२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

टोपा नाच प्रदर्शन

म्याग्दी - रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमेपूजाका अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ।

भूमे र मण्डली पूजाका अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन छ । हरेक वर्ष चैत महिनाको अन्तिम उजेली मंगलबार गरिने भूमे र मण्डली पूजामा टोलबाट महिलाले टोपा नाच निकाल्ने गर्छन् ।

गाउँको शिरमा रहेको मण्डली बज्यैका थानमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा भक्तजन पुग्ने गरेका छन्। पूजा र भाकल पूरा गर्न चिमखोला पुगेका भक्तजन मौलिक र परम्परागत कला संस्कृतिको अवलोकनबाट लोभिएर फर्कने गरेका छन्।

भूमेपूजा गर्नुभन्दा ठीक एक महिना अगाडि गाउँसभाबाटै भूमेका लागि छ्याङ बनाउन हरेक टोलबाट दुई दुई महिला छेमा चयन गर्ने र उनीहरुले भूमेपूजाको दिन उक्त छ्याङ प्रसादका रुपमा गाउँलेलाई खुवाउने वडाध्यक्ष दुर्गाबहादुर पुनले बताए। भूमेपूजापछि लोपोन्मुख सेदो गीत गाउँदै गाउँ फर्किएपछि छेमाको सहभागितामा स्थानीयवासीले दोस्रो दिन टोपा नाच प्रदर्शन गर्ने चलन रहेको अग्रज कलाकार लबहादुर पुनले बताए।

‘‘छेमाहरुले छ्याङ खुवाएपछि भूमेलाई खुशी बनाउन युवाहरु एकापसमा छ्याङको छोक्रा र खाना पकाउँदा आएको मोसो दलेर रमाइलो गर्छन्, चुलो घुमेपछि सेदो गीतमा नाचगान गर्दै गाउँ फर्किने गछौँ”, उनले भने, ‘‘यसै अवसरमा ऐतिहासिक टोपा नाच देखाउने चलन छ’’। भूमेपूजाका अवसरमा देखाइने नाच र गाइने भाकामा देवीदेवतालाई पुकार्ने र सम्भावित प्राकृतिक प्रकोपबाट मुक्ति माग्ने चलन छ।

परम्परागत रुपमा देवतालाई खुशी बनाउने र स्थानीयवासीलाई मनोरञ्जनका लागि भूमेपूजाका अवसरमा टोपा नाच, जुरेचल्ला र सर्मजाले र कलश जुधाउने देखाउनाका साथै सेदो र साहिँला तथा यानीमाया भाकामा गीत गाउने गरिएको चिमखोलाका ध्रुवकुमार पाइजाले बताए।

हरेक टोलबाट नौमती बाजासहित साइलो, भैच साइलो र यानीमाया भाकामा नागगानसहित गाउँ परिक्रमापछि खेलमैदानमा पुगेर नाच प्रदर्शन गरिन्छ । सो अवसरमा उक्त नाच अवलोकनका लागि पुग्ने गाउँका अगुवाले आमा समूहको उत्थानका लागिसहयोग गर्छन् भने उनीहरुलाई सम्मानसहित आमा समूहले स्वागत गर्छ।आफ्नो रुप परिवर्तन गरी महिलाले टोपा नाच देखाएलगत्तै जुरेचल्ला, समाजा र कलश जुधाउने गरिएको कलाकार डेकबहादुर पहरे पुनले बताए। युवादेखि प्रौढसम्मका व्यक्तिले यसमा सहभागिता जनाउँछन् ।

अहिले विश्वभर चर्चित थाली नाचको शुरुआतसमेत चिमखोलाबाटै भएको हो। परम्परागत कलासंस्कृति जगेर्ना गर्न र नयाँ पुस्तामा हस्तान्तरणका लागि तालीलगायत कार्यक्रम सञ्चालन गर्न अक्षयकोष स्थापना गर्न आवश्यक रहेको भूमेपूजामा जन्मथलो फर्किएका समाजसेवी बमबहादुर पुनले बताए।रासस

 

प्रकाशित: २७ चैत्र २०७४ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App