२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दिनभरि दुःख दियो पहिरोले

चितवन – बाराबाट काठमाडौंका लागि हिँडेका लक्ष्मी गुप्ता मंगलबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १ को रामनगरमा थिए । नारायणढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण उनको गाडी रामनगरमा रोकिएको थियो।

सोमबार मध्यरातदेखि उनी जाममा फसेका हुन् । पहिरो पन्छाएर सवारीसाधन चल्न समय लाग्ने भएपछि रामनगरबाट मुग्लिनतर्फ १५ किलोमिटर अघि बढिसकेको बस रामनगरमै फर्किएको थियो । ‘पहिरो नहटेपछि खाना खान आएको’, गुप्ताले भने।

नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा मंगलबार राति करिब एक बजेदेखि सवारी आवागमन बन्द भएको थियो । सोमबार साँझदेखि परेको पानीका कारण पहिरो खसेको हो । चार किलो र गाईघाट क्षेत्रमा ठूलो पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । ठूलो पहिरो खसेका कारण हटाउन समय लागेको उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भोर्ले, सत्रकिलो, जलवीरे, चेपाङ डाँडा, कालिखोला र चार किलो गरी सात स्थानमा बाटो अवरुद्ध हुनेगरी पहिरो खसेका थिए।

नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा मंगलबार राति करिब एक बजेदेखि सवारी आवागमन बन्द भएको थियो । सोमबार साँझदेखि परेको पानीका कारण पहिरो खसेको हो । मंगलबार साँझ अबेरदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भएको छ।

मुग्लिन बजारदेखि चार किलोमिटर नारायणगढतर्फको चार किलोबाहेक अरु स्थानको पहिरो भने दिउँसो तीन बजेसम्म हटाइएको थियो । चार किलोको पहिरो हटाउन समय लाग्दा सवारीसाधन र यात्रु बेलुकीसम्म सडकखण्डमा नै अलपत्र परेका थिए । साँझ अबेर एकतर्फी यातायातसम्म सञ्चालन भएको प्रहरीले जनाएको छ।

पहाड फोरेर विस्तार गरिएको सडक खण्डमा गत वर्ष चार किलो क्षेत्रमा खासै पहिरो खसेको थिएन । यस वर्ष भने पटकपटक पहिरो खसेर दुःख दिएको छ । यसपटक पहिलेभन्दा ठूलो पहिरो खसेको खनालले बताए । ठूला–ठूला ढुुंगा र रुखसहित खसेका कारण पहिरो हटाउन धेरै समय लागेको उनले बताए । उनले पाँचवटा मेसिन प्रयोग गरेर पहिरो काम जारी राखिएको बताए।

वीरगन्जबाट काठमाडौंका लागि हिँडेको ना५ख ४८९८ नम्बरको बसका चालक कर्मा तामाङले नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सुरु भएदेखि सडक खण्डमा जामको समस्या खेप्दै आएको बताए । ‘बाटो बनाउने बेलामा त नियमित जाममा परिन्थ्यो, ठीकै थियो’, उनले भने, ‘अहिले पहिरोले दुःख दिइरहेको छ।’

प्रकाशित: २७ भाद्र २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App