अछाम – बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्।
भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।
सिँचाइ अभाव र जंगली जनावरका कारणले पनि बालीनाली लगाउन नसक्दा जमिन बाँझो रहेको छ। पछिल्लो समय बसाइसराइ नै प्रमुख कारण रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख विष्णुहरि देवकोटाले बताए।
“जमिन बाँझै रहेपछि जिल्लामा खाद्यान्न उत्पादनमा कमी आउन थालेको छ,” उनले भने– “जिल्लामा करिब ५५ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ, दश हजार मेट्रिक टन खाद्यान्न अझै अपुग छ।”
बसाइ सरेर जानेले जमिन अर्कालाई जिम्मा लगाए पनि खेत बाँझै रहने गरेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा प्रायः शहरी क्षेत्रमा बसाइसराइ गर्ने गरेको साँफेबगर नगरपालिका–३ का वडाध्यक्ष कृष्ण बुढाले बताए।
“कोही लेकबाट बेँसीमा झरेका छन्, कोही बेँसीबाट पनि बजार क्षेत्रमा आएका छन्,” उनले भने, “कतिपय जिल्ला नै छाडेर कैलाली र कञ्चनपुर पुगेका छन्, अधिकांशले रित्तो घर र जमिन बाँझो बनाएर अन्यत्र बसोबास गर्दै आएका छन्।”
विदेश गएर पैसा कमाउनेले शहर बजारमा घरघडेरी जोड्ने गरेका छन्। कपितयले बालबच्चाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनका लागि पनि बसाइसराइ गर्दैआएका छन्। यसलाई कम गर्न गाउँघरमै गुणस्तरीय शिक्षा दिनु पर्ने चौरपाटी गाउँपालिकाका उपप्रमुख माया कुँवर बताउँछिन्।
सिँचाइको अभाव, उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली, युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न नसक्नु र बसाइसराइजस्ता कारणले जिल्लामा खेतीयोग्य जमिन बाँझै रहेको हो। बसाइसराइका कारण गाउँ नै खाली हुन थालेका छन्। साँफेबगर नगरपालिका कृषि सेवा केन्द्रका नायब प्राविधिक सहायक सुरेन्द्र कुँवरका अनुसार किसान लगानी उठ्ने होकी हैन भन्ने डरले कृषि क्षेत्रमा लगानी गर्न डराउने गरेका छन्।
“अबको केही वर्षपछि नेपाल कृषि प्रधान देश हो भन्ने कुरा हराएर जानेछ,” उनले भने। स्थानीय सरकारले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। बसाइँ सर्नेमा सम्पन्न वर्गका नागरिक बढी रहेका छन्।
प्रकाशित: ७ जेष्ठ २०७५ ०७:५० सोमबार