९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जलजलाको पर्यटन प्रवर्द्धन गर्न वर्षमानको नेतृत्वमा आवासीय पदयात्रा

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ। 

उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवद्र्धनका लागि‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदमार्ग सुरु गरिएको हो। सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब सय ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरामा पुगेको छ।

टोलीमा नेता पुनसहित पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य,उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकारसहित छन्। 

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थबाङ र सुनछहरी गाउँपालिकाले गरेका छन् ।

पूर्व अर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए।

आफूहरूको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उनले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरू अघि बढिरहेको उल्लेख गरे।‘सांस्कृतिक सम्पदाको सम्वद्र्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रुपमा जलजलाको विकासका लागि पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु’, पुनले भने।

मंगलबार साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिदैछ। कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु वाचन हुने पुनले बताए। यसअघि पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको जानकारी उनले दिए। पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने उनले बताए। 

जलजलामा के छ ?

जलजला पहाड समुद्र सतहबाट करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित रमणीय स्थल हो। जलजला थबाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सङ्गम स्थलका रुपमा रहेको छ। झट्ट हेर्दा तीनै पालिकाको टोपी आकारमा यो रहेको छ।

जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरी र पुथाजस्ता हिमालको मनोरम दृश्यले लोभ्याउने गरेको छ। उचाइमा भएका कारण मौसम खुलेका बेला जिल्लाको अधिकांश भू–भाग देख्न सकिन्छ।

जलजला लोपोन्मुख रेड पान्डाको वासस्थानका रुपमा पनि परिचित छ। जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जङ्गली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौँ प्रकारका चराचुरुङ्गी पाइन्छ। यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलही झैँ सिँगारिएको हुन्छ। लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ।

जलजला पाँचऔले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो।

पछिल्लो समय हिउँ पर्ने समयमा हिउँसँग खेल्न पनि मानिसहरू जाने गरेका छन्। यस्तै त्यहाँको दलदले जमिनमा टेक्न पाउँदा मानिसहरू धेरै रमाउँछन्। 

४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ। जलजलालाई यसअघि  ‘गामा’ भनिन्थ्यो। मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ।आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ।

जलजला जार्नेहरुका लागि भामा गुफा र बराह मन्दिर आकर्षकका रुपमा छ। यहाँ बराहका तीनवटा मन्दिर छन्।ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ।

जसलाई बराहको उत्पत्तीस्थल समेत मानिन्छ। मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ।

रुकुम, सल्यान, दाङ, प्युठान, र सुर्खेत छिमेकी जिल्लाहरूबाट मानिसहरू धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन्। वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीन पटक बराहमा मेला लाग्ने गर्दछ। मनोकाङ्क्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बली दिने चलन छ।

प्रकाशित: १३ कार्तिक २०८१ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App