ताप्लेजुङ - बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ।
ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्रकृया सुरु गरिसकेको म्यादभित्रै अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले अनुसन्धानबाट प्राप्त नतिजाका प्रारम्भिक संकेतले कमला माथि कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर हुने जानकारी दिए।
पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारी भन्ने स्थानमा गत साउन ३० गते प्रयोगमा आउन छाडेको शौचालयको सेफ्टी ट्याङ्की भित्र बच्चा रहेको जानकारी स्थानीयले पाएपछि प्रहरीलाई खबर गरेका थिए। सो भन्दा ५ दिन अघिनै बच्चालाई कुटपिट पछि सेफ्टी ट्याङ्की भित्र हालेर आमा कमला फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ५ दिन पछि भेटिएका जुम्ल्याहा बच्चा मध्ये एकजना जीवित र एकजना मृत भेटिएका थिए। लगभग ९६ घण्टा सम्म जीवित रहेकाे एक बच्चालाई उपचारका लागि झापाको बिर्तामोड लगिएपनि बच्चालाई बचाउन नसकिएकाे प्रहरीले बताएको थियाे।
जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार रहेकी आमा कमलालाई ताप्लेजुङ प्रहरीले घटना सार्वजनिक भएको दुईदिन पछि नै सुनसरीको तरहराबाट नियन्त्रणमा लिएको थियो।
प्रकाशित: ४ भाद्र २०७५ ०९:२१ सोमबार