९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा ‘जीवनको उत्पत्ति र विकासमा वेदान्त र विज्ञानबिचको संवाद’ सम्मेलन हुने

<br>

‘जीवनको उत्पत्ति र विकासमा वेदान्त र विज्ञानबिच संवाद’ विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारीस्थित अक्षरा स्कुलमा आगामी मंसिर ८ र ९ गते सो सम्मेलन हुन लागेको हो।  

भौतिकतालाई जोडबल लगाइरहेको आधुनिक समयमा वैज्ञानिक प्रमाण र खोजअनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने आयोजकले ठहर गरेको छ। अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलन गर्न लागिएको आयोजकले जनाएका छन्।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले भौतिक जगतको सुख क्षणिक रहने तर आध्यात्मिक सुख जीवन्त रहने भएकाले सो शाश्वत सत्यको जागरण गराई नेपाललाई अध्यात्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउन आफूहरू लागि पर्ने प्रतिबद्धता जनाए। साथै, उनले यी विषय सम्मेलनमा उठाई संवाद गर्ने तयारी भइरहेको जानकारी दिए।

सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायत विभिन्न देशका १५ जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तनका अभियन्ता, गुरुहरू र वैज्ञानिकहरूले आ–आफ्नो मन्तव्य राख्नुका साथै कार्यपत्र पेस गर्ने तयारी भइरहेको छ।

सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष सहयोग रहने सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. मोहन खरेलले बताए। उनका अनुसार २ दिनसम्म चल्ने सम्मेलनमा सम्बद्ध विज्ञहरूसहित करिब तिन सय जनाको सहभागिता रहने अनुमान गरिएको छ।

सम्मेलनमा सन्त महाराज डा. भक्ति निष्काम विजानन, संहिताशास्त्री अर्जुन बास्तोला, डा. जयप्रकाश अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा। रामेश्वर अधिकारी, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, सहप्राध्यापक डा. चित्रबहादुर बानियाँ, उपप्राध्यापक डा. दीपेन्द्र पराजुली र डा. जनार्दन ढुंगानाले कार्यपत्र पेस गर्ने श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले जानकारी गराए।

हिन्दु धर्म र संस्कारको वैज्ञानिक आधारका विषयमा यसअघि पनि साइन्स एन्ड साइन्टिस्ट अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो। 

प्रकाशित: ८ कार्तिक २०८१ २१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App