इलाम महोत्सव सुरु (फोटो फिचर)
इलाम – इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।
३ गतेसम्म चल्ने महोत्सवमा पहिलो दिन शनिबार इलामका इतिहासकार युद्धप्रसाद वैद्यलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ। सदरमुकामको ठूलो टुँडिखेलबाट र्याली, झाँकी र बाजागाजासहित उनलाई इलाम बजार परिक्रममा गराइएको छ।
महोत्सव अन्तर्गत शनिबार धार्मिकस्थलमा पाठपूजा, मन्त्रध्वनिलगायत धार्मिक कार्य गरिँदैछ। उपराष्ट्रपति मगरले यही अवसरमा इलामको माइस्थानमा रहेको नेपाली सेनाको निशान अवलोकन गरेका छन्। शनिबार नै ठूलो टुँडिखेलमा महोत्सव उद्घाटन, साँझ सांस्कृतिक कार्यक्रम र ‘इलाम’ शीर्ष गीतको सार्वजनिकीकरण सहित आतिसबाजीको कार्यक्रम राखिएको इलाम नगरपालिकाले जनाएको छ।
दोस्रो दिन आइतबार धरान र इलाम नगरपालिकाबीच भगिनी सम्बन्धमा हस्ताक्षर, जिल्लास्तरीय बास्केटबल प्रतियिोगिताको फाइनल, इलामको समृद्धिका लागि विचार गोष्ठी, इलामे अग्रजको पुनर्मिलन तथा गायक कुबेर राईको एकल साँझ आयोजना गरिने प्रचारप्रसार उपसमिति संयोजक तथा नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले बताइन्। तेस्रो दिन सोमबार इलाम र दार्जिलिङ क्रिकेट टिमबीच मैत्रीपूर्ण खेल, सांस्कृतिक कार्यक्रम, इलामका सांगीतिक ब्यान्डहरूको प्रस्तुति र समापन राखिएको छ।
यही अवसरमा इलाम बजारमा स्थापना हुने सपिङ कम्प्लेक्सको शिलान्यास, ‘२००औं वर्ष स्तम्भ’को शिलान्यास माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग मेयर्स प्राइजको साइनिङ सेरेमोनीलगायतका कार्यक्रम हुने कार्यतालिका सार्वजनिक गरिएको छ। महोत्सवका अवसरका पहिला सदरमुकाम बसेको करफोकलाई आधार बनाएर करफोक खेल मैदानमा इलाम र दार्जिलिङ चेस क्लबबीच मैत्रीपूर्ण खेल हुने र मरब क्याम्पस इलाममा धरान र इलामबीच महिला बास्केटबल हुने इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए। ‘वैशाख १, २ र ३ गते महोत्सवको सुरुआत मात्रै हो,’ उनले भने, ‘नगरपालिकाले २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।’
सुगौलीको सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो। आदिवासी लेप्चा र लिम्बू जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले २००औं वर्षको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ।
सदरमुकाम बसेको २००औं वर्षको अवसरमा यहाँको चिया, नेपालकै पुरानो उद्योग (इलाम चिया उद्योग), शैक्षिक इतिहास, कृषिमा आधारित जीवनशैलीलगायतलाई परिचित गराइने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।
इतिहासकारका अनुसार चौथो शताब्दीतिर इलाममा राज्य गरेको लेप्चा जातिको इतिहास र सातौं शताब्दीतिर लिम्बू जातिका ‘इमेहाङ’ले राज्य गरेको इतिहासबाट ‘इलाम’ नाम रहेको हो। इतिहासकार युद्धप्रसाद वैद्यका अनुसार उत्तरबाट बर्मा हुँदै भारतको असमतर्फबाट आएका इमेहाङले यहाँ शासन गरेका थिए। त्यतिबेला यो क्षेत्रलाई दश लिम्बुवान क्षेत्रकै भाग मानिने गरेको उनले बताए। इलाममा बस्ती विकास चाहिँ कहिलेदेखि भयो भन्ने पत्तो लाग्न सकेको छैन। अहिलेको माइजोगमाई गाउँपालिका–५ सोयाङस्थित सरस्वती माध्यमिक विद्यालय भएको स्थानमा केही वर्षअघि घडेरी खन्ने क्रममा एउटा धातु भेटिएको भन्दै उनले त्यसको अध्ययन गर्दा अनुसन्धानकर्ताले ७ हजार वर्षपहिला त्यहाँ खोलो भएको र जीवको बास भएको भन्नेसम्म भेटिएको बताए।
चौथो शताब्दीदेखि भेटिएको लाप्चा जातिको इतिहासअनुसार रोङ लिपिमा ‘इ’ को अर्थ पुत्का (मौरी) र ‘लोङ’को अर्थ उडेको, बसेको ठाउँ हुने भएकाले ‘इलोङ’ नाम थियो। अहिले अपभ्रंश भएर इलाम भएको वैद्यले बताए। ‘१६ औं शताब्दीमा पाल्पाका राजा मकुन्द सेनले विजयपुर जितेपछि इलाम पनि नेपाल राज्यभित्र प¥यो, त्यसबेला दश लिम्बूवानअन्तर्गत यो स्थानमा आशदेव शासक थिए,’ उनले भने, ‘इलाम रहेको राज्य पनि सेनहरूले जितेपछि त्यसबेला मुकुन्द सेनले उनका कान्छा छोरा लोहान सेनलाई यो विजयपुरपूर्व अंश दिए।’
अंग्रेज–नेपाल युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गर्यो। मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो। मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको वैद्य बताउँछन्। ‘इलामको यो इतिहास नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो।’
सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका हुन्। पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा नामसालिङको हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलामको माइस्थान ल्याइएको थियो। माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ।