महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखाममा शनिबार बिहान एक महिला नहरमा मृत अवस्थामा फेला परेकी छिन्। महुलिया, उल्टाखाम नहरमा झण्डै ५५ वर्षीया आईती सार्की मृत फेला परेकी हुन्।
महाकाली सिँचाईको भाँसी–बागफाँटा नहरको महुलियामा सार्की मृत अवस्थामा फेला परेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेक थिए।
दैलेख घर भएकी सार्की लामो समयदेखि महेन्द्रनगर सब्जीमण्डीमा फुटपातमा तरकारी बेच्दै आएकी थिइन्। मृतक सार्की भीमदत्त नरपालिका–१ भाँसीका धर्म बोहराको घरमा उनी बस्दै आएको भदई धना सुनारले बताइन्।
‘छोरी लक्ष्मीको विवाह गरेपछि फुपु भाँसीमा एक्दै बस्थिन, ‘उनले भनिन्, ‘गाउँबाट तरकारी किनेर सब्जीमण्डीमा तरकारी बेचेर गुजारा चलाउँथिन।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले पोष्टमाष्टम पछि मात्रै घटनाको विस्तृत विवरण खुल्ने बताए।
उनका अनुसार कसैले हत्या गरेको हो, वा होईन भन्ने विषय अनुसन्धानबाट खुल्नेछ। अहिले नै हत्या भए नभएको भन्न नसकिने बताए। मृतक सार्कीको साथबाट केही गह गहना र नगद रुपैया समेत भेटिएका छन्। गत ११ साउनमा उल्टाखामकी १३ वर्षीय निर्मला पन्त मृत फेला परेको स्थानदेखि झण्डै ५ सयमिटर उत्तरमा सार्की मृत फेला परेकी हुन्।
प्रकाशित: ३० भाद्र २०७५ ०७:०३ शनिबार