बालबालिकामाथि बलात्कारलगायत यौनजन्य हिंसा प्रायःजसो आफन्त तथा चिनेका नजिकका व्यक्तिबाट हुने गरेका तथ्य बारम्बार आइरहेका छन्। खाईखेली हुर्कने बेलामा बालिका आपराधिक घटनाको कारण शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा भावनात्मक रूपमा अत्यन्तै अकल्पनीय पीडादायी जीवन जिउनुपरेको छ।
आर्थिक अवस्था नाजुक भएपछि कैयन् घरपरिवार घरबारविहीन हुनेगरेका छन्। छोराछोरीलाई पढाउन र राम्रो संस्कार दिन नसकेपछि उनीहरूलाई पनि कुबाटोमा लाग्नुपर्ने बाध्यताले घेर्ने गर्छ। परिस्थितिले कहाँ पुर्याउँछ भन्ने कसैलाई थाहा हुँदैन। छोराछोरीकी आधार भनेकै आमा हुन्। आमाबिना तिनीहरू टुहुरा हुन्छन्। बुबाले कमाएर ल्याई छोराछोरीलाई दिन सक्छन् तर आमाले दिने मायाममता तिनले दिन सक्दैनन्।
भक्तपुरको सूर्यविनायकस्थित उदय आधारभूत विद्यालयको कक्षा पाँचमा अध्ययनरत बालिका ‘क’का अभिभावक गाउँको आम्दानीले घर धान्न नसकेपछि सहर झर्छन्। उनका मातापिताले भक्तपुरमा ज्यामी काम गरेरै भए पनि आफ्ना पाँच सन्तानलाई पढाइरहेका थिए। ती परिवारका पाँच छोराछोरीमध्ये कक्षा पाँचमा अध्ययनरत बालिका ‘क’ हुन्। ती बालिकाका मातापिताले ज्यामी काम गरेर छोराछोरी पढाउँदै आफैं रमाउँदै पनि आएका थिए। त्यस परिवारमा खुसी धेरै बेर टिक्न सकेन। कक्षा पाँचमै पढ्दै गर्दा बालिका ‘क’की आमाको मृत्यु भयो। हाँसीखुसी रहेको त्यो परिवारमा एकाएक अन्धकार छायो। आमाको काखमा निदाउने साना छोराछोरीको निन्द्रा सधैंका लागि बिच्कियो।
आमाको मृत्युपछि छोराछोरीलाई हेरचाह गर्ने, पढाउने र खुवाउने सबै काम ती बालिकाका पिताले गर्दै आएका थिए। तर, आमाले संसार छोडेर गएपछि ती बच्चाको बिचल्ली हुन थाल्यो। पिताको कमाइले मात्र घर चल्न गाह्रो भएपछि कक्षा पाँचको पढाइलाई पूर्णविराम लगाएर आफू पनि पितासँगै ज्यामी काम गर्ने गरेको बालिका ‘क’ले मानव बेचबिखन तथा अनुसन्धान ब्युरोसँग बताइन्। उनी सानै भएकाले अरूजस्तो काम गर्न नसक्ने थिइन्।
‘बुबाको मात्रै कमाइले नपुगेपछि म पनि ज्यामी काम गर्न थालें। तर, ज्यामी काम गर्न धेरै नै गाह्रो हुन्थ्यो। रातभरि सुत्न सक्दिनथेँ,’ उनले भनिन्, ‘मसँगै काम गर्ने त्यहाँ कुसुम परियार दिदी हुनुहुन्थ्यो। मेरो दुःख देखेर उहाँले चिनेकै सीता गोतामेको घरमा सरसफाइ र लुगा धुने काम हो, राम्रो कमाइ हुन्छ भन्नुभयो।’
राम्रो कमाइको प्रलोभनमा उनी गत वैशाख १५ गते सीता गोतामेको घरमा काम गर्न गइन्। काम के के हो ? कति तलब दिनुहुन्छ ? भनेर घर साहुनीलाई प्रश्न गरेपछि पाएको जवाफ उनी सम्झन्छिन्, ‘तिमीले मासिक २० हजार रूपैयाँ पाउछ्यौ। खान बस्न केही चिन्ता लिनुपर्दैन। आफ्नै घर सम्झेर ढुक्क भई काम गर्दा हुन्छ।’
त्यस घरमा काम गर्नेमा उनी मात्रै थिइनन्, आफूजस्तै अन्य बालिकाहरू पनि थिए। ‘उहाँको घरमा काम गर्दै जाँदा मजस्तै अन्य तीनचार जना केटीहरू पनि थिए। एउटा घरमा काम गर्न पनि यतिधेरै मान्छे चाहिन्छ र ? भन्ने कुरामा रुमलिँदै थिएँ। हामी तीन जनालाई एउटै कोठामा सुताइन्थ्यो। किन यति धेरै काम गर्ने मान्छे राखेको होला ? भन्ने प्रश्नले मलाई सधैं सताउँथ्यो।’
उनी चुप लागेर बस्न पनि सकिनन्। उनले सीता दिदीलाई प्रश्न गर्दा नमिठो जवाफ पाइन्। ‘यी नानीहरू पनि मेरै आफ्नै बहिनीहरू हुन्,’ सातापछि सीताले बालिकालाई आफ्नो कोठामा लगेर भनिन्, ‘मेरो घरमा आफ्नै चिनजानका मान्छेहरू आउँछन्। उनीहरू बसेको ठाउँमा गएर रमाइलो गरेमा प्रतिव्यक्ति तिमीलाई छुट्टै पाँच सय रूपैयाँ दिन्छु। आखिरी केही गर्नुपर्ने होइन। उनीहरूसँग भाँडाकुटी खेलेजस्तै हो।’
ती बालिका पनि पाँच सय रूपैयाँ पाउने आसले घरमा आएका नयाँ मान्छेसँग सँगै बसेर हाँसखेल गर्न थालेको बताइन्। ‘घरमा आएका अन्जान पुरुषलाई पाहुना मानेर सेवा गर्ने भन्ने ठानेकी थिएँ। तर, त्यस्तो होइन रहेछ। उनीहरूले मेरो संवेदनशील अङ्ग छुने, चलाउने र ममाथि यौन शोषणसमेत गर्न थाले,’ उनले भनिन्। आफूलाई पाँचसात जना केटाले दुई वटा कोठामा पालैपालो लगेर यौन शोषण गरेको उनले बताइन्।
‘मलाई बरु पैसा चाहिएको छैन,’ सीता दिदीलाई उनले भनिन्, ‘म यस्तो काम गर्दिनँ। बरु मलाई बुबाले काम गर्ने ठाउँमा पु¥याइदिनुस्। मलाई ज्यामी काम नै ठिक छ।’ आफ्नो गुनासो पोख्दै गर्दा सीता दिदीले गाली गरेको सम्झँदा उनलाई दुःख लागेको बताउँछिन्।
‘यहाँ काम गर्न भनी आएपछि तिमीलाई फिर्ता गर्न मिल्दैन। यो सजिलो काम हो। यस्तो काम जो पायो त्यसैले कहाँ पाउँछ र ?,’ सीता दिदीले भनेको उनी सम्झन्छिन्। पिता भएको ठाउँमा आफूलाई जान नदिई पटक पटक यौन शोषणमा लगाएको उनी बताउँछिन्।
गाउँबाट काठमाडौं पहिलो पटक झरेकी उनले राम्रो आम्दानी हुने सपना देखेकी थिइन्। घरको कमजोर आर्थिक अवस्थाले थिचिएकी उनलाई भाइबहिनीको ठुलो चिन्ता थियो। काठमाडौंमा कमाएको पैसा घर पठाउँछु भनी पितालाई बाचा गरेर आएकी उनले केही समय त पैसा पनि पठाउन नसकिएको बताउँछिन्।
‘सीता दिदीको आफ्नै घर थियो। त्यहाँ केही नयाँ त धेरै पुराना पुरुष यौन इच्छा मेटाउन आउँथे,’ उनले भनिन्, ‘त्यसरी आएका पुरुषसँग सीता दिदीले हजारदेखि पाँच हजारसम्म लिनुहुन्थ्यो। दैनिक पाँचसात जना पुरुषसँग शारीरिक सम्बन्ध राखेपछि सुरुसुरुमा पैसा मलाई दिनुभएको थियो। पछिपछि हुँदै जाँदा पैसा पनि दिनुहुन्नथ्यो।’
घरमा ग्राहक आउँदा सेफ्टी (कन्डम) भान्सामा चामल राख्ने बाल्टिनभित्रबाट निकाल्नुपर्ने उनले सुनाइन्। ‘सीता दिदी आफंैले कन्डम चामलभित्र लुकाएर राख्नुहुन्थ्यो। ग्राहक आउँदा कहिले उहाँले नै निकालेर दिनुहुन्थ्यो भने कहिले हामीलाई निकाल्न पठाउनुहुन्थ्यो। सुरुसुरुमा दैनिक पाँचसात जना ग्राहकसँग यौन सम्पर्क राख्दा धेरै गाह्रो हुन्थ्यो। त्यतिबेला नमान्दा पनि जबर्जस्ती ग्राहक भएको कोठामा पुर्याउनुहुन्थ्यो,’ ती बालिका ‘क’ले भनिन्।
उनको दैनिकी त्यसरी नै बितिरहेको थियो। तर, कसैको सुराकीले गर्दा ती बालिकाको जबर्जस्तीको यौन कार्यमा पूर्णविराम लाग्यो। उनी पिँजडाबाट निस्किएकी मैनाचरीझैं भइन्। कात्तिक २ गते उनीलगायत मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले अन्य चारजना महिला र वेश्यावृत्तिमा लगाउने घरमालिक सीतासमेतलाई पक्राउ गरेको जानकारी ब्युरोले दियो।
नाबालिकाहरूलाई सरसफाइको काममा लगाउने नाममा विभिन्न किसिमको शारीरिक तथा मानसिक यातना दिई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने सीता गोतामेलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्मको कानुनी कारबाही गरी क्षतिपूर्तिसमेतको न्याय पाऊँ भनी ती बालिका ‘क’ले ब्युरोमा उजुरी दिएकी छन्।
त्यसैगरी कमजोर आर्थिक अवस्थाको फाइदा उठाई ललाइफकाइ डर त्रासमा पारी शारीरिक तथा मानसिक यातनामा परेकी दूरदराजकी अर्की नाबालिका ‘ख’ पनि हुन्। उनी पनि आफूलाई जबर्जस्ती यौन कार्यमा लगाएको भन्दै न्यायका लागि ब्युरोमा उजुरी दिएकी थिइन्।
उनको जन्म उदयपुरमा भए पनि करिब १० वर्षदेखि पोखरामा परिवारसँगै बस्दै आएकी थिइन्। पतिपत्नीको सम्बन्धमा दरार आएपछि ती बालिकाका पिताको पनि तीन वटा विवाह भएको थियो। ‘मेरा बुबाले तीनवटा विवाह गर्नुभएकाले घरमा बुबा, आमा, सौतेनी आमा तथा सौतेनी दिदीहरू गरेर आठ जनाको परिवार थियो। घरमा सधैं झगडा हुने, बुबाले आमालाई धेरै कुट्ने गर्नुहुन्थ्यो। जसले गर्दा कक्षा आठमै मेरो पढाइ रोकियो,’ उनले भनिन्।
घरमै बस्न नपरेसँगै आफूले सक्ने कतै काम पाए पनि जीवन जिउन सजिलो हुन्थ्यो भन्ने उनको मनमा आएको बताइन्।
आफ्नो पढाइ छोडेर उनी काम खोज्नतिर लागिन्। चिनजान राम्रो नभएको सामाजिक सञ्जाल फेसबुकमार्फत ती बालिका ‘ख’को अनु मगरसँग कुराकानी हुन्छ।
काठमाडौंको एक होटलमा खानेबस्नेसँगै त्यहीं काम लगाइदिने अनुको प्रलोभनमा उनी पर्छिन्। घरपरिवार छोडेर काठमाडौंस्थित नयाँ बसपार्कमा सुजन तामाङले सञ्चालन गर्दै आएको गेस्ट हाउसमा ती बालिका आइपुग्छिन्। त्यस गेस्ट हाउसमा उनलाई सरसफाइको काम गर्ने भनी अराएको बताइन्।
सरसफाइ गरेको एक साता नपुग्दै आफूलाई सञ्चालक सुजनले कोठामा बस्न आएका ग्राहकलाई रक्सी पुर्याउने, उनीहरूको गिलासमा रक्सी भरिदिएसँगै उनीहरूसँगै बसेर खाना खानुपर्ने काम लगाएको उनी सम्झन्छिन्। ‘घरदेखि भागेर काम गर्न भनी आएपछि साहुले अराएको काम गर्नु परिहाल्यो भनेर सबै काम गरिदिन्थेँ,’ उनले भनिन्, ‘त्यसरी सामान पुर्याउन ग्राहकको कोठामा जाँदा मलाई काखमा राख्ने, मेरो स्तन तथा गुप्ताङ्ग समाउने, मेरो गालामा टोक्नेजस्ता क्रियाकलाप गर्थे। मैले गेस्ट हाउस सञ्चालकलाई पनि भनेँ, मलाई कस्तो नराम्रो व्यवहार गर्छन् भनेर। अब म कोठामा जाने काम गर्दिनँ। मैले गरेको कामको पैसा दिनुहोस् भन्दा केही दिन काम गर अनि मात्र पैसा दिन्छु भन्नुभयो।’
कोठामा जान नमान्दा विभिन्न किसिमले गालीगलौज तथा कुटपिटसमेत गरी आफूलाई गेस्टहाउसमा आउने ग्राहकहरूसँग रकम लिएसँगै शारीरिक सम्पर्कमा लगाएको ती बालिकाको आरोप छ।
‘गेस्टहाउसमा दैनिक पाँचसात जना पुरुष ग्राहक शारीरिक सम्पर्ककै लागि आउने गर्थे। प्रायः ग्राहकहरू बेलुका ६ बजेदेखि रातभरिका लागि आउँथे,’ उनले भनिन्, ‘रातभरि सुत्न दिँदैनथे। रातैभर ग्राहकको इच्छाअनुसार शारीरिक सम्पर्क गर्नुपथ्र्यो।’
यौन प्यास मेटाउन एकदुई घण्टाको लागि आएका ग्राहकसँग सञ्चालक सुजनले दुईतीन हजार लिएसँगै रातभरिका लागि आएका ग्राहकसँग ६ हजार रूपैयाँसम्म लिने गरेको उनले बताइन्। कहिलेकाहिँ गाह्रो भएर कोठामा आएका ग्राहकसँग यौन सम्पर्क गर्न नमान्दा उनीहरूले यतियति पैसा साहुलाई बुझाएका छौं। यसैका लागि त पैसा तिरेका हो भन्ने गरेको बालिकाले ब्युरोसँग बताइन्।
‘पटकपटक शारीरिक सम्पर्क गरेका कारण मेरो स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। काठमाडौंमा आफन्त कोही भएका भए पनि यो काम छोडेर जान हुन्थ्यो। त्यहींमाथि सञ्चालक सुजनले बाहिर कतै जान नदिई जबर्जस्ती यौन शोषणमा लगाउने गथ्र्यो,’ लुकेको पीडा उनले सुनाइन्। दुईचारचोटि मन लगाएर काम नगर्दा आफूलाई कुटपिटसमेत गर्ने गरेको उनको पीडा छ। एक दिन सञ्चालक सुजनलाई नै जवाफ फर्काएको उनी बताउँछिन्, ‘सधैं मलाई वेश्यावृत्तिको काममा मात्र लगाउने हो भने प्रहरीलाई खबर गरिदिन्छु। दिनरात यही काम मात्रै गर्दा हामीलाई गाह्रो हुन्न ?’
यति भन्दै गर्दा गेस्टहाउस सञ्चालक नम्र भएर आफूलाई फकाएको उनी सम्झन्छिन्, ‘तिमीलाई यहाँ काम गर्न गाह्रो भएको भए मेरो सहोदर भाइ प्रेम तामाङले काठमाडौंस्थित टोखामा डिजेन गेस्ट हाउस भर्खर खोलेको छ। त्यहाँ फोन उठाउने मात्रै काम हो। त्यहाँ केही समय काम गर्दै गर। यहाँ काम गरेको पारिश्रमिक पछि तिमीलाई त्यहीं आएर दिउँला।’
उनी गेस्टहाउस सञ्चालक सुजनको प्रलोभनमा परेर आफ्नो स्वास्थ्य अवस्था पनि ठिक हुने सोचले प्रेमले सञ्चालन गरेको अर्को गेस्ट हाउसमा पुगेको बताइन्।
‘त्यहाँ काम थालेको दुईतीन दिन मात्रै भएको थियो। त्यहाँ पनि पुनः मलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउन थाले। त्यहाँ त झन् मलाई बन्धक बनाई यौन शोषणमा लगाइरहेको अवस्थामा ब्युरोको प्रहरी टोलीले मलाई उद्धार गरेको हो,’ ब्युरोमा भेटिएकी बालिका ‘ख’ले बयान दिइन्। घरपरिवारसँग वाक्कदिक्क भएर कमाउन काठमाडौं आएकी उनको जाने ठाउँ अब कहीं नभएको बताइन्। बालिका ‘क’, बालिका ‘ख’ जस्तै काठमाडौंस्थित इन्द्रावती खाजाघरमा आएका ग्राहकसँग सँगै बसेर खाजा खाई बिल बढाउने काम गर्दा बालिका ‘ग’ पनि यौन शोषणमा परेकी छन्। वैदेशिक रोजगारीका लागि युएई पुगेका छन् उनका पिता। आमा र भाइ भने धादिङ नीलकण्ठ नगरपालिकामा बस्ने गरेको उनी बताउँछिन्। उनी पनि बालिका ‘ख’ जस्तै फेसबुकमा रिना तामाङसँग सामान्य चिनजान भएकै कारण कामको खोजीमा गत पुसमा काठमाडौं झरेकी थिइन्। उक्त इन्द्रावती खाजाघरको सञ्चालक सोम दाइ भनेर चिनिने व्यक्तिले आफूलाई काउन्टरमा बस्ने र कहिलेकाहीं सरसफाइको काम गर्ने भनी प्रलोभनमा पारेको ती बालिकाले बताइन्।
गत पुस १५ गतेबाट त्यस खाजाघरमा सुरुको दुई महिनासम्म काउन्टरको काम गर्दा आफूलाई खाजाघर सञ्चालक सोम दाइले भनेको उनी सम्झन्छिन्, ‘तिमी काउन्टरमा मात्र बसेर काम गर्यौ भने काठमाडौंमा टिक्न सक्दिनौ। बरु खाजाघरमा आएका ग्राहकसँग बसेर बिल बढाउने काम गर्दा तिमीलाई राम्रो हुन्छ। अझै उनीहरूले चाहेको खण्डमा १५/२० मिनेट शारीरिक सम्पर्क राख्दा तिमीले धेरै पैसा पनि पाउछ्यौ। तिमीलाई त्यस्तो असर केही पनि हुँदैन। बरु कन्डम प्रयोग गर्नू।’
यसरी नाजुक तथा कमजोर आर्थिक अवस्थाको फाइदा लिई आर्थिक प्रलोभनमा पारेर गत फागुनबाट आफूलाई वेश्यावृत्तिमा लगाउन थालेको उनी सुनाउँछिन्।
खाजाघर सञ्चालक सोम दाइले मोटी दिदी भनेर चिनिने रविना पाख्रिनको खाजाघरमा यौन सम्पर्क राख्न पठाउने गरेको उनी सुनाउँछिन्। ‘यौन सम्पर्क राख्न नमान्दा मोटी दिदीले धेरै गाली गर्नुहुन्थ्यो। जबर्जस्ती यौन कार्यमा लाग्नुपथ्र्यो। एकजनासँग शारीरिक सम्पर्क राखेबापत पाँच सय रूपैयाँ मेरो हातमा हाल्दिनुहुन्थ्यो।’
आफूलाई धेरै गाह्रो भएपछि यौन कार्य गर्दिनँ भन्दा मोटी दिदीले आफूलाई भनेको उनी सुनाउँछिन्, ‘यत्रो समय काम गरिसक्यौ, अब नगरेर हुन्छ। तिमीलाई बानी पनि परिसक्यो। यदि भनेको मानिनौ भने तिम्रो घरपरिवारलाई दैनिक यौनधन्दामा लागेको कुरा सबै बताइदिन्छु।’
घरपरिवारले थाहा पाउँछन् भन्ने डरत्रासमा दैनिक १५ जनाभन्दा बढीसँग यौनसम्पर्कमा सामेल हुनुपरेको उनको आफ्नै पीडा छ। यसरी खाजाघरमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्दैगर्दा गत असोज १५ गते ब्युरोको प्रहरी टोलीले ती बालिका ‘ग’लाई पनि उद्धार गरेको हो। अहिले गैरसरकारी संस्था नेप्लिज होमको सुरक्षित आवास गृहमा उनलाई परामर्श दिने गरेको ब्युरोले जानकारी दियो।
ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार आफूमाथि गलत भएको महसुस तथा हीनताबोध भने भित्रभित्रै बालिकाले पालिरहेका हुन्छन्। त्यसैले बालबालिकाहरू आफूमाथि भएको यौनहिंसाबारे सामान्यतया बोल्न चाहँदैनन्। आफूमाथि हिंसा भएपछि बालबालिकाले असहाय, एक्लो तथा डर महसुस गर्छन्। त्यसैले यौन हिंसालगत्तै यस विषयमा बालबालिकाले बिरलै मुख खोल्ने गरेका छन्।
प्रकाशित: २४ कार्तिक २०८१ ०९:२० शनिबार