१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कमसल मसला र जस्ता पाता

सर्लाही बसबरिया गाउँपालिका–२, मानपुर स्थित बनाएर दलित समुदायलाई हस्तान्तरण गरिएको नयाँ घर।  तस्बिर: टंक/नागरिक

सर्लाही – जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित समुदायका लागि निर्माण गरिएका नयाँ घरमा निकै कमसल सामग्री प्रयोग गरेको पाइएको छ।

नयाँ घरका छानामा हालिएका जस्तापाता ‘कबाडी माल’ जस्ता देखिन्छन् । निकै पातला, कलरसमेत खुइलिएका र कुनैकुनै सादा जस्तापाता राखेर छाना छाइएको छ । छानामा सामान्यतया एउटै रङका जस्तापाता हालिने भए पनि हरेक घरका छाना रंगिबिरंगी देखिन्छन्।

बसबरिया गाउँपालिका–२, मानपुरका धरिछन पासवानले निकै कमसल सामान राखेर घर बनाइएको गुनासो गरे । ‘बल्लतल्ल घर बनाइदिए’, लाभग्राही पासवानले भने, ‘तर छाना छाएका जस्तापाता नै थोत्रा छन्, सिमेन्ट अत्यन्त कम हालेर जडान गरिएको छ, निकै कमसल सामान राखेर हामीलाई ठगिएको छ।’

दुई कोठे घर २०७४ असारदेखि बनाउन सुरु गरे पनि अहिलेसम्म पूरा नगर्दा आफूहरु निकै मारमा परेको बरहथवा नगरपालिका–१५, पिपरिभित्ता बजारकी अर्की लाभग्राही वाासमती देवीले बताइन् । ‘खै एकपटक नागरिकताको फोटोकपी मागेर लगेका थिए’, उनले गुनासो गरिन्, ‘वर्ष दिन नाघिसक्यो, अझै छाना हालिदिएका छैनन् ।’ १५ बोरा बालुवामा १ बोरा सिमेन्ट हालेर इँटााको जोडाइ गरिएकाले नयाँ घरको भित्ता ठाउँठाउँमा चर्किसकेकाले बस्न पनि डर लागिरहेको उनले बताइन्।

दुई लाख ५० हजार रुपैयाँमा नयाँ घर बनाइदिएर आफूहरुलाई दिने भन्ने सुनिए पनि कसले बनाइदिने र कहिलेसम्म बनाइसक्ने भन्ने आफूलाई थाहा नभएको उनले बताइन् । वासमतीले नयाँ घरको भित्ता देखाउँदै भनिन्, ‘खै अहिलेसम्म छानै नहाली अलपत्र पारेका छन्, त्यही घर पनि ठाउँठाउँमा चर्केको छ, इँटा जोड्न राखिएको मसला पनि हातले छुँदा झर्छ।’

घर पाउने विपन्न दलित समुदायबाट संयोजक तथा एक महिलासहित ३ सदस्य एवं सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन जनकपुर कार्यालयका एक कर्मचारी सदस्यसचिव रहेको निर्माण समितिले घर बनाउने भए पनि अधिकांश विपन्न दलित समुदायलाई ठेकेदारले घर बनाएर दिने भन्ने बुझाइ छ । घर बनाउने मुख्य कार्यालय सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन जनकपुरका कर्मचारी, स्थानीय राजनीतिक दलका नेतालगायतको मिलेमतोमा दलित नेतालाई समेत प्रभावमा पारेर एउटै व्यक्तिले ठेकेदारी प्रथाबाट घर बनाउने जिम्मा पाएको एक स्थानीयले जानकारी दिए।

जिल्लास्थित एक सांसदको नेतृत्वमा थप दुईजना सांसद र केही सरकारी अधिकारी सम्मिलित लाभग्राही छान्ने जिल्लास्तरीय समिति हुन्छ । लाभग्राही छान्ने सांसद् र भवनका कर्मचारीको हालीमुहाली चल्ने हुँदा निर्माण समिति नाम मात्रैको रहेको स्थानीय बासिन्दा बताउँछन् । निर्माण समितिले निर्णय गरे पनि घर बनाउने सम्पूर्ण सामान खरिद र निर्माणमा भवन निर्माण विभाग डिभिजनका कर्मचारी, स्थानीय ठेकेदारलगायतकै हालीमुहाली हुने जानकार बताउँछन्।

गत आर्थिक वर्ष सर्लाहीमा १ हजार घर निर्माण गर्न बजेट परेको र त्यसमध्ये अधिकांश घर लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको एवं बाँकी घर सम्पन्न हुने क्रममा रहेको दाबी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन जनकपुरका प्रमुख गंगा यादवको छ।

‘अधिकांश घर बनाएर दिइसकिएको छ’, उनले भने, ‘केही घर अन्तिम चरणमा छन् ।’ घर निर्माणमा प्रयोग गरिएको सामग्री कमसल भन्ने गुनासो आएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘य त्यस्तो छ र, मलाई त थाहा छैन, त्यस्तो छ भने उजुरी हाल्न लगाउनो्स, छानबिन गर्छौं।’

प्रकाशित: ११ आश्विन २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App