२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ किलोमिटर सडक ७ वर्षदेखि निर्माणाधिन

नवलपुर–मलंगवा सडकखण्डमा सवारी साधनले उडाएर बनेको धुलोको कुइरीमण्डल छिचोल्दै साइकल यात्री । तस्बिर : नागरिक

सर्लाही– निर्माण होस् वा अन्य जेसुकै कामका लागि पनि तराईलाई निकै सुगम मानिन्छ। विकट मानिने हिमाली वा पहाडी क्षेत्रको तुलनामा निर्माण कार्यका लागि मुल्य वा समयका हिसाबले तराई क्षेत्र निकै सुलभ हुन्छ। 

तर तराईकै मध्य भागमा पर्ने सर्लाही स्थित २५.५९४ किलोमिटर सडक पुनर्निर्माणको काम भने ७ वर्षदेखि जारी छ। पटक–पटक ठेक्का तोडिदै लाग्दै आएको पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने यो सडक कालोपत्रे गर्ने काम पछिल्लो पटक तोकिएको समयमा पनि पूरा हुदैन की भन्ने आशंका जन्मदै गएको छ। ‘७ वर्षदेखि सडक कालोपत्रेका लागि विभिन्न सरकारी अधिकारीलाई गुहार्दै आएका छौं’, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी गुनासो गर्छन्, ‘सरकारी अधिकारीलाई गुहार्दा गुहार्दै थाकिसक्यौं, अब त आश पनि मरिसक्यो।’

सम्बन्धित सरकारी निकाय तथा ठेकेदार कम्पनीको उदासिनता एवं लापरबाहीले आफूहरु पीडित बन्दै आएको चौधरीको दुःखेसो छ। ‘यति नै समयमा त हिमाली वा पडाही क्षेत्रमा समेत चौगुना सडकको ट्रयाक खोलेर कालोपत्रे भईसक्थ्यो होला’, चौधरीले भने, ‘तर निकै सुगम मानिने तराईमा पूरानो कालोपत्रे भत्किएपछि, नाला तथा कल्भर्ट थपेर नयाँ कालोपत्रेको काम ७ वर्ष कुर्दा पनि सम्पन्न हुन सकेको छैन।’

जिल्ला स्थित नवलपुर–मलंगवा र ४०.५८० किलोमिटरको नयाँरोड–मधुवनी सडक कालोपत्रेका लागि भारतीय सरकारको सहयोगमा २०६८ सालमै भारतीय ठेकेदारले जिम्मा लिएको थियो। तत्कालिन नेपालका लागि भारतीय राजदूतले शिलान्यास समेत गरे। तर सम्झौता अवधी सकिने बेला भएपछि भारतीय ठेकेदारले एक चौथाई पनि काम नगरी काम छाडेको थियो। 

पछि सडकको चौंडाई २ लेन र ४ लेन गर्ने भन्ने बारेमा मन्त्री एवं सरकारी अधिकारीहरुको पटक–पटक निर्णय परिवर्तन हुने गरेकाले अन्ततः २०७३ भदौमा नवलपुर–मलंगवा तथा असोजमा नयाँरोड–मधुवनी सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। तर पछिल्लो ठेकेदार कम्पनीको समायवधी समेत सकिन लागिसके पनि सडक कालोपत्रेको छनक नै नदेखेपछि जिल्लाबासी निरास छन्।

‘वर्षौंदेखि हिलो र धुलोले आजित भईसक्यौ’, सडकखण्ड अन्तर्गत हरिपुर बजार निवासी सनोज दासले गुनासो गरे, ‘सडक कालोपत्रे हुने छाँटकाँट नै देखिदैन।’ कालोपत्रे भत्किएर क्षतविक्षत भएको समयदेखि जोड्ने हो भने झण्डै ९ वर्षदेखि सर्लाहीका बासिन्दा सदरमुकाम मलंगवा ओहोर दोहोर गर्दा घाम लागेका बेला कुईरीमण्डल धुलो र पानी परेका बेला रोपाईं गर्ने खेत सरह हिलो छिचोन्न बाध्य छन्। ठूला सवारी साधनले उडाउने कुईरीमण्डल धुलोले सडक आसपासका बासिन्दा र पैदल एवं साईकल र मोटरसाइकल यात्रु निर्क मर्कामा पर्दै आएका छन्। 

‘यो सडक कालोपत्रे हुने कुरा त आकाशको फल आँखा तरी मर भनेजस्तै होला जस्तो छ’ दासले शंका व्यक्त गरे, ‘२–३ पटक टेण्डर लागे पनि हुन नसकेको कालोपत्रे यो पटक पनि समयमै सम्पन्न होला जस्तो देखिँदैन।’

आगामी भदौसम्म मात्र निर्माण सम्पन्न गर्नुपर्ने अवधी रहेपनि नवलपुर–मलंगवा सडकखण्डमा पुल तथा कल्भर्ट निर्माण र माटो हुर्ने काम बाहेक देखिंदैन। कतिपय स्थानमा माटो हुरेर छाडिएकाले निर्माण कार्यमै प्रयोग भएका ठूला टिपर एवं यात्रुबाहक वस तथा मालबाहक ट्रकले उडाउने कुईरीमण्डल धुलोको कहरले स्थानीय बासिन्दा र यात्रु आजित छन्। 

पछिल्लो पटक नवलपुर–मलंगवा सडकखण्डमा आवश्यक स्थानमा नाला सहित पुल तथा कल्भर्ट निर्माण एवं कालोपत्रेका लागि २०७३ भदौ ३१ मा सम्झौता भई २०७५ भदौ ३० गते सम्पन्न गर्ने गरी २ वटा प्याकेजमा काम भईरहेको हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख सन्तोष कर्णले जानकारी दिए। कर्णका अनुसार नवलपुर–गैर तथा गैर–मलंगवा सम्मको दुईवटा छुट्टाछुट्टै प्याकेजका लागि निर्माण व्यवसायीसँग ५१ करोड रुपैंयामा सम्झौता भएको हो। निर्माण व्यवसायीले नियमित सडकमा पानी छर्कनु पर्ने भएपनि सो पालना नगरेको प्रमुख कर्णले आरोप लगाए।

गत चैत दोस्रो साता प्रतिनिधि सभा सदस्य प्रमोद साहको पहलमा जिल्ला प्रशासन कार्यालयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सरोकारवाला डिभिजन सडक कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सम्बन्धित ठेकेदारहरु, संचारकर्मी, नागरिक समाजका अगुवासहितको अन्तरक्रिया कार्यक्रममा नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत नवलपुर–गैर खण्डका ठेकेदार नन्दलाल श्रेष्ठले वैशाख २ गतेबाट कालोपत्रेका काम सूरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर जेठ तेस्रो साता वितिसक्दा समेत कालोपत्रेको कुनै छनक आभास गर्न पाएका छैनन् सर्वसाधारणले। 

प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले सडक कालोपत्रेको काम तदारुकताका साथ गर्नका लागि सम्बन्धित सडक कार्यालयका प्रमुख एवं निर्माण व्यवसायीहरुसँग छलफल भइरहेको जानकारी दिए। ‘म त भर्खरै सर्लाही आएको छु’, उनले भने, ‘निर्माण कार्य तोकिएको अवधी भित्रै सक्न एवं तदारुकताका साथ गर्नका लागि सम्बन्धित सडक कार्यालयका प्रमुख एवं ठेकेदारहरुलाई ताकेता गरिरहेको छु।’

निर्माण कार्यबारे बुझ्न पटक–पटक फोन सम्पर्क गर्दा सम्बन्धित व्यवसायीहरुको भने फोन नै उठदैन।

प्रकाशित: २१ जेष्ठ २०७५ १५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App