६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

छ महिनामा ताप्लेजुङबाट झण्डै ५ करोड राजश्व संकलन

चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा ताप्लेजुङबाट झण्डै ५ करोड राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार साउन १ देखि पुस मसान्तसम्ममा ४ करोड ९६ लाख १६ हजार ९ सय ३० रुपैयाँ राजश्व संकलन भएको हो।

कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार संघीयतर्फ ४ करोड ५७ लाख १९ हजार ७ सय ९६ रुपैयाँ राजश्व असुली भएको छ। यस्तै प्रदेशतर्फ ३८ लाख ९७ हजार ४ सय ५४ रुपैयाँ राजश्व असुली भएको कोलेनिकाका सहलेखापाल नवीन खनालले जानकारी दिए। संघतर्फ सबैभन्दा बढी राजश्व कोलेनिका कार्यालयबाट असुल भएको देखिएको छ। कोलेनिकाबाट ३ करोड १० लाख ९९ हजार ८ सय ९० रुपैयाँ असुल भएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालयबाट ८८ लाख ८ हजार ७ सय रुपैयाँ, शिक्षा विकास तथा समन्वय इकाईबाट १५ लाख ९६ हजार ४ सय ५० रुपैयाँ, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयबाट ९ लाख ६ हजार ५ सय १९ रुपैयाँ र नापी कार्यालयबाट ८ लाख ८२ हजार ६५ रुपैयाँ राजश्व असुली भएको छ। यस्तै जिल्ला अदालतबाट ७ लाख ४० हजार ८ सय ४३ रुपैयाँ, हुलाक कार्यालयबाट ५ लाख १६ हजार ४ सय ७१ रुपैयाँ, मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालयबाट ५ लाख १५ हजार ९ सय ५६ रुपैयाँ, दुर्गादल गुल्मबाट १ लाख १६ हजार ८ सय ६० रुपैयाँ र जिल्ला प्रहरी कार्यालयबाट ४ लाख ३५ हजार ७ सय २२ रुपैयाँ राजश्व असुली भएको छ।

ओलाङचुङगोला भन्सार कार्यालय, सीमा प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, कारागार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मको कार्यालयबाट अहिलेसम्म राजश्व असुली नहुँदा अन्य कार्यालयबाट भएको राजश्व असुली ५० हजार रुपैयाँ वा सो भन्दा कम रहेको कोलेनिकाले जनाएको छ।

यस्तै प्रदेशतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयबाट राजश्व असुली भएको छ। उक्त कार्यालयबाट ३२ लाख ३८ हजार ७ सय ३१ रुपैयाँ असुली भएको कोलेनिकाले जनाएको छ। यस्तै घरेलु तथा साना उद्योग कार्यालयबाट ४ सय ९९ हजार ७ सय रुपैयाँ असुली हुँदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट अहिलेसम्म कुनै पनि रकम असुली नभएको कोलेनिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। प्रदेश अन्तर्गत रहेका अन्य कार्यालयबाट २० हजार वा सो भन्दा कम रकम मात्र राजश्व असुली भएको कोलेनिकाले जनाएको छ।

प्रकाशित: ६ माघ २०८१ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App