७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा प्रदेश सरकारको करोडौँ लगानीका योजना अलपत्र

सिन्धुलीको कमलामाई नगरपालिका ५ मा रहेको प्रयोग विहीन रंगशाला सरसफाइमा जुट्दै सरोकारवालाहरू। तस्बिर: अनिल भण्डारी/नागरिक

सिन्धुलीमा बागमती प्रदेश सरकारले बनाएका दर्जनौँ योजनाहरू प्रयोगमा नआई अलपत्र परेका छन्। बागमती प्रदेश सरकारले जिल्लाको विभिन्न क्षेत्रमा गरेको लगानी अलपत्र जस्तै भएपछि सरकारको लगानी प्रयोग विहीन अवस्थामा छ। प्रदेश सरकारको तल्लो तहसम्म निगरानी गर्ने संरचना नहुँदा बागमती प्रदेश सरकारमार्फत जिल्लामा सिधै आएको बजेटबाट निर्माणाधीन योजनाहरू अलपत्र परेका हुन्। 

प्रदेश सरकारले जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले पर्यटन तथा भौतिक पुर्वधारमा लगानी गरेको भएपनि प्रत्यक्ष निगरानी नहुँदा बागमती प्रदेश सरकारले सिन्धुली जिल्लामा बनाएका भ्यू टावर रानी दरबार लगायतका योजना निर्माण सम्पन्न भएर पनि प्रयोग मा आउन सकेको छैन। पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको रंगशाला प्रयोग विहीन भएको छ।

बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा निर्माण भएको रंगशाला प्याराफिट प्रयोग विहीन भएको छ। कमलामाई नगरपालिकामा खेल क्षेत्रलाई टेवा पु¥याउन बागमती प्रदेश सरकारकारले रंगशाला निर्माण गर्न थालेको हो कमलामाई नगरपालिका वडा नम्बर ५ मा रंगशाला निर्माण भई नगरपालिकालाई प्रदेश सरकारले हस्तान्तरण गरिसकेको भएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

१६ सय जनाले एकै पटकमा खेल हेर्न मिल्ने गरी संरचना निर्माण गरेको भएपनि खेलमैदान निर्माण हुन नसक्दा रंगशाला प्रयोगमा आउन सकेको छैन।  रंगशालामा हालसम्म ९ करोड बढी लगानी भइसकेको र थप लगानीको अभावमा निर्माण सम्पन्न हुन नसकेको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रप्रसाद ढकालले बताए। वडा नम्बर ४ को अगुवाइमा रंगशाला आसपास सरसफाइ भएको र बजेट थपका लागि पहल गरी खेलकुदका लागि रंगशाला प्रयोगमा ल्याइने ढकालले जानकारी दिए।

खेल्न योग्य खेल मैदान निर्माण गर्न अझै धेरै बजेट लाग्ने भएकाले आवश्यक बजेटको अभावमा रंगशाला सञ्चालनमा नआएको उनको भनाई छ। बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा बनाएको भ्यू टावर प्रयोग विहीन छ। प्रदेश सरकारबाट भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयाँ लागमा बनेको भ्यु टावर निर्माण व्यवसायी ड्रागन कनट्रक्सन प्रा.लीले २०७८ साल जेठ १५ गते नै निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा लिएर निर्माण सम्पन्न गरेको भएपनि टावर प्रयोगमा आउन सकेको छैन। टावर प्रयोगमा नआउँदा झ्यालका सिसा लागत फुटिसकेको स्थानीय बत्ताउँछन्।

सिसा फुटाएर टावर भित्र अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयको गुनासो छ। बागमती प्रदेश सरकारले सिन्धुलीको विकास गर्न पर्यटन कृषि, भौतिक पूर्वदार लगायतको क्षेत्रमा विशेष लगानी गरेको छ।  सोही अनुसार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्ध बाबा मन्दिर जाने आन्तरिक तथा बाह्र पर्यटकहरूलाई भ्यु टावरबाट सिद्ध बाबा मन्दिर परिसर र सिन्धुली सदरमुकामको दृश्य हेर्नलाई सहज हुने भन्दै टावर बनाएको भएपनि प्रयोगमा आउन सकेको छैन । बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले कमलामाई नगरपालिकालाई हस्तान्तरण नगर्दा भ्यु टावर अलपत्र परेको हो।

बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाबाट चार करोड ३८ लाख ९९ हजार बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित ऐतिहासिक सिन्धुलीगढी परिसरमा रानी दरबार निर्माण भएको छ। तर दरबार निर्माण भएको लामो समय बित्दा पनि दरबार प्रयोगमा आउन सकेको छैन। तुल्सी÷एरिया जेभीले  २०७७ पुस २१ गते निर्माणको लागि सम्झौता गरी २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको भएपनि समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर रानी दरबारको पुनर्निर्माण सम्पन्न गरेको थियो।

२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानी दरबार संरक्षणको अभावमा भग्नावशेष भएको थियो। भग्नावशेष दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा निर्माण सम्पन्न गरिसकेको छ। तर निर्माण सम्पन्न गरिसकेको दरबार प्रयोग विहीन अवस्थामा छ । यो त प्रतिनिधिमूलक केही योजना हुन्। बागमती प्रदेश सरकारले बनाएका यी जस्तै दर्जनौँ योजना सिन्धुलीमा प्रयोग विहीन छन्। 

प्रकाशित: २७ कार्तिक २०८१ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App