१५ चैत्र २०८० बिहीबार
समाज

सगरमाथा आरोहणको कालो दिन, हिमपहिरो दुर्घटनाको ४ वर्ष

सोलुखुम्बु– १६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको बुधबार ४ बर्ष पूरा भएको छ। २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो।

सगरमाथा आधारशिविरबाट क्याम्प १ तर्फ जाँदै गर्दा खुम्बु आइसफलमा खसेको हिमपहिरोमा परि भएको उक्त दुर्घटनाको सम्झनामा बैशाख ५ लाई हिमाल आरोहीहरुले कालो दिनको रुपमा सम्झना गर्ने गरेका छन्। हिमपहिरोमा पुरिएर बेपत्ता भएका आधा दर्जन व्यक्तिको अवस्था अझै अज्ञात छ। उनीहरुलाई मृत घोषीत गरेर सरकारले मृतकका परिवारलाई बीमा वापतको रकम उपलब्ध गराएको थियो । हिमाल आरोहणको सुरुवातमै ठूलो दुर्घटना भएपछि त्यो बर्ष आरोहण स्थगित गरिएको थियो। 

त्यस पछि २०७२ बैशाख १२ गतेको भूकम्पले हिमालय क्षेत्रमा नोक्सान पर्‍याएपछि त्यही बर्ष  पनि हिमाल आरोहण रोकिएको थियो। सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणका लागी आरोहण दल सगरमाथा आधारशिविरबाट शिबिर नम्बर १ र २ तर्फ प्रस्थान गरेकै केहि घण्टामा भूकम्प आयो र पुमरी हिमालमा हिँउ पहिरो गयो। सो पहिरोले १८ जना स्वदेशी तथा विदेशी आरोहि तथा सहयोगीको ज्यान लियो। गएको २ बर्ष देखि भने सगरमाथा आरोहणका लागि आरोहीको चाप बढेको छ। यस बर्ष पनि सगरमाथा आरोहणका लागि अनुमति लिने क्रम जारी छ। 

सगरमाथा आरोहण गर्ने क्रममा जत्तिले ज्यान गुमाएका छन् त्यसमध्ये बढीजसो हिमपहिरोमै बगेका छन्। विज्ञहरुका अनुसार जमेर बसेको हिउँ तापक्रम बढ्न थालेपछि पग्लिएर झर्छ र पहिरोको रूप लिन्छ । हिउँको सानो ढिस्को झरे पनि त्यसले अरू हिउँका ढिक्का लडाउँदै ठूलो आकार लिन्छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ पग्लिने क्रम बढेको अध्ययनहरुले देखाएको छ । हिमाली क्षेत्रमा विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भइरहेको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीसीसी) को प्रतिवेदनले समेत उल्लेख गरेको थियो।

प्रकाशित: ५ वैशाख २०७५ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App