७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १९:४१ अपराह्न
समाज

ओखलढुङ्गाको सुमो दुर्घटनामा मृत्यु हुने ३ जना एकै परिवारका

खोटाङबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो जिप दुर्घटना हुँदा बिरामीसहित एकाघरका ३ जनाको ज्यान गएको छ । आगोले पोलेर बिरामी केपिलासगढी गाउँपालिका ३ बास्पानीकी ५६ वर्षीया माया गुरुङलाई उपचारार्थ लादै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित भँडारे खोलामा दुर्घटना हुँदा उनीसँगै छोरा र बहिनीको पनि निधन भएको हो ।

दुर्घटनामा परी मायाका २८ वर्षीय छोरा पुजन गुरुङ र मायाकै बहिनी दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका १२ जालपाकी ४५ वर्षीया तारा गुरुङ पनि सँगै अस्ताएका छन् । पूर्व खोटाङ यातायात प्रालिले ओखलढुङ्गा प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार दिक्तेलबाट बुधबार साँझ ७ः३० बजे बिरामी लिएर जिप काठमाडौँ हिँडेको थियो ।

दिक्तेलदेखि ४–५ घण्टाभित्र पुगिने भँडारे खोलामा दुर्घटना राति नै भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीलाई भने बिहान ६ः३० बजे मात्र जानकारी आएको बताइएको छ । जिप दुर्घटनाको जानकारी ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई बिहान मात्र स्थानीयले गराएको प्रालिले जनाएको छ।

प्रालिका अनुसार आफन्तको मृत्यु संस्कार (चोखिने) क्रममा आगलागी हुँदा गम्भीर घाइते भएकी मायाको जिल्ला अस्पतालमा उपचार संभव नभएपछि काठमाडौँ लगिँदै थियो । चोखिने कार्यमा रक्सी भनेर तताउँदा पेट्रोल परेर उब्जेको आगोले कम्मर मुनिको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भएकी मायालाई उपचार गर्न छोरा पुजन र बहिनी ताराले काठमाडौँ लाने क्रममा दुर्घटना भएको प्रालिले जनाएको छ ।

जलनका बिरामीको उपचार खोटाङ जिल्ला अस्पतालमा नहुने कारण काठमाडौँ रिफर गर्नु परेको अस्पताल प्रमुख (मेसु) डा. रुपेश सङ्ग्रौलाले बताएका छन् । उनका अनुसार कम्मर मुनिको सबै भाग जलेर गम्भीर घाइते भएकाले दिक्तेलमा उपचार संभव नभएर कीर्तिपुर रिफर गरिएको हो ।

बिरामी परिवारसहित ४ जना मात्र सवार रहेको सुमोका चालक सुनसरीको इनरुवा नगरपालिकाका २२ वर्षीय अनिल पण्डित भने फरार रहेका छन् । उनको खोजी भइरहेको छ । मृतक तीन जनाको शव पोष्टमार्टमका लागि दिक्तेल ल्याउन ओखलढुङ्गा प्रहरीसँग समन्वय भइरहेको र घट्नाबारे दुवै जिल्ला प्रहरी अनुसन्धानमा लागेको खोटाङ प्रहरीले जनाएको छ । 

प्रकाशित: १७ माघ २०८१ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App