उदयपुर – उदयपुरमा आगलागीबाट थप दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।
यसअघि उदयपुरमा २ दर्जन भन्दा बढी घर आगालागीबाट खरानी भईसकेका छन्।प्रहरीका अनुसार साँझ करिब ५ः०० बजेको समयमा हस्तबहादुरको भान्छा घरबाट सल्केको आगोले उनको घर र घरभित्र रहेका सबै अन्नपात र सामग्री नष्ट पारेको हो । घरसँगै टाँसिएर रहेका वस्तुभाउ बाँध्ने गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सोही घरबाट सल्किएको आगोले छिमेकी मानध्जवको पनि घर र गोठ जलेको हो।
दुवै घरमा काठ र फुसको छानो भएको प्रहरीले जनाएको छ । घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र कागजात जलेर दुवैको गरी ५ लाख बराबरको क्षति भएको सर्जमिन मुचुल्का प्रहरीले तयार गरेको जनाइएको छ। गाउँपालिकासँग दमकल नभएको तथा अन्यत्रबाट ल्याउन सडक नपुगेका कारण आगो निभाउन गाउँलेहरुलाई हम्मे परेको थियो।
वल्लोगाउँ र पल्लोगाउँबाट भेला भएका स्थानीय र उदयपुरगढीबाट गएको प्रहरी टोलीको संयुक्त प्रयासमा साढे ४ः०० घण्टा लगाएर राती ८ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरी प्रमुख नवराज भट्टले बताए । उज्यालोमै आगलागी भएका कारण मानवीय र चौपाया क्षति भने हुन नपाएको उनले बताए । घर गोठ जलेपछि दुवै पीडित परिवार छिमेकीको शरणमा बस्नुपरेको स्थानीयले बताएका छन्।
प्रकाशित: ३ वैशाख २०७५ ०६:०१ सोमबार