काठमाडौं महानगरपालिकाले ३० प्रशिक्षार्थीलाई कार्यस्थलमा तालिमसँगै रोजगारी (अन द जब ट्रेनिङ) का लागि पठाउने भएको छ। महानगरपालिकाले गत वैशाखमा आयोजना गरेको सिप मेलामा आधारभूत सिपमूलक तालिम लिएकामध्ये ३० जनालाई छनोट गरी मासिक पारिश्रमिक पाउनेगरी अन द जब ट्रेनिङमा पठाउने तय गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बताइन्।
उनीहरूलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारीसाधन मर्मतका लागि पठाइनेछ। यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसनबिच सम्झौता भएको जानकारी निरौलाले दिइन्। महानगरपालिकाको तर्फबाट निरौला र फाउन्डेसनको तर्फबाट अध्यक्ष मनिराज खत्रीले मंगलबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार केसीको रोहबरमा सम्झौतापत्र आदानप्रदान भएको निरौलाले बताइन्। ‘यसअघि सञ्चालन गरिएको सिप मेलामा तालिम लिएका सयजनामध्ये ५० जना स्वरोजगार र रोजगारीमा छन्,’ निरौलाले भनिन्, ‘बाँकी ५० जनामध्येबाट ३० जनालाई छनोट गरी महानगरपालिकाले अन द जब ट्रेनिङमा पठाउने छ।’
उनले थपिन्, ‘अहिले पहिलो चरणमा नाडा र सुजुकीसँग सहकार्य भइसकेको छ। यो अटोमोबाइलतर्फ मात्र अवसर हो।’
महानगरपालिकाले सिप मेलामा अटो इलेक्ट्रिकतर्फ ४० जना र इलेक्ट्रिकल भेहिकल (इभी) तर्फ ६० जना गरी एक सयजनालाई एक महिने तालिम दिएको थियो। ‘तालिम लिएकालाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाउनुभयो। ५० जनाबाट रोजगारी र स्वरोजगारमा भएको सूचना प्राप्त भयो। यसैअनुसार हामी अघि बढ्यौं,’ उपप्रमुख डंगोलले भनिन्, ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ।’
हामी बहुसाझेदार कार्यक्रममा पनि खुला छौं। यसबाट दीगो नतिजा निकाल्न सकिने विश्वास राखेका छौं।’
सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार रोजगारीमा जान इच्छुक ५० मध्ये ३० जनालाई छनोट गरी अन द जब ट्रेनिङमा पठाइनेछ। यसरी पारिश्रमिकसहितको तालिम र रोजगारी प्रदान गर्न निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् भने थप कम्पनीहरूसँग पनि महानगरपालिकाले सहकार्य गर्ने उनले बताए।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो। सम्झौताबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले अन द जब ट्रेनिङका लागि सिफारिस गर्नेछ। यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ। कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रूपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। कार्यस्थल रहेको उद्योगबाट ९ हजार र फाउन्डेसनबाट ९ हजार गरी १८ हजार रूपैयाँ उनीहरूले पाउने छन्।
सिपमूलक तालिमबाट पेसा र व्यापार सिकाउन अन द जब ट्रेनिङ कार्यक्रम सञ्चालनमा निजी, उद्योग, वाणिज्य तथा साझेदार संघसंस्थासँग सहकार्यका विषयमा परामर्श बैठक पनि सम्पन्न भइसकेको झाले बताए। ‘यस कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेसाको कार्यस्थलमा गएर व्यावहारिक सिप सिक्नुपर्छ’, झाले भने, ‘कार्यस्थलमा सिप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ।’
विद्यालयको औपचारिक शिक्षामा सिपमूलक तालिमलाई स्थापित गर्दै यसबाट बेरोजगारी घटाउने र आर्थिक क्रियाकलाप बढाउने लक्ष्य महानगरपालिकाको छ। परामर्श बैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिले आफूहरूलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न शैक्षिक प्रतिष्ठानहरूले ध्यान नदिएको गुनासो गरेका थिए।
निरौलाले भनिन्, ‘सिपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन उद्योगीहरूले प्रतिबद्धता जनाउनु भएको छ।’
‘तालिमका लागि पूर्वाधार बनाउने, तालिम प्राप्तलाई श्रम बजार र स्वरोेजगारीका अवसरको पहुँचमा पुर्याउने योजना कार्यान्वयनमा छौं’, सहरी योजना आयोगका सदस्य झाले भने, ‘तालिमको अपेक्षा गर्ने व्यक्तिहरूको संख्या धेरै भएकाले संख्यात्मक आँकडाको कुरा पनि छ। हामी गुणात्मक पक्षमा पनि उत्तिकै सजग छौं।’
महानगरपालिकाले कार्यक्रममार्फत तालिम र रोजगारीसँगै समावेशीकरण र सामाजिक न्यायको पक्षलाई मानकका रूपमा राखेकाले कार्यक्रम कार्यान्वयनसँगै समुदायस्तरमा नतिजा देखिँदै जाने विश्वास गरेको छ।
प्रकाशित: ६ मंसिर २०८१ ०६:२६ बिहीबार