९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पुल नबन्दा झोलुंगेको सहारामा पलाँतावासी

पुल नहुँदा नदीबाट गाडी तारिँदै। तस्बिर: नागरिक

कालीकोट जिल्लाको पलाँता गाउँपालिका सिधै सडक सञ्जालमा अझै पनि जोडिन सकेको छैन। कर्णाली नदीपारि बस्ती भएकाले पलाँता गाउँपालिका सडक सम्पर्कबाट वञ्चित भएको हो।

२०७६ फागुन १ गते तत्कालीन गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले तेलका खाली ड्रम बिछ्याएर सरकारलाई दबाब दिन कर्णाली नदीबाट गाडी पार गरे। बमको कार्यकालभरि पलाँताका बासिन्दाले पालिकाभित्र यातायातको सुविधा पाए।

पछिल्लो समयमा भने उक्त सेवा बन्द भएको छ। कर्णाली नदीमा पुल नबनेका कारणले पलाँतावासीले गाउँपालिकाभित्र यातायात सुविधा पाउन सकेका छैनन्। पलाँता गाउँपालिका–२ का गोरेबहादुर बमले पहिलाको सरकार हुँदा यातायात सेवा पाए पनि अहिले भने पूर्ण रूपमा बन्द भएको गुनासो गरे।

पलाँतामा अन्य सार्वजनिक यातायातबाट सेवा लिनका लागि कर्णाली नदीमा पुल छैन। पुल अभावले यहाँका नागरिक झोलुंगे पुलको यात्रा गरेर कर्णाली कोरिडोर हुँदै सदरमुकाम मान्म, सुर्खेत नेपालगन्जको यात्रा गर्ने गरेका छन्।

कर्णाली नदीमा पुल बनाउने सुरसार न संघीय न प्रदेश सरकारले गरेका छैनन्। पलाँताको घाटाचौरमा फेरि जडान गर्ने भनेर रकम विनियोजन भए पनि काम भने अझै हुन सकेको छैन। पलाँतामा अघिल्लो कार्यकालमा सबै ठाउँमा सडक पुगेको थियो।

२०७९ सालमा निर्वाचित सरकारले उक्त सडकलाई मर्मत गरेर मोटरसाइकल सञ्चालन हुनेसम्म बनाएको छ । कर्णालीपारि तारिएका दुईवटा ट्याक्टरले सामान ढुवानी गरिरहेका छन् भने त्यही सामानमाथि यात्रु बसेर जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्।

पलाँता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले कर्णाली नदीमा पुल नभएकै कारण सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गर्न तेलका खाली ड्रममाथि गाडी राखेर कर्णाली नदीमा डुङ्गा बनाई दुई गाडी गाउँपालिका पुर्‍याइएको बताए।

ती गाडी बिग्रिएपछि गाडी मर्मत गरेर एउटा गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्ने र अर्को गाडी गाउँपालिका अध्यक्ष चढ्ने बनाइएको छ। यस्तो समयमा कम्तीमा गाउँपालिकाले आफ्ना गाडी मर्मत गरेर पालिकाभित्र सञ्चालन गरेर भए पनि स्थानीयलाई सेवा दिनुपर्ने हो। कोही बिरामी हुँदा स्ट्रेचरमा राखेर अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ।

पलाँता मात्र नभई पचालझरना गाउँपालिकाको अवस्था पनि उस्तै छ। पचालझरना गाउँपालिकाको केन्द्रसम्म पुग्न कर्णाली नदीमा पुल छैन। पुल नहुँदा स्थानीय झोलुंगे पुलको भरमा छन्। अहिले पनि घाटाचौरमा बन्न लागेको पक्की पुलको काम भने कछुवा गतिमा भई रहेको छ।

प्रकाशित: ९ मंसिर २०८१ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App