महेन्द्रनगर– सोमबार बिहान क्याम्पस हिंडेका भीमदत्त नगरपालिका– १६ मझगाउँका सञ्जु कुवँर आधा बाटोबाटै घर फर्किए। कारण थियो, शैक्षिक हड्ताल। नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विरोधमा आह्वान गरेको शैक्षिक हड्तालका कारण जिल्लाका सबै जसो विद्यार्थीले पठनपाठन गर्न पाएनन्।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मलाको बलात्कारपछि हत्या प्रकरणलाई लिएर नेविसंघ फेरि आन्दोलित भएको छ। हत्याकाण्डदेखि नै विभिन्न चरणमा आन्दोलनमा उत्रिएको नेविसंघले आइतबारदेखि तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
नेविसंघ केन्द्रीय सदस्य एव जिल्ला संयोजक गणेश भट्टले सरकारले वास्तविक हत्यारा लुकाउन खोजेकाले नेविसंघ पुनः आन्दोलित भएको बताए। उनका अनुसार आइतबारै साँझ महेन्द्रनगरमा राँके जुलुस निकालिएको थियो। सोमबार शैक्षिक हड्ताल गरिएको छ।
नेविसंघको शैक्षिक हडतालका कारण कञ्चनपुरका सामुदायिक विद्यालय तथा निजी विद्यालय बन्द भएका छन्। बिहानैदेखि विद्यालय बन्द भएपछि कञ्चनपुरका विद्यार्थी प्रभावित भएका छन्।
नेविसंघ विद्यार्थी नेता किशोर प्रशाद जोशीले शैक्षिक हड्ताल सफल पार्नका लागि सुदूरपश्चिम विश्वविद्यालयदेखि विद्यार्थीले जुलुस निकाल्दै प्रदर्शन गरेको बताए। उनका अनुसार सरकारले दोषीलाई सार्वजनिक नगरेका कारण सुपका विद्यार्थीले प्रदर्शनका साथै विरोध गरेको बताए।
बन्दका कारण कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। कञ्चनपुरका विद्यालय निरीक्षक रुपराम तिरुवाले उक्त सामुदायिक विद्यालयमा अध्ययनरत ७० हजार विद्यार्थीको पढाई प्रभावित भएको बताए।
सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी छात्रा निर्मलाका वास्तविक हत्यारा तुरुन्तै सार्वजनिकको माग राख्दै आन्दोलन गर्नु परेको नेता भट्टले बताए। उनले मंगलबार कञ्चनपुर बन्दको आह्वान गरिरहेको छ। ‘सरकारले निर्मलाका हत्यारा लुकायो’, ‘केन्द्रीय सदस्य भट्टले भने, ‘त्यसको विरुद्धमा नेविसंघले शसक्त आन्दोलन थालेको हो।’ उनले आन्दोलनका क्रममा परीक्षा भएका विद्यालयमा बन्द नगरिने बताए। हत्याकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरीलाई समेत नेविसंघले कारवाहीको माग अघि सारेको छ।
नेविसंघ कञ्चनपुरका नेताहरुले नेविसंघकै ब्यानर र नेविसंघले आह्वान गरेको आन्दोलनमा होमिन समेत निर्देशन गरेको छ। नेविसंघ कञ्चनपुरले जिल्लाभरीका व्यवसायीलाई स्वतस्फुर्त रुपमा मंगलबार आ–आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा होमिन आग्रह गरेको छ।
यसैबीच निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग अघि सादै दवावमुलक संघर्ष समितिले प्रशासन कार्यालयमा धर्नाका साथै ज्ञापन पत्र बुझाएको छ। दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले राष्ट्रिय झण्डाका साथ प्रशासनमा ज्ञापन पत्र बुझाउनुका साथै धर्ना दिएको बताए।
उनले सरकारले वास्तविक हत्यारालाई कारबाहीको माग राख्दै दवावमुलक संघर्ष समिति आन्दोलिन भएको बताए। संघर्ष समितिका अगुवा महिलाले शुरुवातीदेखि आफूहरु न्यायिक आन्दोलनमा होमिएको बताएका छन्।
राष्ट्रिय झण्डाका साथ स्थानीय पार्कदेखि दवावमुलक संघर्ष समितिले बजार हुँदै प्रशासनसम्म जुलुस निलेका थिए। यता शनिबारदेखि नागरिक संघर्ष समितिका सदस्यदे भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको मदनचोकको भेटघाट चौतारीमा प्रतिवेदन सार्वजनिकको माग अघि सारेर अनसन थालेका छन्।
सोमबार पनि उनीहरुले अनसन थालेका हुन्। निर्मलाका अभिभावकसहित उनीहरुले अनसन थालेका थिए। नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले प्रतिवेदन सार्वजनिक नहुँन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
प्रकाशित: १५ आश्विन २०७५ ०९:५६ सोमबार