२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

शंकास्पद बन्दै प्रियंका मिश्राको मृत्यु

बारा – कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका  शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

असार १२ गते कलैयास्थित  घरमै मृत्यु भएको भनिए पनि कलैयाबाट १२ किलोमिटर टाढा रहको सुर्वण गाउँपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातिको समयमा दाहसंस्कार गरिएको र घटनालाई लुकाउन खोजिएकाले परिवारको भूमिका शंकास्पद रहेको प्रहरीले बताएको छ।

‘जवान छोरा छोरीको कुनै रोगबाट अचानक मृत्यु हुँदा वा उनीहरुले आत्म हत्या गर्दा पीडित परिवारले छर छिमेक वा प्रहरीलाई घटना बारे खबर गर्ने गरेका छन्,’ बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले भनिन्, ‘मिश्रा परिवारले १७ बर्षीया छोरीको घरमै अचानक मृत्यु भएको भनिए पनि घटना बारे कसैलाई थाहा नदिई सुुरुदेखि नै लुकाउन खोजेका छन्।’

१२ गते मृत्यु भएको भएपनि १४ गते मात्रै प्रहरीलाई जानकारी भएको उनले बताइन्।

उनी वीरगन्जको द हिमाल इन्स्टिच्युट हेल्थ एण्ड टेक्निकल साइन्स कलेजमा एचए अध्ययनरत छात्रा हुन्। माध्यमीक विद्यालयका प्रधानाध्यापक समेत रहेका मिश्राको बुवा ब्रिजकिशोर मिश्राले घटनाको दिन आफै कलेजमा पुगेर छोरीलाई घर ल्याएको कलेज प्रशासनले  जनाएको छ।

कलेजबाट छोरीलाई कलैयास्थित घरमा ल्याएको केही घण्टा पछि एम्बुलेन्स पनि मगाइएको मिश्राका छिमेकीहरुले बताएका छन्। एम्बुलेन्स किन आएको भन्ने छिमेकीहरुको प्रश्नमा ब्रिजकिशोले श्रीमतीको हृदयघात भएको र उनलाई उपचार गराउन अस्पताल लइजान लागेको तर्क गरेका एक छिमेकीले बताए।

कलैयामा हृदयघात भएपछि श्रीमतीलाई मुटु सम्बन्धी उपचार हुने वीरगन्जका अस्पतालमा नलगी भारत तर्फ लग्नुले पनि घटनालाई शंकास्पद बनाएको प्रहरीले बताएको छ।

अघिल्लो दिन श्रीमतीलाई उपचार गर्न लगेको र भोलि पल्ट शिक्षक मिश्राको कलैया स्थित घरमा रुवाबासी चलेपछि छिमेकीहरुले सोध्दा छोरीको मृत्यु भएको भनेर मिश्रा परिवारले जानकारी गराउँदा छिमेकीहरु चकित परेका थिए।

प्रहरी उपरीक्षक चौधरीले प्रियंकाको मृत्यु बारे उनका बुवा ब्रिजकिशोरलाई नियन्त्रणमा लियर पटक पटक बयान लिने कार्य गरिएको बताइन्। घटनाको सत्य र तथ्यको नजिक नपुगी सबै कुरा खोल्न नमिल्ने बताउँदै प्रहरीले सुक्षम अनुसन्धान थालिएको बताएको छ।

प्रकाशित: ३० असार २०७५ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App