अछाम– अछाम साँफेबगर नगरपालिका–९ का मीनबहादुर रावलले २०६८ साउन १७ गते ‘म घर फर्किदै छु’ भनेर भारतबाट फोन गरे। तर उनी अहिलेसम्म घर पुगेका छैनन्। ‘यताबाट निस्किए है भनेर फोन गर्नुभएको थियो, आजसम्म घर पुग्नुभएको छैन’, श्रीमती बसुन्धरा रावलले सुनाइन्– ‘घर परिवारले बाटो हेर्दा हेर्दा थाकिसक्यौ।’ रावलले पटक–पटक गरी ४५ बर्षको उमेरसम्म २० बर्ष जति भारतमा काम गरेर बिताए। पछिल्लो पटक करिब चार बर्ष भारतमा नोकरी गरेपछि उनी घर फर्कदै थिए।
‘यो या त्यो बाहाना बनाएर नेपालीबाट जसरी पनि पैँसा झार्ने उद्देश्य त्यहाँका गुण्डादेखि प्रहरीसम्मको मिलेमतो हुन्छ’, अछाम नन्देगडाका प्रेम बुढाले भने– ‘भने जति पैँसा दिएन र बिबाद गर्न लागेमा कुटिने, लुटिने, वेपत्ता पारिने र मारिने संभावना धेरै हुन्छ।’ डकर्मीको काम गर्ने उनी केहि वर्ष पहिले थप उपचारको लागि भारततिर हानिएका थिए। भारतको पुनामा औषधि उपचार गरेरे फर्किएका उनी लखनउको रेलवे स्टेशनमा झरेर नेपाल आउने बस चढ्न लखनउको चारबाघ भन्ने ठाउँमा अटो रिक्सामा जांदै थिए। उनी चढेको रिक्सामा दुई जना मान्छे जबरजस्ती गरेर चढे,’ उनले भने, ‘रातको समय थियो रिक्सा चल्दै थियो, अलि जंगलको ठाउँ पुगेपछि उनिहरुले म माथि आक्रमण गर्न खाजे।’
‘एक्लै थिए बेहासीमा चल्दै गरेको रिक्साबाट हाम फालेछु, पछि प्रहरी आएछन् एक दिनपछि होस आउँदा आफूलाई अस्पतालको वेडमा पाएँ। मार्न खोजेका थिए भाग्यले बाँचियो,’ उनले सुनाए। भारतको पुनाबाट अछाम पुग्नलाई ४ दिन लाग्छ। निधारित समयमा उनी गन्तव्यमा नपुगेपछि खोजीनीति भयो। पछि लखनउमा चौकीदारी गर्ने आफन्तले उनलाई नेपाल ल्याई पुर्याए।
भारतका केहि ठाउँमा किड्नी निकालेर मानिसलाई फाल्ने गरिएको सुन्नमा आएकाले वेपत्ता पारिएर नेपालीको पनि हत्या भएको छ भने किड्नीकै लागि भएको हुनसक्ने उनको अनुमान छ।
अभाव र गरिबीका कारणले परिवारको नांगो शरीर ढाक्नका लागि चाहिने एकसरो लुगाफाटो जोहो गर्नकै लागि पनि पश्चिम नेपालका अधिकांश मानिस कामको खोजीमा छिमेकी मुलुक भारत जाने परम्परा नै हो। खुल्ला सीमानाका कारणले विना कुनै अनुमति, विना कुनै निश्चित योग्यता, उमेर, समय केहि नभएपनि कामका लागि भारत जान रोकावट छैन्। त्यहाँ जाँदा, बस्दा र आउँदा बाटोमा नेपालीले भारतीय, प्रहरी, टाँगा, रिक्सा, बस, रेल तथा गुण्डाबाट थुप्रैखाले दुःख भोग्नु पर्दछ। कहीँ धेरै पैसा साथमै बोकेर ल्याएको निहुँमा, कहीँ धेरै सामान ल्याएको निहुँमा त कहीँ परिचय खुल्ने कुनै पनि प्रमाण साथमा नभएको निहुँ पारेर नेपालीलाई त्यहाँको बिभिन्न पक्षले दुःख दिने गर्दछन्।
सरकारले अहिलेसम्म पनि भारतमा गएर रोजगारी गर्नुलाई बैदेशिक रोजगारको रुपमा कानूनी मान्यता नदिनुको प्रमुख कारण नै नेपालीले त्यहाँ बिभिन्न खाले दुःखकष्ट व्यहोर्नु परेको हो भन्छन् प्रवासी संजाल अछामका सचिव लालबहादुर रावत। ‘न त भारतमा काम गर्दा कुनै बीमाकोे व्यवस्था नै हुन्छ, नत ज्यान गुमाउँदा नेपालीले कुनै क्षतिपुर्ति नै पाउँछन्।’ पश्चिमका नागरिकहरुका लागि वैदेशिक रोजगारीको एक मात्र गन्तव्य रहेको भारतमा ७० प्रतिशत पुरुष काम गर्ने गरेको प्रवासीहरु बताउँछन्। यहाँका अधिकांश मानिसको आय नै भारतसँग निर्भर रहेपनि सरकारले यसलाई वैदेशिक रोजगारको रुपमा कानूनी मान्यता दिएको छैन्। सरकारले गत फागुनबाट भारतमा नोकरी गर्नुलाई पनि वैदेशिक रोजगारी सरहको मान्यता दिने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन नभएको रावतले बताए।
भारतमा अनाहकै ज्यान गुमाउने तथा वेपत्ता भएको यी त प्रतिनिधिमुलुक घटना मात्र हुन। घरखर्च चलाउने पैँसाको जोहो गर्नकै लागि काम गर्न छिमेकी मुलुक भारत जाने र त्यहाँबाट आउने बेला बीच बाटोमा मात्र थुप्रै अछामीले ज्यान गुमाउनुका साथै वेपत्ता हुनु परेको छ। हालसम्म भारतमा कति अछामी युवाहरुले अनाहकमै ज्यान गुमाए भन्ने एकिन तथ्यांक नभएपनि अछामको साँफेबगरका मात्र ६१ जनाले भारत आवतजावतका क्रममा बाटोबाट वेपत्ता भएको तथ्यांक छ। प्रवासी संजाल अछामले प्रत्येक प्रवासीको घरमै गएर संकलन गरेको उक्त वेपत्ताको संख्यामा ३ बाहेक सबै बिवाहित छन्। ०५१ सालदेखि हालसम्म वेपत्ता भएकाहरुको नाम, ठेगाना, उमेर, वेपत्ता भएको मिति सबै संजालले संकलन गरेको छ।
हाल नगरपालिकामा मात्र भारत जाने तथा आउने क्रममा ६१ पुरुष बेपत्ता भएको तथ्यांक आफूहरु सँग रहेको प्रवासी संजाल अछामका अध्यक्ष मिठ्ठु भाटले जानकारी दिए। ‘भारत जाँदा आउँदा बाटोमा वेपत्ता हुनेको संख्या एक नगरमा मात्र त यति छ भने पुरै जिल्लाको तथ्यांक संकलन गर्दा यो संख्या पाँच गुणा पुग्छ’, भाटले भने। संजालले ४ बर्ष पहिले वेपत्ता ६१ परिवारका विस्तृत विवरणसहितको नामावली खोजीका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो। तर अहिलेसम्म राज्यस्तरबाट वेपत्ता नागरिकको खोजी कार्यका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ।
प्रकाशित: १२ असार २०७५ १०:२३ मंगलबार