४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. सन्दुक रुइत श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित

समाजसेवी डा. सन्दुक रुईत यस वर्षको श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित भएका छन्।

पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने रुईत सम्मानित भएका हुन्।

श्रीपति कोइराला गुठीले गुठीको ३२ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार डा. रुईतलाई नगद २ लाख २२ हजार २ सय २२ राशिसहित दोसल्ला, सम्मान पत्र र पदकले सम्मानित गरेका हो।

सम्मानित डा. रुई तिल गंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक हुन्। कम लागतमा मोतिया विन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धति रुईतेक्तोमिताका सुरुवातकर्ता समेत रहेका रुईतले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतिया विन्दुको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन्।

बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका रुईतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्यान्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन्।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।

सम्मानपछि बोल्दै डा. रुईतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाजसेवाका लागि अभिप्रेरित गरेको बताए।

त्यस्तै, सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन्। कार्कीले पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर स्वरुप नगद २ हजार २ सय २२ राशिसहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो।

२०२९ सालमा राससबाट पत्रकारिता सुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताइसकेका छन्। हाल उनी बिबिसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत छन्।

यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन्।

प्रकाशित: २० पुस २०८१ १८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App