१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

दुर्घटना नगर्ने १५ चालकलाई सम्मान

एवन ग्रेटर नेपाल यातायात प्रालिले एक वर्षसम्म सवारी चलाउँदा दुर्घटना नगर्ने १५ चालकलाई सम्मान गरेको छ ।

पोखरालाई कार्यक्षेत्र बनाएर ट्याक्सी सञ्चालन गर्दै आएको संस्थाले दुर्घटनाविहीन १९५ चालकबाट गोलाप्रथामार्फत छनोट भएका १५ जनालाई दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो ।

उनीहरूलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’, वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल तथा एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेललगायतले सम्मान गरे ।

दुर्घटना न्यूनीकरणका लागि चालकलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मान गरिएको अध्यक्ष पौडेलले बताए । ‘दुर्घटना रोक्ने जिम्मेवारी हाम्रो पनि हो । चालकलाई सम्मान गर्दा अन्य चालकलाई समेत सुरक्षित रूपमा सवारी चलाउन प्रेरणा मिलोस् भनेर यो कार्यक्रम गरिएको हो,’ उनले भने ।

संस्थाको साधारणसभाका अवसरमा व्यवसायीका कक्षा १२ उत्तीर्ण छोराछोरी, असल चालक तथा लामो समयदेखि सवारी सञ्चालन गर्दै आएका चालकलाई समेत दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

‘यातायात कार्यालयमा परमिट बेचिन्छ’

साधारणसभालाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात कार्यालयमा परमिट बिक्री हुने गरेको आरोप लगाए ।

‘गण्डकी यातायात कार्यालयमै परमिट बेचिने गरेको छ । यही कारण काठमाडौंमा ट्याक्सीको नम्बर १८ लाख रुपैयाँसम्म पुगेको छ । पोखरामा पनि १० लाखभन्दा बढी पुगेको छ । यो स्वाभाविक होइन,’ उनले भने ।

सिटौलाले यातायात व्यवसायीले पनि आफूलाई सुधार्न आवश्यक रहेको बताए । एकअर्कालाई मात्रै दोष दिएर यातायात क्षेत्रका समस्या समाधान नहुने उनको भनाइ थियो ।

‘महासंघले पहल गरेर सट्टाभर्नाको व्यवस्था ल्यायौँ । तर त्यसलाई २० वर्षको विषयसँग जोडेर ‘खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने’ प्रवृत्ति यातायात व्यवसायीभित्रै पनि छ,’ उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले यातायात व्यवसायीका संस्थाबीच तत्काल एकीकरण सम्भव नभएको बताए । सबैमा नेतृत्व र पदको चाहना रहेकाले संस्था एकीकरणमा समस्या देखिएको उनको भनाइ थियो ।

अर्का वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेलले यातायात क्षेत्रमा नीतिगत अस्पष्टताका कारण समस्या देखिएको बताए । ‘समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकारलाई निरन्तर झकझकाइरहेका छौँ । अब त्यसको परिणामको पर्खाइमा छौँ,’ उनले भने ।

कार्यक्रममा पोखराका ट्याक्सी व्यवसायीका विभिन्न संस्थाबीच एकीकरणको आवश्यकता रहेकोमा जोड दिइएको थियो । महासंघका उपमहासचिव भानुभक्त बराल, ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारी, विधान मस्यौदा सदस्यसचिव योगेन्द्रबहादुर केसी, गण्डकी संयोजक महेशबहादुर थापा ‘गणेश’, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकी प्रदेश अध्यक्ष बलराम सापकोटा तथा नेपाल यातायात मजदुर संघ गण्डकीका किरणबाबु पन्तलगायतले व्यवसायीबीच एकता आवश्यक रहेको भन्दै एकीकरणका लागि महासंघले पहल गर्नुपर्ने बताए ।

उनीहरूले सवारी साधनको संख्या आवश्यकताभन्दा बढी रहेको भन्दै यसको नियन्त्रण र नियमनका लागि समेत पहल गर्न सुझाव दिए ।

संस्थाका सचिव गोकर्ण केसीले एवन ग्रेटर नेपाल यातायात प्रालिले पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै यात्रुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । आगामी दिनमा पनि यात्रु सेवा र पेशागत सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित: १० आश्विन २०८३ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App