१६ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लैंगिक हिंसा अन्त्यको सन्देश छर्दै युगीन थिएटर

जोत्ने क्रममा खेतबाट निस्किएका माटोको डल्लाले किसान आजित छन्। खेतमा काम गरेका श्रीमान् भोकाए होलान् भनेर उनकी श्रीमतीले खाजा लिएर आउँछिन्। हल बाँधेका गोरु बिसाएर श्रीमान्ले खाजाको खुसी साट्लान् भनेर मख्ख परेकी श्रीमतीलाई श्रीमान्ले डल्ला नफोरेको र खेतको चेरचाहमा ध्यान नदिएको गुनासो गर्न थाल्छन्। यहीँबाट सुरु भएको छ, ‘लैंगिक हिंसाको कथा...।’

लैंगिक हिंसाको १६ दिने अभियान चलिरहेका बेला युगीन थिएटर पाँचथरले ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रस्तुत गरेको सडक नाटकको एक भाग हो यो। लैंगिक हिंसाका गर्ने मनसाय बोकेकाहरूमा हिंसाको सुरुआतका लागि खास कारण नै चाहिँदैन भन्ने सडक नाटकको उक्त भागले आशय दिएको छ।

सडक नाटक प्रस्तुतिका संयोजनकर्ता तथा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा मानिसको गलत सोचाइ, पछौटेपन र हिंस्रक आनिबानी लैंगिक हिंसाका प्रमुख कारण रहेको बताउँछिन्। स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक अधिकारको असमान वितरणले लैंगिक हिंसा सृजना गर्ने उनको बुझाइ छ।

सडक नाटकमा प्रस्तुत भएको एक भागको झलक हेर्ने हो भने पनि लैंगिक हिंसा गलत मानवीय व्यवहारबाट सुरु हुने रहेछ। जोत्ने क्रममा खेतबाट माटोको डल्ला निस्कनु सामान्य र स्वाभाविक हो। तर नाटकमा माटोको डल्ला निस्कनुको दोष श्रीमान्ले उनकी श्रीमतीलाई लगाएका छन्।

श्रीमान्ले खेतबारीमा ध्यान नदिएको गुनासो श्रीमतीसँग गर्दा श्रीमतीले आफूले घरधन्दामा समय दिएको र फुर्सद नबसेको भन्दै श्रीमान्लाई सम्झाई बुझाई गर्ने कोसिस गरेकी छन्। तर श्रीमान् उल्टै आफ्नी श्रीमतीले खर्चिएको समयप्रति असन्तुष्टि पोख्दै भन्छन्, ‘जति गरे पनि महिलाले पुरुष जति ज्याला पाउँदैनन् क्यारे !’

यसले समान कामको असमान ज्यालालाई उजागर गरेको छ। हाम्रो समाजका यदाकदा क्षेत्रमा अहिले पनि एउटै प्रकृतिको र समान समय काम गर्दा पनि महिला र पुरुषबिच उसले पाउने दैनिक ज्यालादारीमा भिन्नता छ।

राजनीतिकर्मी तथा अधिकारकर्मी नीता सिवा कामको आधारमा हुने विभेद, श्रमको आधारमा हुने विभेद, घर व्यवहारका कामलाई लिंगका आधारमा विभाजन गरी छुट्याइनु र सोहीअनुसार काममा खटाइनु, मानवीय संवेदनाका आधारमा व्यवहार नगर्नु, आदर र सम्मानको सट्टा अपमान र गलत विचार पाल्नु घरेलु हिंसाका प्रमुख कारण रहेको बताउँछिन्। मानिसलाई उसको शारीरिक अवस्थाको समेत मनन नगरी व्यवहार गर्नु लैंगिक हिंसाको अर्को रूप हुने उनको भनाइ छ।

घरपरिवारका सदस्यले मिलेर काम गर्ने बानी बसाल्ने, एकअर्काप्रति समान सोचाइ राख्ने, समस्या पर्दा मिलेर समाधान गर्ने, घरधन्दा र मेलापातलाई पारिवारिक मिलनका साथ पूरा गर्ने जस्ता बानीले लैंगिक हिंसा क्रमशः न्यूनीकरण हुँदै जाने गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदी बताउँछन्।

युगिन थिएटर पाँचथरका प्रस्तोता कमल घिमिरे लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर नपर्नेगरी सबैबाट व्यवहार हुने र सोहीअनुसार अघि बढ्ने हो भने लैंगिक हिंसा अन्त्यको बाटो मार्गप्रसस्त हुने दाबी गर्छन्।

 यसका लागि परिवारका प्रत्येक सदस्यमा चेतना र गलत व्यवहारको संस्कार हट्नु पर्छ,’ घिमिरेले भने। लैंगिक हिंसा अन्त्यका लागि सडक नाटकमार्फत सामाजिक चेतना प्रवाह गर्न युगिन थिएटरले सडक नाटक प्रस्तुति गरेको उनले बताए। युगिन थिएटरले ताप्लेजुङ बाहेक पाँचथरका विभिन्न स्थानमा समेत सडक नाटक प्रस्तुत गरेर सचेतना अभिवृद्धिका लागि काम गरिरहेको बताएको छ।

लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य र लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई लैंगिक हिंसा भनेको छ।

प्रकाशित: १६ मंसिर २०८१ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App