६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बागमतीमा दैनिक पाँच वटा सवारी दुर्घटना

घटना १ः

नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किए । इलेक्ट्रिक माइक्रो बसमा सबार एक दम्पती सहित पाँच जनाले अकालमै ज्यान गुमाए । अन्य पाँच जना घाइते भए । एक जनाको अवस्था अझै गम्भीर छ । 

घटना २:

चितवनको भरतपुर महानगरपालिका ५मा शुक्रबार मध्यान्न १२ बजे एक बोलेरोले साइकलयात्रीलाई ठक्कर दियो । भरतपुर तर्फ आइरहेको ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा १७ वर्षीय युवकले अकालमै ज्यान गुमाए । 

घटना ३:

चितवनको भरतपुरमा बिहीबार मध्यान्न १२ बजे बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाए। जसमा स्कुटरको पछाडि सवार इच्छाकामना गाउँपालिकामा कार्यरत अनमिको मृत्यु भयो। अन्य तीन जना घाइते भए। घाइते मध्ये स्कुटर चालकको अवस्था छ।

यसरी नै बागमती प्रदेशका १० वटा जिल्लामा औषतमा दैनिक पाँच सवारी दुर्घटना हुने गरेका छन्। जसमा दैनिक शून्य दशमलव ९ प्रतिशतको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यहाँ सवारी दुर्घटनाबाट वार्षिक औषतमा साढे तीन सय जनाको ज्यान जाने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरको तथ्याङ्कमा उल्लेख छ।

बागमती प्रदेशमा विगत तीन वर्ष चार महिनामा ५ हजार १ सय ७ वटा सवारी दुर्घटना भएका छन् । जसबाट १ हजार ११२ जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको कात्तिक २० गतेसम्म मात्र ८१ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। 

पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा गम्भीर घाइते २ हजार ४ सय ५० जना र सामान्य घाइते ७ हजार ६३९ जना गरी १० हजार ८९ जना घाइते समेत भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बागमतीमा १ सय ६९ दुर्घटनाबाट ८१ जनाको मृत्यु हुँदा ५११ जना घाइते भएका छन्। त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१मा १ हजार पाँच सय ३६ दुर्घटना हुँदा ३ सय १४ जनाले ज्यान गुमाए भने ७ सय १२ जना गम्भीर घाइते भए।

आर्थिक वर्ष २०७९/०८० मा १ हजार ३६२ सवारी दुर्घटना हुँदा ३ सय ४ जना र २०७८÷०७९मा चार सय १३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा ७७ प्रतिशत पुरुष

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुषको संख्या अत्याधिक छ। प्रहरीका अनुसार सवारी दुर्घटनामा परी ज्यान गुमाउने मध्ये ७७ प्रतिशत पुरुष रहेका छन्। पछिल्लो तीन वर्षमा १ हजार ३२ जनाको मृत्यु हुँदा ८ सय ५ जना पुरुष छन्।  सवारी दुर्घटनामा परी मृत्यु हुने महिलाको सख्या १ सय ५, बालको संख्या ४५ र बालिकाको संख्या २७ रहेको छ।  यसरी हेर्दा सवारी दुर्घटनामा मृत्यु हुनेमा १५ प्रतिशत महिला, ४ प्रतिशत बालक र २ प्रतिशत बालिका रहेका छन्। मृत्यु हुनेमा युवाको उच्च छ। सवारी दुर्घटना मध्ये सबैभन्दा बढी मोटरसाइकल भएका छन्।

बागमती प्रदेशका १० वटा जिल्ला मध्ये चितवनमा सवारी दुर्घटनाको संख्या उच्च छ। चालु आर्थिक वर्षको तथ्याङ्क हेर्दा पनि चितवनमा मात्रै १६९ दुर्घटना भइसकेको छन्। जसबाट ३५ जनाले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए। यो अवधिमा बागमती प्रदेशमा ५११ वटा दुर्घटना भएका छन्। जसमा ८१ जनाको मृत्यु भएको छ भने १ सय ४४४ जना घाइते भएका छन्।

चितवनमा जनसङ्ख्या र सवारी साधनको उच्च वृद्धिका कारण दुर्घटनाको संख्या बढी देखिएको खाँड बताउँछन्। ‘चितवनमा जिल्लामा राजमार्ग मात्र ९३ दशमलव ३९ किलोमिटर छ। यहाँको सडक सञ्जाल हेर्ने हो भने पनि झण्डै तीन हजार किलोमिटर छ,’उनले भने ‘जनसङ्ख्या बृद्धिसंगै सडक सञ्जाल विस्तारको कारण पनि दुर्घटना बढिरहेको छ।’

बागमती प्रदेश ट्राफिक कार्यालय रामनगरको कार्यक्षेत्र राजधानीका तीन वटा जिल्ला बाहेक बाँकी जिल्ला पर्दछन्। राजधानीपछि चितवन नै बढी सवारी दुर्घटना हुने जिल्लामा रहेको उनले बताए। ‘चितवन देशकै केन्द्रबिन्दु बन्यो। यहाँ नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्ग जस्ता जोखिम क्षेत्र पनि पर्दछन्,’ उनले भने ‘अन्य जिल्लामा भन्दा चितवन बढी नै जोखिम देखिएको छ।’  चितवन पछि मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे जिल्लामा बढी दुर्घटना भएको देखिन्छ । बागमती प्रदेशका दश जिल्लामा नौ सय १५ किलोमिटर राजमार्ग रहेको छ। यो क्षेत्रमा साढे चार सय मात्र ट्राफिक प्रहरी रहेको उनले बताए।

जनशक्ति अभावका कारण पनि सवारी दुर्घटना न्यूनीकरण गर्न थप समस्या भएको उनको अनुभव छ। 

प्रकाशित: २३ कार्तिक २०८१ १८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App