८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

विपद्को पूर्वसूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरुले बताएका छन्।

 प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट) को १६औँ वार्षिक साधारणसभा तथा मनसुन समीक्षा कार्यक्रमका अवसरमा नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा उनीहरुको जोड थियो।

सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेलले अजरवैजानको बाकुमा जारी जलवायु सम्मेलनमा गत असोज दोस्रो साता आएको बाढी पहिरो जलवायु परिवर्तनको कारण सिर्जित समस्या भएकाले यसलाई हानि नोक्सानीका रुपमा लिनुपर्ने नेपालको मागलाई विश्व समुदायले स्वीकार गरेको जानकारी दिए।उनले पूर्वसूचनासँगै स्थानीयस्तरसम्म पूर्वतयारीका कार्यहरु हुन जरुरी रहेको बताए।

डिपिनेटका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद्सम्बन्धी ऐन, कानुन, कार्ययोजना बनाउँदैमा नहुने हुँदा त्यसको पूर्ण कार्यान्वयनमा सरकार, निजी क्षेत्र र आम समुदायबीच सहकार्य र समन्वयको खाँचो औँल्याए।सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनत बस्नेतले द्वन्द्वको समयमा शान्ति सुरक्षार्थ गठन गरिएको बललाई पछि विपद् व्यवस्थापनमा बढी केन्द्रित गरिएको र अन्य देशहरुमा पनि नेपाललको अभ्यास उदाहरणीय रहेको उल्लेख गरे।

सो अवसरमा राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारीले राससले देशभर भएका विपद्का घटना, उद्धार, राहतका समाचारहरुलाई उच्च महत्वका साथ सम्प्रेषण गरी जनतालाई सुरक्षित रहन तथा जिम्मेवार निकायहरुलाई राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पु¥याएको  जानकारी दिएका थिए।

यस वर्षको मनसुनका घटनाहरुसम्बन्धी विभिन्न तस्बिर तथा भिडियो प्रस्तुत गरेका  डिपिनेटका प्राविधिक सल्लाहकार रामप्रसाद भण्डारीले विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएका यस वर्षको मनसुनसँग सम्बन्धित समाचारहरुको विश्लेषण गरेका थिए।जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्दकुमार झाले पनि विभागले पूर्वसूचना दिँदा दिँदै पनि त्यसको बेवास्ता गरिंदा विपदबाट ठूलो जनधनको क्षति भएको बताए।  

डिपिनेटका अध्यक्ष डा राजु थापाले विपद् व्यवस्थापनमा संलग्न सरकारी, गैरसरकारी सङ्घसंस्था एवं प्राज्ञिक निकायहरुसँगको सहकार्यमा अध्ययन, अनुसन्धानका कार्यहरु गर्दै आएको बताए। डिपिनेटका महासचिव सुरज गौतमले संस्थाले वर्षभरि गरेका क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए।

अक्सफामका राष्ट्रिय प्रतिनिधि तृप्ती राईलगायतले पनि विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो औँल्याए। कार्यक्रममा गत असोज ११ गते काठमाडौँको नख्खुखोलामा आएको बाढीमा परी ज्यान जोखिममा परेका दुई सर्वसाधारणको जीवितै उद्धार गरेका  छनिकलाल तामाङलाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। 

प्रकाशित: ७ मंसिर २०८१ १८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App