३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पहाडी क्षेत्रमा बाली जोगाउँनै मुस्किल

सिन्धुलीको रतनचुरामा रहेको मकै बाली ।    तस्बिरः अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको पहाडी क्षेत्रमा बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल देखिएको हो।

यहाँको पहाडी क्षेत्र अन्र्तगत सुनकोसी गाउँपालिका महाभार क्षेत्र, गोलञ्जोर गाउँपालिकाका विभिन्न वडा तथा घ्यालेख गाउँपालिकाका किसानको मुख्य बालीको रुपमा लिइने मकै खेती यतीबेला बादर र बदेलले खाएर सखाप पारिदिएका छन्। मकैको सुत्ला आउने समयमै बादरले हैरान पारेको किसान बताउछन्।

सुनकोसी गाँउपालिका ७ मझुवा क्षेत्रका किसानलाई बादर र बदेलबाट मकै बाली कसरी जोगाउने भन्ने हम्मे हम्मे पर्न थालेको छ। दिनभर बादरले हैरान पार्छ, एक किसानले भने,‘राती बदेल र दुम्सीले मकै बाली नष्ट पारेको हुन्छ। उनले बाली जोगाउनै गाह्रो पर्ने बताए। सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा जंगली बँदेलले वर्षेबाली नष्ट पारेपछि किसान चिन्तित भएका छन्। 

घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ३ तामाजोरमा लगाएको धान, मकै, कोदो लगायतका बाली बँदेलले सखाप पारेको उनीहरूको भनाई छ। गाउँनजिकै रहेको वन जंगलबाट राती बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको स्थानीय बताउछन्। भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न सकिएन स्थानीय शंख तामाङले भने, ‘पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले।’

महाभारत क्षेत्रका किसानलाई मकै बाली जोगाउन नसके खान समेत पुग्दैन। वर्षभरी दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुने स्थानीयको भनाई छ।  विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको घ्यालेख गाउँपालिकाका किसान बताउछन्। 

रातभर जङ्गली बदेलले उपद्रो गरेर बाली सखाप पारेर बिहान जङ्गलमै जाने र राती पुन दुख दिने गरेको किसान बताउछन्। रातभरी जाग्राम बस्दा समेत बँदेललाई रोक्न नसकिएको स्थानीयको गुनासो छ।  बस्ती नजिकै रहेका वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने गरेको किसान बताउछन्। 

छेउका बाली जोगाउनै नसकेर यस क्षेत्रका धेरै युवाहरू विदेश समेत पलाएन भएका छन्। वर्षदिन दुख गर्याे खाने बेलामा जङ्गली जनावर आउछन्, लगाएको बाली खाएर सखाप बनाउछन् अनि पैसा कमाउन पनि खाडी मुलुक जानै पर्याे एक युवाले भने। 

प्रकाशित: २५ श्रावण २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App