२० चैत्र २०८१ बुधबार
image/svg+xml १:० पूर्वाह्न
समाज

तीन नगरपालिकाबीच कृषि तथा पशुपालनमा प्राविधिक सहयोगको समझदारी

त्रियुगा नगरपालिकाले झापाको बिर्तामोड नगरपालिका र इलामको इलाम नगरपालिकासँग कृषि क्षेत्रमा प्राविधिक विषयमा एकअर्कालाई सहयोग र आदानप्रदान गर्ने समझदारी गरेको छ। त्रियुगाले इलामसँग शुक्रबार र बिर्तामोडसँग शनिबार समझदारी गरेको हो।

नगरपालिकामा कृषि र पशुपालनमा दिगो विकास गरी आत्मनिर्भर बन्ने लक्ष्यसहित अन्य दुई पालिकाले गरेका राम्रा कामको अनुकरण र कार्यान्वयन गर्न यो समझदारी गरिएको त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए।  

उनका अनुसार इलाम नगरपालिकाले स्थानीय गाईको दूधबाट छुर्पी र कोदोबाट बिस्कुट उत्पादन गर्ने सीप र प्रविधि त्रियुगामा पनि विकास गर्न सकिन्छ। इलामको छुर्पी र कोदोको बिस्कुट उत्पादन त्रियुगा नगरपालिकामा पनि सम्भव भएकाले त्यसको ज्ञान र सीप भएका प्राविधिकलाई यहाँ ल्याएर तालिम दिने र लिने दुवै नगरपालिका सहमत भएका छन्। समझदारीमा यो कुरा उल्लेख छ।

त्यस्तै, झापाको बिर्तामोड नगरपालिकाले तरकारीमा आत्मनिर्भर बन्न बनाएको गुरुयोजनालाई त्रियुगामा पनि लागू गर्न दुवै पालिकाले समझदारी गरेका छन्। बिर्तामोडले तरकारीमा आत्मनिर्भर बन्न कृषि एम्बुलेन्स, कोल्डस्टोर, समर्थन मूल्य तोकेर कृषकलाई अनुदान दिने गरेको छ। कृषि सङ्कलन केन्द्र स्थापना गरी कृषकले उत्पादन गरेको तरकारी सबै जिम्मा लिएर बिक्री वितरण पनि आफैँ गर्ने गरेको कुरा अनुकरणीय छ।

त्यो सिकेर त्रियुगालाई पनि तरकारीमा आत्मनिर्भर बनाउन बिर्तामोडले अपनाएका सबै राम्रा अभ्यास कार्यान्वयन गर्न त्रियुगाले प्राविधिक सहयोग लिने प्रस्तावमा दुई पक्षबीच समझदारी भएको मेयर बस्नेतले बताए।  

कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित त्रियुगा नगरपालिकाले साझेदार संस्था हेफर इन्टरनेशनलसँग मिलेर कृषि तथा पशुपालन परियोजना अगाडि बढाएको छ। सोही परियोजनाको समन्वय समितिको बैठक र हेफर आधारशिला तालिम कार्यक्रममा इलाम पुगेको मेयर बस्नेतसहितको टोलीले इलाम नगरपालिका र बिर्तामोडसँग कृषि क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने समझदारी गरेको हो।  

कृषि र पशुपालन क्षेत्रमा त्रियुगालाई आत्मनिर्भर बनाउँदै युवा उद्यमशीलता बढाएर विदेश पलायन रोक्न आफ्नो कार्यकालमा सबै आधार तयार गर्ने लक्ष्यअनुसार अन्य नगरका राम्रा अभ्यास अनुकरण गर्न लागिएको मेयर बस्नेतले बताए।  

प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाका अनुसार दुवै नगरको प्राविधिक ज्ञान र सीप कार्यान्वयन गर्न सके त्रियुगाको कृषि र पशुपालनमा ठूलो प्रगति हुने अपेक्षा छ। त्यसका लागि समझदारीलाई चाँडै कार्यान्वयनमा ल्याउने गरी अघि बढ्ने योजना रहेको उनले बताए।

प्रकाशित: १६ चैत्र २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App