६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनगर नगरपालिका

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गर्ने भएको छ। करारमा २७ जना नगर प्रहरी भर्नाका लागि बुधबार नगरपालिकाले सूचना जारी गरेको हो।

नगरपालिकाले प्रहरी निरीक्षकको कमाण्डमा २७ जना जनशक्ति रहने गरेर ऐन बनाएको छ।  नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हवल्दार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवानमा १८ जनाका लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख छ।

‘नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनुहोला,’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

कर्णालीका केही स्थानीय तहहरूले पहिलो पटक भएको स्थानीय तहको निर्वाचन लगत्तै नगर÷गाउँ प्रहरी भर्ना गरेका थिए। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले भने ऐन जारी भएको तीन वर्षपछि  नगर प्रहरी भर्नाका लागि आवेदन माग गरेको हो। ऐनमा गरिएको व्यवस्था अनुसार नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरिने नगरपालिकाले जानकारी दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार २७ जना मध्ये नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दारतर्फ एक–एक र नगर प्रहरी जवानमा तीन जना महिलाको कोटा छुट्टाइएको छ भने नगर प्रहरी जवानतर्फ दुई जना दलितका लागि कोटा छुट्टाइएको छ।

‘नगर प्रहरी निरीक्षकका लागि १८ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ भने नगर प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक र हेभी सवारी चालकका लागि १८ वर्ष पूरा भएर ४५ वर्ष ननाघेको हुनुपर्नेछ,’ प्रमुख प्रशासकीय अधिकृत बाँस्कोटाले भने, ‘नगर प्रहरी जवानका हकमा १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने छ।’ सूचनामा भूतपूर्व सशस्त्र प्रहरी र प्रहरीलाई प्राथमिकता दिइने उल्लेख छ। 

प्रकाशित: १४ कार्तिक २०८१ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App