ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रका घरजग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको ३५ दिनभित्र बहाल रकम र बहाल अवधिसहितको विवरण नगरपालिकामा बुझाउनुपर्ने भएको छ। घर बहाल कर व्यवस्थापन कार्यविधि जारी गर्दै नगरपालिकाले यस्तो बताएको हो।
विवरण बुझाउँदा बहाल सम्झौतापत्रको प्रतिलिपि, धनीपुर्जाको प्रतिलिपि र बहालमा बस्ने व्यक्ति वा संस्थाको आधिकारिक विवरणसमेत संलग्न राख्नुपर्ने भएको छ। घरजग्गा बहालमा दिने व्यक्तिले घरजग्गाको विवरणसहित बहालको मासिक वा वार्षिक दर खुलाई कर तिर्ने दायित्वसमेत किटान गरी बहाल लिने व्यक्तिसँग सम्झौता गर्नुपर्ने भएको छ।
कार्यविधि लागु हुनुअगावै घरजग्गा बहालमा दिएको भए उनीहरूले समेत बहाल रकम र बहाल अवधिसहितको विवरण नगरपालिकामा बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले करदाताले पेस गरेको विवरण र बहाल सम्झौतामा उल्लिखित रकमलाई आधार मानी कर निर्धारण गर्ने भएको छ, तर करदाताले पेस गरेको विवरण र बहाल सम्झौतामा उल्लिखित रकम नगरपालिकाले तोकेको न्यूनतम दरभन्दा कम भएमा नगरपालिकाले तोकेको न्यूनतम बहाल करलाई आधार मानेर कर निर्धारण हुने भएको छ।
घरजग्गा बहालमा दिने व्यक्तिले प्रत्येक आर्थिक वर्षको बहाल कर सोही आर्थिक वर्षभित्र दाखिला गर्नुपर्ने भएको छ। करदाताले तिर्नु–बुझाउनुपर्ने रकम अग्रिम रूपमा दाखिला गर्न चाहेमा तिर्नुपर्ने करमा छुटसमेतको प्रबन्ध गरिएको नगरपालिकाले कार्यविधिमा उल्लेख गरेको छ। कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको नगरपालिका क्षेत्रभित्रको घरजग्गा निश्चित अवधिका लागि पूरै वा आंशिक तवरले भोगचलन गर्न दिएवापत प्राप्त गर्ने भाडा, बहाल, लिज वा पट्टा रकमसमेतमा लाग्ने कर व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि बनाएको हो।
घर जग्गा बहालमा लगाउने व्यक्ति वा निजको प्रतिनिधिले यस्तो कर तिर्नुपर्ने हुन्छ। स्वामित्व कायम नभएको ऐलानी, पर्ति वा सार्वजनिक जग्गामा बसोवास गर्ने व्यक्तिले आफ्नो घरजग्गा अन्य व्यक्ति वा संस्थालाई बहालमा दिएको वा कुनै जग्गा लिजमा लिई घर भाडामा लगाएको व्यक्तिले समेत घर बहाल कर तिनुपर्ने नगरपालिकाले जनाएको छ। मुनाफाको उद्देश्य नराखी सञ्चालन हुने विद्यालय, मन्दिर, पुस्तकालय, क्लब, सामुदायिक संस्था र सरकारी निकायहरूका हकमा भने घर बहाल कर लाग्ने छैन।
प्रकाशित: २६ कार्तिक २०८१ ०९:४० सोमबार