमैत्री विधि नअपनाउँदा विकाससँगै विनाश निम्तिरहेको देख्दादेख्दै बजेट छुट्याएर गाउँगाउँमा सडक विस्तार गर्ने होडमा कमी आएको छैन । अधिकांश गाउँ तथा नगरसभाले प्रायः सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । नगरपालिका र गाउँपालिकाबाट अहिले पनि दर्जनौं सडक बनिरहेका छन्।

अहिले वल्लो गाउँबाट पल्लो गाउँ हेर्दा सडकका कारण भूक्षय भएको र पहिरो गएको दृश्य सामान्यजस्तै हुन थालेको छ । सडक निर्माणमा सडकको गुणस्तरलाई भन्दा पनि विस्तारलाई मात्र मध्यनजर गर्दै सडकको ट्रयाक खोल्ने क्रमले तीव्रता पाएको छ । मानवस्रोतभन्दा कम खर्चिलो र छिटो हुने भएका कारण सडक निर्माणमा डोजरको प्रयोग गर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए । ‘जनतालाई छिटो प्रतिफल चाहिन्छ, जनशक्ति प्रयोग गरेर त्यसो गर्नु सम्भव छैन,’ उनले भने, ‘मेसिन प्रयोग गर्दा थोरै बजेटले गाउँ जोड्ने सडक निर्माण गर्न सकिन्छ । तर, मानवस्रोत प्रयोग गर्दा करोडौं खर्च हुन्छ । समय पनि उत्तिकै धेरै लाग्ने हुन्छ।’

सडक निर्माणका क्रममा प्रयोग गरिने हेभी इक्विपमेन्ट डोजरका कारण जमिन थर्किँदा जताततै पहिरो जाने, पानीको मुहान सुक्ने, भूक्षय हुनेलगायत समस्या देखिएका छन्।

सडक निर्माणका लागि स्थानीय तहबाट बजेट विनियोजन हुन्छ । सडक निर्माणका लागि उपभोक्ता समिति गठन गरेर डोजर चलाउने काम गरिन्छ । डोजर लगाएर सडक खन्दा टेवा पर्खाल नहाली निर्माणको काम अघि बढाइन्छ । टेवा पर्खाल नहाली बनाइएको सडकको जग कमजोर हुन्छ । डोजर लगाएर खनिएका कुनै पनि सडक वर्षामा नचल्नुका कारण यही नै हो।

कतिपय सडक डोजरचालकले प्राविधिक डिजाइनभन्दा आफूलाई सहज पर्ने दिशाबाट ग्रेड नमिलाई खन्ने गरेको जनगुनासो उत्तिकै छ । डोजर प्रयोग गरेर निर्माण गरिएका कतिपय सडकमा गाडी चढ्नै मुस्किल पर्ने खालको उकालो र भिरालो देखिन्छन् । त्यही कारण गाउँगाउँमा डोजर चलाएर सडक बनाउनेक्रम कम गर्न आर्थिक वर्ष २०७५–०७६ मा नयाँ ट्रयाक खोल्ने शीर्षकमा बजेट विनियोजन नगरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।

‘सडक नै विकास हो भन्ने सबैको बुझाइ भयो, घरघरमा सडक पुर्याउनुपर्छ भन्ने धारणा भयो,’ उनले भने, ‘त्यही भएर यस वर्ष हामीले नयाँ सडकमा बजेट राखेका छैनौं, अब स्तरोन्नतिका काम मात्र हुनेछन् ।’ सडक निर्माणका क्रममा प्रयोग गरिने डोजरमा कतिपय जनप्रतिनिधिको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नता पनि पाइएको छ।

प्रकाशित: ३० आश्विन २०७५ ००:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App