नेपालका पहाडी जङ्गलहरूमा एक विशेष चरा गुन्जिन्छ- कटुशे चाँचर। अङ्ग्रेजीमा ‘चेस्टनट थ्रस’ भनेर चिनिने यो चरा मधुर स्वरमा गाउने क्षमताका कारण जङ्गलको सङ्गीतकार झैँ लाग्छ।

झन्डै २२-२४ सेन्टिमिटर लम्बाइ हुने यस चराको टाउको खरानी रंगको हुन्छ भने पखेटा र शरीरको पछिल्लो भाग गाढा खैरो हुन्छ। पहेँलो र हल्का हरियो मिश्रणयुक्त चुच्चोले कटुशेलाई झनै आकर्षक बनाएको छ।

कटुशे चाँचर नेपालका एक हजार पाँच सय देखि ३ हजार ५ सय मिटर उचाइका जङ्गली क्षेत्रमा पाइन्छ। गर्मी महिनामा लाङटाङ, अन्नपूर्ण, कञ्चनजङ्घा, सगरमाथा जस्ता उच्च पहाडी क्षेत्रमा रमाउने यो चरा जाडो लागेपछि होचो स्थानतर्फ बसाइँ सर्छ।

रूखका हाँगाहरूमा गुँड बनाउने यस चराले जमिनमा पाइने साना जीवजन्तु, कीरा-फट्याङ्ग्रा, बीउबिजन र जङ्गली फलफूल खान्छ। कहिलेकाहीँ एक्लै उड्ने, कहिलेकाहीँ सानो समूहमा देखिने यो प्रजाति चैतदेखि असारसम्म प्रजनन गर्छ र सामान्यतः ३-४ वटा अण्डा पार्छ।

तर, प्रकृतिका यी सुमधुर गायकहरूको सङ्ख्या घट्दै गएको छ। वन फँडानी, वासस्थान नष्ट हुनु र जलवायु परिवर्तनका कारण अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई सङ्कटग्रस्त सूचीमा राखेको छ। यसको अस्तित्व बचाउन जैविक विविधताको संरक्षण गर्नु अपरिहार्य देखिन्छ।

कटुशेका उल्लेखित तस्बिरहरु ललितपुरको फुल्चोकीबाट खिचिएको हो।
सबै तस्बिरहरु: सुप्रदीप्त न्यौपाने/नागरिक
प्रकाशित: १७ माघ २०८१ १९:४८ बिहीबार