६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कालीकोटको लालुमा बाघ आतंक, स्थानीय त्रसित

.

.

कालीकोटको नरहरिगाउँपालिका-८ लालुमा बाघको आतंकले स्थानीयवासी त्रसित बनेका छन्। बाघले पछिल्लो केही दिनदेखि चराउन लगेका बाख्रा-बोका र खोरमा बाँधिएका कुकुरलाई समेत आक्रमण गरी खाइदिने गरेको छ।

बुधबार दिउँसो स्थानीय दमनराज विष्टले चराउन लगेका दुईवटा बाख्रा, जिवराज विष्टको खसी, र पदम विष्टको कुकुर बाघको शिकार बनेको जनप्रभात माविका प्रधानाध्यापक निर्मल विष्टले जानकारी दिए।

लालुमा यसअघि साउनमा १२ वटा बाख्रा, भदौमा एउटा बाख्रा र बसन्तपुरमा दुईवटा घोडा बाघले मारेको घटनाले स्थानीयलाई थप त्रसित बनाएको छ।

वडाध्यक्ष लालबहादुर विष्टका अनुसार बाघले गोठमा रहेका चौपायालाई समेत आक्रमण गर्ने गरेको छ। उनले भने, ‘बेला-बेलामा बाघले बोका, बाख्रा खाइ नै रहेको छ। जंगल नजिक ‘गोठालो’ नगरिए बाख्राहरू सजिलै आक्रमणको सिकार हुन्छन्। अहिले त खोरमा समेत बाघ पस्न थालेको छ।’

लालुको बसन्तपुर, छेपारेखर्क, र गालढूङ लगायतका उच्च भूभागमा बाघको सक्रियता बढेसँगै स्थानीयवासीलाई सुरक्षित राख्न उपायको खोजी भइरहेको छ।

डिभिजन वन कार्यालय कालीकोटका अनुसार बाघले मारेका चौपायाको मुचुल्का तयार गरी पेश गरेमा पीडित कृषकले राहत पाउने व्यवस्था रहेको छ।

प्रकाशित: २९ कार्तिक २०८१ १७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App