जुम्लाको हिमा गाउँपालिकाले कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जोड्ने नाग्म-गमगडी सडक कालोपत्र गर्न माग गरेको छ। सडक कालोपत्र नहुँदा पर्यटकहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै तत्काल कालोपत्र गरेर सडक यात्रा सहज र सुरक्षित बनाउन माग गरिएको हो।
गाउँपालिका स्तरमा सर्वपक्षीय बैठक बसालेर गाउँपालिकाले नाग्म-गमगडी सडकको सुरुको विन्दुदेखि नै कालोपत्र हुनुपर्नेमा जोड दिइएको छ। बिच भागमा कालोपत्र गरेको र सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेको भन्दै तत्काल कालोपत्र सुरुदेखि नै गर्न माग गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।
सुरुदेखि नै कालोपत्र हुनुपर्नेमा बिचमा केही किलोमिटर कालोपत्रे गरिएको छ, अध्यक्ष शाहीले भने, ‘अब सुरुदेखि नै कालोपत्रको काम हुनुपर्ने माग गरिएको छ।’ नाग्मदेखि गमगढीसम्मको कुल ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम चलिरहेको छ। पर्यटकहरूले आवतजावत गर्न सास्ती भइरहेको, खाल्डाखुल्डीले यात्रा असुरक्षित भइरहेको गुनासो गरेको उनको भनाइ छ।
पालिकाभित्रका क्रियाशील दलहरुको साझा बैठक आह्वान गरेर नाग्म गमगडी सडक कालो पत्र गराउन राज्यसँग पहल गर्ने निर्णयसमेत भएको छ।सडक डिभिजनलाई कालो पत्र सुरुदेखि गर्न माग गर्दैछौं । संघ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गर्नेछौुं,अध्यक्ष शाहीले थपे,‘सडक मार्ग हुँदै रारा ताल जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउने कार्यमा जुट्न अपिल समेत गरिरहेका छौँ ।
२०६९ सालदेखि सञ्चालनमा आएको यो सडकमा हालसम्म ६ किलोमिटर सडक मात्रै कालो पत्र गरिएको छ । त्यो पनि सडकको बिचको खण्डमा मात्रै। सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालो पत्र गर्न कठिन भइरहेको बताएको छ।
२०७९ सालमा आएको बेमौसमी बाढीले राजमार्गमा पुर्याएको क्षति गर्दा सडक स्तरोन्नतिमा भएको खर्च र अन्य सडक योजनाको करोडौं भुक्तानी दिनुपर्ने दायित्व बाँकी रहेको कार्यालयको भनाइ छ।चालु आर्थिक वर्षमा नाग्म गमगढी सडक कालो पत्रका लागि बजेट व्यवस्था नभएको समेत स्पष्ट पारेको छ। बजेट व्यवस्थापन हुन सके कालो पत्र अघि बढाउन सकिनेमा जोड दिइएको छ।
नाग्म गमगडी सडक कालो पत्र गर्न दबाब दिने निर्णय गरेकोमा स्थानीय निकै खुसी छन्। तर सडकभित्र पर्ने सबै स्थानीय तह, जुम्ला र मुगुका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरूसमेत एक भएर सरकारको ध्यान केन्द्रित गराउनुपर्ने माग स्थानीयको छ ।सर्वपक्षीय बैठकले सडक कालो पत्रका साथै सामाजिक कुरीति र कुसंस्कारविरुद्ध एक भएर जाने निर्णयसमेत गरेको छ ।बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले सडक हुँदै रारा तालको अवलोकन गरिरहेका छन्। उनीहरूको एउटै गुनासो कच्ची सडक भएकोले यात्रा असुरक्षित भएको भन्ने नै छ।
प्रकाशित: २१ कार्तिक २०८१ १८:१८ बुधबार