४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

रुपहैडिया –दुनै–मोरिम्ला सडक जोडिन २५.५ किमी बाँकी

   डोल्पा– बाँकेको सिमा क्षेत्र रुपैडिहादेखि दुनै हुँदै मोरिम्ला नाकासम्म सडक पुग्न अब २५.५ किलोमिटर मात्रै बाँकी छ। नेपाल–चीन सिमाना मोरिम्ला नाकादेखि डोल्पा सदरमुकाम दुनै हुँदै भारतको रुपैडिहा जोड्ने लक्ष्यअनुसार जाजरकोट–डोल्पा र दुनै–मोरिम्ला सडक निर्माण थालिएको हो।

दुनैदेखि मोरिल्ला सडकको कुल लम्बाई १ सय २० किमी छ। मोरिम्ला नाका पुग्न सदरमुकाम दुनैबाट पैदल सात दिन लाग्छ।

नेपाल,भारत र चीनबीचको त्रिदेशीय व्यापारिक मार्गका रुपमा उक्त सडकलाई हेरिएको छ।

डोल्पाका सांसद, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले यो मार्ग आकर्षक हुने बताए। दुनैदेखि मरिम्लासम्म र मोरिम्ला नाकादेखि यता ७० किमी नेपालको भूभागमा बाटो निर्माण भइसकेको उनले बताए। ‘डोल्पाको ५ हजार मिटरको उचाँइमा अहिले मोटर साईकल गुडिरहेका छन्’ उनले भने, ‘दुनैदेखि माथि २५ किमी सडक पनि तयार भई जिप गुडिरहेका छन्।’

जम्मा ९५ किमी सडक निर्माण सम्पन्न भईसकेको र अब २५ किमी सडक निर्माण गर्न मात्रै बाँकी रहेको उनले बताए। बाँकी क्षेत्रमा चट्टानै चट्टान भएकाले निर्माणको जिम्मा नेपाली सेनालाई दिन पहल भइरहेको समेत राज्यमन्त्री बुढाले जानकारी दिए ।

त्रिदेशीय मार्ग नाम दिईएको जाजरकोट–डोल्पा र दुनै–मोरिम्लासम्मको सडकको कुल लम्बाई २ सय ३८ किमी छ ।जाजरकोट–डोल्पा सडक ११७.७ किमी लामो छ ।

उक्त सडक डोल्पा दुनैसम्म जोडिन पाँचसय मिटर मात्रै बाँकी रहेको जाजरकोट डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए। बाँकी सडकखण्ड निर्माणका लागि अन्तिम भिरमा सेनाले काम गरिरहेको छ।

आगामी दसैंसम्ममा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारकाे लक्ष्य छ ।

उत्तर दक्षिण लोकमार्गलाई डोल्पासम्म जोड्ने सडकको रुपमा मात्र नहेरी राज्यले गौरवको आयोजनाका रुपमा हेर्नुपर्ने पूर्व शान्ति मन्त्री सत्य पहाडीले बताइन् ।

नेपाल,चीन र भारत बीच त्रिदेशीय व्यापारिक मार्गको रूपमा  विकास गर्न सकिने उक्त सडकले रणनितिक महत्व बोकेको उनको भनाइ छ।

मोरिम्ला नाकाहुन्दै बाँकेको सिमाक्षेत्रस्थित रुपहैडिया नाकासम्म जोड्ने मुख्य व्यापारिक नाकाको रुपमा विकास गरी प्रशस्तै आम्दानी लिन सकिने पहाडीले बताइन। यस सडकलाई चिनसम्म जोड्ने हो भने जडिबुटी,  स्याउ, सिमी,  ओखरलगायतका स्थानीय उत्पादन निर्यात गर्न र सस्तो मुल्यमा चिनिया सामान आयात गर्न सकिनेछ ।

डोल्पाबाट यार्सागुम्बा ब्यापार गर्ने मुख्य नाका रहँदै आएको मोरिम्लामा यार्सा सिजनमा हजारौँ किलो यार्सागुम्बा बिक्रिका लागि पु¥याइने गर्दछ।

तल्लो डोल्पाबाट खाद्यान्न लगायतको ढुवानी गर्न मंहगो पर्ने भएकाले उपल्लो डोल्पाका स्थानीयले चिनबाटै खाद्यान्न, लत्ता कपडालगायतका बस्तुहरु आयात गर्ने गर्दछन्।

उनीहरु नाका खुलेको बेला एक बर्षको लागि पुग्ने खाद्यान्नलगायतका सम्पूर्ण बस्तुहरु ढुवानी गर्दछन्।

अहिले उपल्लो डोल्पालीलाई मात्रै पायक पर्ने नाका भए पनि भविश्यमा मोरिम्ला नाकासम्म सडक सञ्जाल जोडियो भने रुपैडिहा नाकजस्तै चर्चित बन्ने र आम सर्वसाधारणको पहुँच पुग्ने डोल्पालीको आशा छ।

उपल्लो डोल्पाका स्थानीयहरू सो नाकाबाटै दैनिक उपभोग्य सामाग्रीहरु घोडा, खच्चड, याकबाट ढुवानी गर्ने गर्दछन्।

प्रकाशित: २३ श्रावण २०७५ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App