बैतडी – साढे तीन दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् परियोजना नबन्दा स्थानीयबासी पीडा भोग्दै आएका छन्।
परियोजना बन्ने भन्दै प्रभावित क्षेत्रमा विकास निर्माणका गतिविधि ठप्प हुँदा यहाँका स्थानीय पीडा भोग्दै आएका हुन्। २०३९ देखि हालसम्म पश्चिम सेती नदीमा विद्युत् आयोजना निर्माण गर्ने प्रस्तावसहित विभिन्न कम्पनीले हात हालेको भए पनि एकपछि अर्को गर्दै ती कम्पनी आयोजना निर्माण नगरी फर्किने गरेको छन्।
बैतडी, डडेल्धुरा, र बझाङ जिल्ला हुँदै बग्ने सेती नदीमा पहिलोपटक झन्डै फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो। सोही कम्पनीको अध्ययनका आधारमा सन् १९८७ मा जलाशययुक्त आयोजनाको पहिचान भएको थियो। त्यस पछिका वर्षमा पनि विभिन्न कम्पनीले परियोजना निर्माणमा चासो देखाए पनि काम अघि बढन नसक्दा यहाँ स्थानीय समस्यामा छन्।
परियोजना प्रभावित सिगास गाउँपालिका–५, ढुंगाडका स्थानीय वर्षौदेखि सेती नदीको पानी पिउँदै आएका छन्। गाउँमा खानेपानी योजना निर्माण नहुँदा धमिलो पानी पिउँदै आएका हुन्। पश्चिम सेती परियोजना बनेपछि डुवान क्षेत्रमा पर्ने भन्दै खानेपानी आयोजना नबनेपछि लामो समयदेखि धमिलो पानी पिउँदै आएको स्थानीय बताउँछन्। नदीको फोहर पानी पिउदा विभिन्न पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। लामो समयदेखि चर्चामा रहेको परियोजना नबन्दा यहाँको अन्य विकास निर्माणसमेत रोकिएका छन्।
एक दशक अघि तत्कालिन गाविसले पाइप मात्र दिएको स्थानीय बताउँछन्। ‘गाविसले पाइपमा मात्र दियो,’ स्थानीय बीरबहादुर चन्दले भने नजिक मुहान छैन, विकल्प नहुँदा यही नदीको फोहर पानी प्रयोग गर्दै आएका छौं।’ निर्वाचनको समयमा दलका नेता र सरकार फेरिँदा पश्चिम सेती बन्ने चर्चा मात्रै हुने गरे पनि काम अघि बढ्न नसकेको स्थानीयको गुनोसो छ। यही परियोजनाको नाम लिएर धेरै नेताले भोट मागे तर काम अघि नबढाएको स्थानीयको दुखेसो छ। काम अघि बढ्ने चर्चा हुँदा यहाँका सर्वसाधारणमा खुसी छाए पनि धेरै पटकपटक निर्माण कम्पनी फेरिने क्रमले स्थानीय दिक्क भएका छन्। अब त सरकारले बनाउँदैनौ भनिदिए जस्तो लाग्न थालेको स्थानीय रणबहादुर चन्दले बताए।
करिब एक सय परिवार रहेको ढुंगाडका स्थानीय फोहर पानीले नै खाना तथा अन्य कुराको लागि जोहो गर्नु पर्ने बाध्यता छ। प्रदुषित पानीकै कारण झाडापखाला आऊ छालासम्बन्धी अन्य दिर्घ रोग बढदै गएको ढंगाड स्वास्थ्य चौकीका प्रमुख योगेन्द्रबहादुर महराले बताए। ‘स्वास्थ्य संस्थामा पानीजन्य रोगका बिरामी बढी आउने गरेका छन्,’ उनले भने, ‘पानी शुद्धीकरण वा उमालेर पिउन सल्लाह दिने गरे पनि सबैले त्यस्तो नगर्दा समस्या आउने गरेको छ।’ पानी पिएर दुहुना गाईभैँसी र अरु पशुवस्तु दीर्घरोगी हुने, दूध घट्ने, चाँडै थाक्ने र मर्नेसमेत गरेका पशुपालक किसानको गुनासो छ।
परियोजना बन्ने भन्दै विकास गतिविधि ठप्प छन्। परियोजना प्रभावित क्षेत्रमा पर्ने भएकाले स्थानीयतहलगायत अन्य संघसंस्थाले विकासे संरचना नबनाउँदा स्थानीयबासी वर्षोदेखि समस्या भोग्दै आएका छन्। परियोजनाले गाउँ विस्थापित हुने भन्दै खानेपानी, बाटोघाटो, विद्यालय भवन लगायत अन्य संरचना नबन्दा सास्ती हुने गरेको स्थानीय लोकेन्द्र चन्दले बताए।
सेती नदीले समेत बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै लगेको छ। बाढी आउने समयमा नदीकिनारका स्थानीय रातभर सुत्न समेत पाउँदैनन्। २०७० मा गाउँमा बाढी पसेपछि घरलगायत सयौ रोपनी खेत परिएको थियो। कटान रोक्न ग्याविन तारजाली लगाए पनि नदीको बहाव बढ्दा तारजाली भत्काएर घरमै बाढी पस्दा त्रास हुने गरेको स्थानीय बताउँछन्।
गत वर्ष पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकूलन आयोजनाले जिल्ला भू–संरक्षण कार्यालयमार्फत सञ्चालन गरिरहेको सेती जलाधार कार्यक्रमले जलवायु परिवर्तन समानुकूलन आयोजनाले जिल्ला भू–संरक्षण कार्यालयमार्फत सञ्चालितसेती जलाधार कार्यक्रमले ट्यांकी बनाएर गाउँसम्म खानेपानी पुर्याए पनि धारा निर्माण नगर्दा समस्या भएको स्थानीय हर्का चन्दले बताइन। खानेपानी व्यवस्थित हुन नसक्दा नदीकै पानीमा निर्भर रहेको उनको भनाइ छ।
प्रकाशित: २३ वैशाख २०७५ ०७:०८ आइतबार