२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

कडा सुरक्षाबीच थुलुङको सालिक अनावरण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बुधबार कडा सुरक्षा व्यवस्थाका बीच स्वर्गीय प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङको सालिक अनावरण गरेका छन्। थुलुङ परिवार, सरोकारवाला निकाय तथा स्थानीय समुदायको कडा असहमतिका बाबजुद कार्यक्रम सम्पन्न गरिएको हो।

चौदण्डीगढी नगरपालिकाले तीन दशकअघि राखिएको अर्धकदको सालिक हटाई पूर्णकदको सालिक मदन भण्डारी लोकमार्ग अन्तर्गत बर्खेडाँडाको चौरस्तामा प्रतिस्थापन गरेको थियो। सालिक अनावरणको तयारी भइरहँदा चर्को विरोध भए पनि नगरपालिकाले निर्णय परिवर्तन नगरी कडा सुरक्षा व्यवस्थासहित अनावरण गराएको हो।

यस निर्णयको विरोधमा नेकपा एमालेबाहेकका स्थानीय राजनीतिक दलका नेताहरू, प्रदेश १ पुनःनामाकरण सङ्घर्ष समितिमा आबद्ध पहिचान पक्षधर, किरात राई यायोक्खा, आदिवासी जनजाति महासङ्घ तथा नारदमुनि थुलुङ स्मृति परिषद् लगायतका संस्थाहरू थिए। उनीहरूले मुख्यमन्त्री कार्की पहिचान विरोधी भएको तथा नगरपालिकाले परिवार, दलहरू तथा सरोकारवालासँग समन्वय नगरी सालिक अनावरण गरेको आरोप लगाएका थिए।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीका चौदण्डीगढी नगर समितिहरू, किरात राई यायोक्खा जिल्ला तथा नगर समिति, थुलुङ स्मृति परिषद्, थुलुङ परिवार तथा स्थानीयवासीले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए। विरोध निस्तेज नभएपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कार्यक्रम रोक्न माग गरेका थिए।

प्रदर्शनकारीहरूले ३० वर्षपहिले राखिएको बलियो फलामे सालिक हटाएर कमजोर प्लास्टिक (फाइबर) को सालिक प्रतिस्थापन गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। स्वर्गीय थुलुङ प्रजातान्त्रिक सेनानी मात्र नभई बसाहावासीका लागि श्रद्धेय पिता भएकाले सालिक प्रतिस्थापनका लागि सहमति र छलफल आवश्यक रहेको उनीहरूको तर्क थियो। नगरपालिकाले एकतर्फी निर्णय लिँदै थुलुङको अपमान गरेको उनीहरूको निष्कर्ष छ।

तर, ती सबै विरोधका बाबजुद आयोजकहरूले मुख्यमन्त्री कार्कीलाई झिकाएर सालिक अनावरण गराएका छन्। कार्यक्रमका क्रममा बिराटनगरदेखि आउँदा कार्कीमाथि आक्रमण हुन सक्ने तथा अनावरण स्थलमा झडप हुने जोखिमलाई मध्यनजर गर्दै कडा सुरक्षा घेरा तयार गरिएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई व्यापक रूपमा परिचालन गरिएको थियो। सुनसरीबाट उदयपुर छिर्ने चतारादेखि बेलटारसम्म मदन भण्डारी लोकमार्गमा सुरक्षाकर्मी तैनाथ थिए।

विरोधी पक्षधरले कार्यक्रम बिथोल्ने योजना बनाएको भए पनि, थुलुङ बसाहाका जन्मदाता मात्र नभई राष्ट्रकै सम्मानित नेता भएकाले संयमता अपनाउने निर्णय गरेको जनाएको छ। एक असन्तुष्ट संस्थाका नेताले भने, ‘मुख्यमन्त्री कार्कीलाई बाटोमा रोक्ने सोच थियो, तर नारदमुनि थुलुङ बसाहाबासीका मात्र नभई देशकै सम्मानित प्रजातान्त्रिक योद्धा भएकाले शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दियौँ।’

थुलुङले २००७ सालको क्रान्ति सम्पन्न भएपछि राजासँग हुकुम प्रमाङ्गी लिएर घना जंगल फँडानी गरी बसाहा बस्ती स्थापना गरेका थिए। उनले भोजपुर, धरान, बसाहा हुँदै सदरमुकाम गाईघाटसम्म पुग्ने गोरेटो मार्ग खोलेका थिए, जुन अहिले मदन भण्डारी लोकमार्गको रूपमा परिणत भएको छ। बसाहा बर्खेडाँडा चोक चौरस्ता क्षेत्र अहिले चौदण्डीगढी नगरपालिका २, ३ र ४ वडामा विभाजित छ।

सालिक अनावरण गर्दै मुख्यमन्त्री कार्कीले नारदमुनि थुलुङको सम्मानले बसाहाबासीलाई नै सम्मान हुने बताए। साथै, प्रदेश सरकारले आगामी वर्ष बसाहामा ‘नारदमुनि स्मृति सभाहल’ निर्माण गर्ने घोषणा समेत गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८१ २१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App