२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सडक बिस्तारले स्थानीयलाई सकस

सडक बिस्तार भएमा अतिक्रमणमा पर्ने घर । तस्बिरः दिनेश/नागरिक

रोल्पा – रोल्पा सदरमुकामस्थित लिवाङ बजारका स्थानीय सडक बिस्तार हुने भएपछि चिन्तामा परेका छन्। ‘सहायक राजमार्ग’ सडकको मध्य बिन्दुबाट १५–१५ मिटरको हुनेछ भनेर राजपत्रमा लेखिएपछि बैङ्कहरूले सडक छेउका घरमा ऋण लगानी गर्न छाडेपछि उनीहरू सकसमा परेका हुन। करोडाैं लगानीमा बनेका घर बैङ्कमा धितो राखेर ऋण नपाउने भएपछि ब्यापार गर्नेहरू सबैभन्दा ठूलो मारमा परेका छन्। 

भालुवाङ, प्युठान, रोल्पा सडक ‘सहायक राजमार्गमा पर्दछ। अहिले लिवाङको बामरुक देखि रेउघासम्मका बजारबासी सबैभन्दा बढि समस्यामा परेका छन्। ‘बैङ्कले घर जग्गा धितो राखेर लोन नदिने भएपछि ब्यवसाय गर्ने हामी मर्कामा परेका छौ। पुरानो ऋण अब नविकरण नहुने भइसक्यो भने नयाँ पाउने सम्भावना नै छैन।’ स्थानीय ब्यापारी रोमहर्ष आचार्यले भने, ‘हाम्रो सम्पत्ती भनेकै यही घर हो यो पनि सडकले तान्यो भने त केही बच्दैन।’

अहिले ५ सय पीडित घरधुरीले स्थानीय निमबहादुर सिंहको संयोजकत्वमा संघर्ष समिति बनाएर यसको सहज निकासको बाटो खोजिरहेका छन। ‘हामीले स्थानीय भेला गराएर ९ सदस्यीय संघर्ष समिति बनाएका छौं। रोल्पा नगरपालिकामा बैकल्पिक सडक निर्माणका लागि ज्ञापन पत्र दिएका छौ। लोन नपाउनु एउटा समस्या छ भने बामरुकदेखि रेउघा सम्मका करिब ५ सय घर नै सडक अतिक्रमणमा पर्ने देखियो।’ संघर्ष समितिका सहसंयोजक महेश न्यौपानेले भने, ‘गाउँको भएभरको सबै बेचेर बजारमा घर बनाउनेको त बिचल्ली हुन्छ। यदि यही सडकलाई ३० मिटरको बनाउने हो भने अहिलेका एउटा घर पनि बच्दैनन्।’

त्यसो त रोल्पा सदरमुकाममा रहेका कुनै पनि बैङ्कले सडक छेउमा रहेका घरको मुल्याङ्कन नै नगर्ने बताएका छन्। ‘नियममा रहेर गर्ने हो। सडकले फाल्न सक्ने घरलाई धितो राखेर ऋण दिन सक्ने अवस्था छैन्। फेरी प्राबिधिकले मुल्याङ्कन नै गरिदिँदैनन्। पहिले लगानी भएको भए थाहा भएन अब ती सडक छेउका घर धितो राखेर लगानी गर्दैनौ।’ नेपाल बैङ्क लिमिटेड रोल्पाका प्रबन्धक कुश अधिकारीले भने। 

भालुवाङ, प्युठान, रोल्पा सडक हेर्ने डिभिजन कार्यालय चकचकेका प्रमुख सुरेश न्यौपाने अन्यत्रको नजिरका कारण पनि बैङ्कले लगानी नगरेको हुन सक्ने बताउछन। उनी भन्छन्, ‘हामीले सडक नापी सकेका छैनौ। कतै कतै पिलर भने राखेका छौं। मध्य भागबाट १५–१५ मिटर सडकको क्षेत्राधिकार हुने भनेर राजपत्रमा लेखिएको छ। अहिले तत्काल बिस्तार नभएपनि एक दिन सडकले आफ्नो साइज लिने छ।’ 

कुनै दिन सडक बिस्तार हुने भयो भने अहिले करोडौं लगानीमा बनेका घरहरू ढल्ने छन भने पहाडी भुवनोटका जग्गा भएकाले अहिलेका अधिकांश घरधनीको घडेरी समेत बाँकी नरहने अवस्था छ। ‘यदि यही सडक बिस्तार हुने हो भने करिब सबै सुकुम्बासी हुने अवस्था छ। घर त जान्छ नै कसैको पनि एक हात पनि घडेरी समेत बच्ने अबस्था छैन।’ संघर्ष समितिका सहसंयोजक महेश न्यौपानेले भने, ‘यो सडकलाई यथावत राखेर सहायक राजमार्गका लागि बैकल्पिक सडकको ब्यबस्था गर्नु पर्छ।’

प्रकाशित: १२ भाद्र २०७५ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App