ताप्लेजुङको फुङलिङ र पाँचथरको थर्पुमा शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य समन्वय तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन हुने भएको हो।नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुसार फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्रांगणमा कात्तिक २६ देखि २८ गते सम्म शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने छ।
यस्तै कात्तिक ३० र मंसिर १ गते गरी दुईदिन पाँचथरको याङवरक गाउँपालिकास्थित याङवरक आँखा उपचार केन्द्र थर्पुमा शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने तय भएको समेत गुरुङले जानकारी दिए।ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजार र पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा समेत आँखा शिविर सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।
दोभान र यासोकमा हुने शल्यकृया सहितको आँखा शिविरको भने मिति तय भईनसकेको नेपाल नेत्रज्योति संघले जनाएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य व्यवस्थापन तथा सम्वन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरमा थर्पु र यासोकमा तथा ताप्लेजुङको दोभान बजारमा आँखा उपचार केन्द्र समेत सञ्चालन छन्।फुङलिङमा रहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र भने नेत्रज्योति संघ ताप्लेजुङ आफैंले सञ्चालन गरेको आँखा उपचार केन्द्र हो।
प्रकाशित: १४ कार्तिक २०८१ ११:४२ बुधबार