२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सर्पले डस्दा दिदी भाईसहित ३ को मृत्यु, एकको अवस्था गम्भीर

बुटवल– रुपन्देहीमा दुई दिनको अन्तरालमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शनिबार राति एकै घरका दिदी भाई र गएराती एकै घरमा काका, भतिजीलाई सर्पले डसेको थियो। ४ मध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ। 

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ६ स्थित गणेशपुरका दिदी भाई ११ बर्षीया सुस्मिता सुवेदी र ८ बर्षका सौगात सुवेदी रहेका छन्। उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। शनिबार ८ औं जन्मदिन मनाएका बालक सौगात र उनकी दिदी सुस्मितालाई आइतबार बिहान करिब पाँच बजेतिर सुतिरहेकै अवस्थामा एक्कासी छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो। 

सुस्मितालाई अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत्त घोषणा गरेका थिए भने सौगातको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उनीहरु दुवैलाई सर्पले डसेको र ढिलो गरी अस्पताल ल्याएकाले उपचार नपाउँदा मृत्यु भएको अस्पतालले जनाएको छ। 

सर्पकै डसाईबाट सोमबार बुटवल नगरपालिका १७ रानीगञ्जका ५० बर्षे  ज्ञान बहादुर शारुको उपचारकै क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। शारुकी भतिजी १७ बर्षे शान्ति सारुको उपचार भइरहेको छ। एउटै घरमा छुट्टा छुट्टै कोठामा सुतेका काका भतिजीलाई राति सुतिरहेकै अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ आश्विन २०७५ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App