रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु गरिएको छ। भूकम्पपछि लाङटाङका घरपालुवा कुकुर अर्धजंगली भएका कारण दुर्लभ वन्यजन्तुलाई मार्न सक्ने संभावनालाई मध्यनजर गर्दै कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।
भूकम्पका कारण बस्ती बगरमा परिणत भएपछि त्यहाँ पालिएका कुकुर अर्धजंगली बन्न पुगेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। ‘बस्ती पूर्ण क्षति ग्रस्थ भएपछि कुकुरहरुले खानेकुरा पाएनन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत युुवराज रेग्मीले भने, केही समयपछि जगंली जनावर मारेर खान थाले।’
लाङटाङ क्षेत्रमा हिमचितुवा, कस्तुरी मृग लगायतका वन्यजन्तु पाइने प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए। लाङटाङ क्षेत्रमा करिब २५ वटा कुकुर रहेको निकुञ्जले जनाएको छ। कुकुर नियन्त्रणका लागि १४ जना सेना तथा कर्मचारी परिचालन गरिएको छ।
कालिजंग गणका सेना र निकुञ्जका कर्मचारी परिचालन भएको निकुञ्जले जनाएको छ। अभियान दुई सातासम्म चल्ने छ।
प्रकाशित: १२ असार २०७५ ०७:०६ मंगलबार