४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

चार दिनदेखि बेपत्ता बालकको धान खेतमा शव फेला

इटहरी- आफ्नै साथीले घरबाट बोलाएर लगेर वेपत्ता भएको चार दिनपछि इटहरी वडा नं. ११ का एक बालकको मंगलबार विहान धान खेतमा शव फेला परेको छ। इटहरी वडा नं. ११ का अवजल मियाँका १५ बर्षीय छोरा इमतियाजको घरदेखि दुई सय मिटर दक्षिण पूर्वतर्फ धान खेतमा शव फेला परेको हो।

इमतियाज शव पेट्रोल छर्केर आगो लगाएजस्तो डढेको र पुरै शरीर गलेर गन्हाएको अवस्थामा फेला परेको छ। इमतियाज शुक्रबार राति ८ बजेतिर खाना खाएर गाउँकै चार जना साथीसँग केही बेर डुल्न भनी घरबाट निस्किएका थिए।

‘शुक्रबार ८ बजेतिर गाउँकै चिनेका उसका साथी आए अनी बोलाएर लगे, राति घर नआएपछि भोलि पल्टदेखि खोजी गर्न थाल्यौ,’ इमतियाजका बाबु अबजलले भने, ‘शनिबारभर आफन्त मिलेर खोजी गरियौं नभेटेपछि आइतबार प्रहरीलाई सूचना दियौं।’ प्रहरीलाई सूचना दिएदेखि नै आफन्त र प्रहरी मिलेर खोजतलास थालेका थिए। ‘आज बिहान धान खेततिर जादा निकै गन्हायो,’ अबजलले मंगलबार दिउँसो भने, ‘धान खेतमा नियालेर हेर्दा त छोराको शव पो फेला पर्‍यो।’

इमतियाजलाई लिएर जानेमध्येका प्रल्लाद चौधरीलाई बालकको परिवारका सदस्यले सोधीखोजी गर्दा कुखुरा फर्मतिर खोज्न भनेका थिए। इटहरी वडा नं. ११ मा विकास चौधरीको कुखुरा फर्म छ। इमतियाजका परिवारले कुखुरा फर्म छेउछाउ थुप्रै पटक खोजेका थिए। तर, फेला पार्न सकेका थिएनन्। मंगलबार भने कुखुरा फर्म नजिकै नै खेतीमा फेला परेका हुन्।

अबजलका अनुसार, छोरालाई घरबाट लाने सवैबिरुद्द इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिइएको छ। ‘घरमा खाना खाएर बसेको छोरालाई बोलाएर लगेर लानु अनि शवको प्रकृति हेर्दा पेट्रोल छर्केर आगो लगाएजस्तो देखिन्छ,’ अबजलले भने, ‘मेरो छोरालाई बोलाएर लाने माथि कारबाही होस्।’

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठका अनुसार, प्रहरीलाई सूचना आएदेखि बालकको खोजी थालिएकोमा मंगलबार बिहान फेला परेको हुन्। ‘अहिले इमतिजायका साथीहरु छ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ,’ उनले भने, ‘पक्राउ पर्ने एउटै टीमका साथीहरु छन्।’

पक्राउ पर्ने समूहले इमतियाजलाई घरबाट लगेपछि मदिरा खानपान गरेको र त्यसपछि विवाद भएको वा अन्य कुनै कारणले घटना भएको भन्ने सवालमा अनुसन्धान केन्द्रित रहेको जानकारी दिइयो।

 इमतियाजको कुखुरा फर्ममा जाँदा मृत्यु भएको हुन सक्नेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ। अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, कुखुरा फर्ममा हुकिङ गरि विद्युत जडान गरेको र त्यसले करेन्ट लागेर मृत्यु भएपछि खेतमा लगेर फ्याकिएको हुन सक्ने आशंमा अनुसन्धान केन्द्रित गरेको छ। डिएसपी श्रेष्ठले भने ‘क्लियर’ भइ नसकिकन यसै भन्न नमिल्ने बताए। इमतियाजको शव पोष्टमार्टम गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रकाशित: १६ आश्विन २०७५ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App