४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बाह्रै महिना पहिरोको त्रास

डिलासैनी गाउँपालिका ६ बाँगाबगरमा आएको पहिरो ।   तस्बिरः नागरिक

बैतडी – बर्खा वा हिउँद जहिल्यै पहिरो खसेकै हुन्छ। बाह्रमासे पहिरोले प्रत्येक वर्ष घरखेत बगाउन थालेपछि बैतडी गोकुलेश्वरका स्थानीय कुनै समयका हुने खाने परिवार अहिले सुकुम्बासी बनेका छन्। हुने खाने गाउँ छोडेर तराई झरेका छन् भने विपन्न परिवार पहिरो छल्न अन्यत्र सरेका छन्।

डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका सबै टोलमा बाह्रै महिना पहिरो जान थालेपछि  स्थानीय हैरान छन्। बागाबगर, सौनगाउ, देबगाउँ, खोलिगाउँका करिब २ सयभन्दा बढी परिवारको खेत र घर पहिरोले बगाएको छ। केही वर्षदेखि बागाबगरमा  खस्ने पहिरोले ३८ परिवारको घरखेत पुरेको थियो। दिउँसो पहिरो गएकाले मानवीय क्षति भएन।

यस्तै डिलासैनी गाउँपालिका–३, सिमारको खोलामा आएको बाढी गाउँ पस्दा गत हप्ता २२ परिवार जोखिममा छन् भने सयौं रोपनी खेत पुरिएको छ। अविरल वर्षाले खहरे खोलामा आएको बाढी गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्। कलदे खोलासिमार र तल्लो छेपट्टामा गाउँमा बाढी पसेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेका हुन्।

पहिरो जान थालेको पाँच दशकभन्दा बढी भइसक्यो तर नियन्त्रण नहुँदा वर्षपिच्छे गाउँ सार्नुपरेको छ। हुने खाने परिवारले अन्यत्र बस्ती सारे पनि कमजोर आर्थिक स्थिति भएका समस्यामा छन्। ‘घरआँगन खुट्याउन नसकिने गरी सबै बगायो,’ गोकुलेश्वरका नरेन्द्र साउँदले भने,’ ‘भएको खेत पनि पहिरोले पुर्याे, अहिले समस्यामा छौं।’ बुढापाकाका अनुसार २०१७ सालबाट जान थालेको पहिरो अझै नियन्त्रण भएको छैन। ०४५ सालदेखि पहिरोले भयानक रूप लिएको हो। पहिरोले गाउँ बगाउँदै लगेपछि स्थानीयले देवगाउँको विद्यालय र केदार मन्दिरसमेत सार्नुपरेको सेटीगाउँ उमाविका प्राचार्य परमानन्द जोशीले बताए।स्थानीय बासिन्दाका अनुसार, केही परिवार सुरक्षित ठाउँको खोजीमा आफन्तका घरमा आश्रय लिएर बसेका छन्। आर्थिक अवस्था ठीक भएका परिवार तराईतिर झरे। तर कमजोर परिवार पहिरोको जोखिम मोलेर बस्न बाध्य छन्। खेतीपाती गर्ने जग्गा सकिएकाले स्थानीय बजारमा मजदुरी गरेर परिवार पालिरहेको बागाबगरका मनवीर सार्कीले बताए।

आफू ९ वर्षको हुँदादेखि पहिरो खसेको देखेको ५४ वर्षीय गणेश जोशी जोखिम भए पनि पुख्र्याैली थलो भएकाले अन्त बसाइँ सर्न नसकेको बताउँछन्। पहिरोले गर्दा सुकुम्बासी भइसकेका परिवार कुन बेला के हुने हो भन्ने त्रासमा छन्।’ घाम लागोस् अथवा पानी परोस् पहिरो गएकै हुन्छ,’ स्थानीय नरेन्द्र नाथले भने,’ नियन्त्रण र पुनस्र्थापनाका लागि कसैले सोचेको छैन ।’ 

जिल्लाका अन्य ठाउँमा पनि पहिरोको जोखिम छ, मल्लादेही, बिशालपुर, सित्तड, मल्लादेही, कटौजपानीलगायतका क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ। पहिरोकै छेउबाट सडक लगेपछि झन जोखिम बढेको स्थानीय बताउँछन्। मेसिन लगाएर काटेका जिल्लाका अधिकांश सडकले विपद् निम्ताएको स्थानीय बताउँछन्। वातावरणीय प्रभाव मुल्यांकन नगरी स्थानीयतहले धमाधम सडक खनेपछि पहिरोको जोखिम बढ्दै गएको हो।         

प्रकाशित: ११ श्रावण २०७५ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App