सर्लाही– छुवाछुत गरेको आरोपमा सर्लाही प्रहरीले बुधबार एक व्यक्तिलाई पक्राउ गरेको छ।
गोडैता नगरपालिका–९ निवासी ५१ बर्षीय शुभलाल राय यादवलाई गाउँकै दलित समुदायका एक व्यक्ति माथि छुवाछुत गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत साउन ३ गते स्थानीय रामनाथ रायको घरमा श्राद्धको भोज खाने क्रममा रंजित कुमार रामलाई दुर्व्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
यादव सहित अजोधी राय र चन्देश्वर रायले भोज खान लाइनमा बसेको बेला ‘तिमि तल्लो जातको भएर हाँमीसँगै लाईनमा बस्ने हो’ भन्दै राममाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ। छुवाछुत पीडित रामले गरेको उजुरीका आधारमा यादव पक्राउ परेका हुन् । आरोपित अन्य दुईजनाको समेत खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जातीय भेदभाव तथा छुवाछुत मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर कारबाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।
प्रकाशित: १६ श्रावण २०७५ १५:२५ बुधबार