८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

‘दियाबाती’मा रंगिँदै तराई-मधेस

माटाले घर लिपेर चिटिक्क पार्दै सिरहाको गोलबजारकी रेखादेवी सिंह। तस्बिर: नागरिक

सिरहाको गोलबजार नगरपालिका–१० डाँडा टोलकी रेखा देवीसिंहलाई अहिले भ्याइ न भ्याइ छ। माटाको घर माटैले लिपेर चिटिक्क पार्न उनलाई चटारो छ। घर लिपेर लक्ष्मीको स्वागत गर्न उनी हतारिएकी देखिन्छिन्।

लक्ष्मीपूजा नजिकिएसँगै रेखा मात्र नभई मधेसमा माटाका घर लिपेर सिँगार्ने क्रम सुरु भएको छ। पक्की घर हुनेले विभिन्न थरीका रङरोगन गर्छन् तर कच्ची घर भएकाहरू माटाले बनाइएका घरको टाटी (भित्ता) माटाले लिपपोत गरेर चिटिक्क पार्छन्। मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिँगारेर लक्ष्मीको स्वागत गर्ने चलन छ।

कच्ची घर हुनेहरूले माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ। सफा र पवित्र घरमा लक्ष्मीको बास हुने रेखा बताउँछिन्।

दीपावलीलाई देहातमा ‘दियाबाती’ले चिनिन्छ। उज्यालो पर्व तिहारको पहिलो दिन मधेसमा दियाबातीले लोकप्रिय छ। मधेसमा तिहारको पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृ द्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।

असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वले मधेसी समाजलाई छपक्कै छोपेको छ। रावणको वध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा छ।

मधेसमा दसैं सकिएलगत्तै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। मधेसका दूरदेहातका आँगनमा माटो घोलेर थरीथरीका मौलिक रंगोली बनाइन्छ। दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ।

‘धनतेरसका दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहाननगरपालिका–४ की गृहिणी ३० वर्षीया सुनिती यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ।’

मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबाती (दीपावली) का दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटाको दियो र अन्य बिजुलीबत्ती बालेर घरहरू झकिझकाउ गरिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन्, जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरकी मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मीलाई आह्वान गर्ने चलन पनि छ।

दोस्रो दिन अर्थात् गोवद्र्धन पूजाका दिनगाईवस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिनगाई वस्तुको सिङ रंगाउने, घाँटीमा गरदामी लगाइदिने र गाईवस्तुको राइस (दाम्लो) फेर्ने चलन छ।

दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। सुँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ।

तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रूपैयाँ, गरगहना, लुगाआदि सनेस (उपहार) दिने चलन छ।

संस्कृतिविद् उमेशकुमार झा भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबाती त कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मीपूजा मनाइन्छ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती पनि रहेको झाले बताए।

प्रकाशित: १३ कार्तिक २०८१ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App