coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डोल्पाको एकमात्र जडिबुटी प्रशोधन केन्द्र बन्द

डोल्पा – डोल्पाकै एक मात्र जडिबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडिबुटी व्यवसायी मर्कामा परेका छन्। जिल्लामै जडिबुटी प्रशोधन गर्ने उदेश्यले त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १८ वर्षदेखि बन्द हुँदा डोल्पाली जडिबुटी व्यवसायी मर्कामा परेका हुन्।

विश्व बन्यजन्तुकोष नेपाल ,बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा १९ लाखको लागतमा स्थापना गरिएको जडिबुटी प्रशोधन केन्द्रले स्थापनाको २ वर्षसम्म जिल्लामा अत्यधिक मात्रामा पाइने भुल्ते (जटामसी) समायो, पिरे घाँस लगायतका जडिबुटी चुलाई गरी प्रशोधन गर्दै आएको थियो। जिल्लामा पाइने भुल्ते, समायो र पिरे घाँस लगायतका महत्वपूर्ण जडिबुटीको संकलन तथा प्रशोधन जिल्लामै गरिने थालेपछि यातायात र बजारको अभावमा समस्यामा परेका ब्यापारीलाई सहज भएको थियो।

दाउराबाट चुलाई गरिने प्रशोधन केन्द्रले गर्दा वन जंगल मासिएर सखाप हुने अवस्था आएपछि दाउरा इन्धनको विकल्प खोजी गरी उद्योग संचालन गरिने बताउँदै इन्धनको अभावमा प्रशोधन केन्द्र बन्द भएको थियो। जिल्लाकै ऐतिहासिक उद्योग बन्द भएको १८ वर्ष बितिसकेको छ। सिँदरबारको अधिकार गाउँघरमा आइसकेको अवस्था छ। पहिला उद्योग संचालनको लागि बैकल्पिक ईन्धनको रुपमा विद्युतको खोजी गरियो। उद्योग नजिकै स्थापना भएको हाईड्रो पावरले उद्योग चल्ने अवस्था भएपनि स्थानीय सरकारले संचालनको लागि खासै चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका १ का पूर्व गाविस सचिव कालिप्रसाद खत्रीले बताए।

जिल्लामै प्रशोधन केन्द्र संचालन हुँदा जडिबुटी पनि खरिद गरिने गरिएकाले थोरै लागनीमा घरमै बसेर जडिबुटीबाट मुनाफा कमाइन्थ्यो तर लामो समयसम्म बन्द उद्योग संचालनमा नआउँदा अनेकौ झन्झट व्यहोरेर जिल्ला बाहिर जडिबुटी लैजाँदा समस्या पर्ने गरेको जडिबुटी ब्यापारी कन्न बहादुर शाहीले बताए। त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बन्द उद्योग संचालनको लागि अहिले प्रदेश सरकाले ५० लाख रुपैयाँ विनियोजन गरेकोले आवश्यक उपकरण लगायतको व्यवस्था गरी आर्थिक वर्ष ०७६–०७७ बाट नियमित रुपमा संचालनमा ल्याइने तयारी भइरहेको बताए।

डोल्पामा ६० हजार टन भन्दा बढी जटामसी उत्पादन हुने गरेको र यसको सही व्यवस्थापनको लागि उद्योग संचालनमा ल्याएर प्रशोधन गरिएमा प्रशोधित जटामसीको तेल प्रतिलिटर २५ हजारसम्म पर्ने र ब्यापारीहरू समेत उद्योगमै आइपुग्ने भएकाले जडिबुटी संकलक, खरिद कर्ता र ब्यापारीले समेत राम्रो आम्दानी गर्न सक्ने त्रिपुरासुन्दरी नगरपालिका ४ का रामबहादुर बुढाले बताए। जडिबुटी प्रशोधन केन्द्र जिल्लाकै ऐतिहासिक उद्योग भएको र यसको राम्रोसंग संचालन तथा व्यवस्थापन गर्नसके नगरले जडिबुटीबाटै लाखौ कर उठाएर आर्थिक समृद्धिले आफूलाई अगाडि बढाउन सक्ने समाजसेवी दिलबहादुर बिष्टले बताए। 

 

प्रकाशित: ६ आश्विन २०७५ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App