नवरात्र अवधिभर मधेसका दुर्गा मन्दिर तथा शक्तिपीठहरुमा पूजा गर्न दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। श्रद्धालुहरु बिहानैदेखि पूजा गर्न दुर्गको प्रतिमा (मूर्ति) स्थापना गरिएको स्थानमा (मन्दिर)मा पूजा गरी परिवारको सुखशान्तिको कामना गर्छन्।
लहान, मार्डर, मिर्चैया, गोलबजार, छिन्नमस्ता, जनकपुरधामको राजदेवी, वीरगञ्जलगायतका दुर्गा मन्दिरमा नवरात्रिका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। मन्दिरमा दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, समुदायिक रुपमा, पूजा समिति तथा क्लबहरुको सक्रियतामा व्यवस्थापनको काम हुन्छ।
पूजाका लागि साँझ र बिहान मन्दिरहरुमा महिलाको भिडभाड बढी हुन्छ। प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूर्जा अर्चना गर्नेको भिड घटस्थापनादेखि नै नवरात्रिभर हुन्छ।
जनकपुरधामको राजदेवी मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सर्लाहीको चमेलीमाई मन्दिर, गौरको राजदेवी मन्दिर, पर्सा(वीरगन्ज)को गहवा माई मन्दिर र बारास्थित गढीमाई मन्दिरमा नवरात्रिभर दर्शनार्थीको विशेष भिड लाग्ने गर्दछ।
मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिर प्रमुख शक्तिपीठ मानिन्छ। यो मन्दिरमा अहिले भव्य मेला लागेको छ। मन्दिरलाई स्थानीय युवा क्लवले बेहुलीझैँ सजाएर मेला आयोजना गरेका छन्। यहाँ सीमावर्ती भारतीय गाउँसहरका दर्शनार्थी पनि पूजा तथा मेला हेर्न आउने गर्छन्। राजदेवीलाई राजा जनकको कुलदेवी मानिन्छ।
लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिर यतिबेला बेहुली झै श्रृंगारिएको छ। घटस्थापनाकै दिनदेखि यहाँ लोक नृत्य, सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम आयोजना भइरहेको छ। यहाँ पूजा गर्न तथा मेला हेर्न आसपासका जिल्ला तथा सीमावर्ती भारतीय गाउँसहरबाट समेत भक्तजनहरु दुर्गा माताको दर्शन गर्न आउँछन्।
देवीलाई भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि सोही अनुसार बलि दिनका लागि यहाँ भक्तजन आउने गर्दछन्। यहाँको मेला दुर्गा मन्दिर पूजा समितिले आयोजना गर्छ। यो मन्दिरमा उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकाश सारडाले मूर्तिको रहक सहयोग गरेका छन् भने मेला आयोजनाको खर्च लहान नगरपालिकाबाट मेयर महेश प्रसाद चौधरीले सहयोग गरेका छन्। गत वर्ष यस मन्दिरमा ठुलो परिमाणमा सुनको गरगहना चढाइएको थियो।
महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा पनि नवरात्रिको समय दर्शनार्थीको ओइरो लाग्ने गर्दछ। यहाँ दसैँमा भूतमेला लाग्ने गरेको छ। दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूत, प्रेतात्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन्।
जादु–टुनामुना (तन्त्रसिद्धी) तथा भूतबोक्सीमा विश्वास गर्नेहरुले तिनको प्रभाव नपरोस् भन्नका लागि घटस्थापनादेखि नै पूजापाठ गर्ने गर्दछन्। तान्त्रिक मान्यताअनुसार घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा लिने गरिन्छ। यसमा विश्वास गर्नेहरू बर्सेनि सोनामाई मन्दिरमा ओइरो लाग्ने गर्दछन्।
सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ। यस्तै महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रुपले मनाइन्छ। नेपाल भारतको सिमानामा पर्ने यो ठाउँमा भव्य मेला आयोजना गरिन्छ।
सप्तरी जिल्लाको छिन्नमस्ता भगवती मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र हो। धार्मिक पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा नवरात्रिको बेलामा बिहानदेखि रातिसम्म भिड लागेको हुन्छ। यहाँ भारतीय पनि ठूलो संख्यामा पूजाका लागि आउने गर्दछन्।
सप्तरीको राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता मन्दिर प्रमुख ५१ शक्तिपीठमध्ये एक हो। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यहाँ नवरात्रिमा बिहानदेखि रातिसम्म नेपाली तथा भारतीय श्रद्धालुको भिड लाग्ने गर्दछ।
मन्दिरमा दसैँका बेला ठूलो उत्सव नै हुने गर्दछ। यस मन्दिरमा श्रद्धालुले भाकल पूरा भएपछि बोका बली चढाउने परम्परा छ। यहाँ छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ। सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्दछन्।
यस्तै सप्तरी जिल्लाको राजविराजबाट २३ किलोमिटर पूर्व हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा पर्ने कंकालिनी मन्दिर पनि धार्मिक पर्यटकका लागि लोभलग्दो केन्द्र हो। सप्तरीको प्रमुख शक्तिपीठमध्ये यो एक हो। यो मन्दिरमा पूजा गरेपछि भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास छ। यहाँ पनि नेपाल र भारतका श्रद्धालु–भक्तजन पूजाका लागि आउने गर्दछन् । दसैँमा यहाँ ठुलो मेला लाग्ने गरेको छ।
किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा उत्खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो। त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पूजा सुरू गरेका थिए।
यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनले बोका, राँगा, परेवा, हाँस, आदि बली चढाउने गर्दछन्। यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा सयौँको संख्या बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले यहाँ पञ्चबलिसमेत गर्छन्। यहाँ बर्सेनि ३० हजारभन्दा बढी बलि प्रदान हुने गरेको बताइन्छ। यहाँको मुख्य मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मन्दिरमा पाँच स्तरको छाना छ।
सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिरमा पनि दसैँका अवसरमा विशेष चहलपहल हुन्छ। यहाँ पनि घटस्थापनाको दिनदेखि दसैँको अन्तिम दिनसम्म दर्शनार्थीहरुको भिड लाग्छ।
ऐतिहासिक धार्मिकस्थलको रुपमा रहेको मधेस प्रदेशका गन्तव्यमा यो मन्दिर पनि समावेश छ। जिल्लाको विभिन्न ठाउँबाट हजारौँको संख्यामा भक्तजनहरु यहाँ पूजा गर्न आउँछन्। यो मन्दिरको पनि आफ्नै महत्व छ। यहाँ दसैँमा मात्रै होइन, अन्य समयमा पनि बाटो हिँड्ने यात्रीले आ–आफ्नो सवारीसाधन रोकेर देवीको दर्शन गर्न जान्छन्।
रौतहटको सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर पनि नवरात्रिमा दर्शनार्थीको भिड हुने एउटा शक्तिपीठ हो। यो मन्दिरमा अष्टमीका दिन एक हजारभन्दा बढी खसी, बोकाको बलि दिइन्छ।
रौतहटमा सबैभन्दा बढी बलि दिइने मन्दिरका रुपमा परिचित राजदेवी मन्दिरमा पूर्ण तान्त्रिक विधिबाट पूजा सम्पन्न भएपछि बलि चढाउने चलन छ।
विश्वमै सबैभन्दा बढी पशु बली दिने मन्दिरका रुपमा गढीमाईलाई चिनिन्छि। यो मन्दिर बारा जिल्लामा पर्छ। सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्छ।
पाँच–पाँच वर्षमा मेला लागे पनि यहाँ बडादसैँको बेला पनि उत्तिकै भिडभाड र मेला लाग्ने गर्छ। बडादसैँका बेला यहाँ राँगा तथा बोकाको बलि दिने चलन छ। गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई तथा भक्तिमाईको पनि पूजा गरिन्छ।
गढीमाई मन्दिर मधेस प्रदेशमा रहेको प्रशिद्ध शक्तिपीठ हो। नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थी पनि आउने गर्छन्।
बरियारपुरको खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रह्मास्थल छ। ब्रह्मास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ, लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्म पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। गढीमाईका पूजारी थारूजातिका छन्।
वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा घटस्थापनादेखिनै श्रद्धालु भक्तजनको घुइँचो लाग्छ। गहवामाई मन्दिर हिन्दु धर्मावलम्बीको विश्वास र आस्थाका केन्द्रका रूपमा स्थापित भएको छ।
दसैँभर साँझको समयमा महिलाहरु दियो बाल्न मन्दिर पुग्ने गर्छन्। यहाँ पनि भव्य मेला लाग्छ। यहाँ पनि अष्टमीको दिन देवीलाई पशु बलि चढाइन्छ।
यो मन्दिरको क्षेत्रफल करिब ७२२५ वर्गफिट छ। मन्दिरको तीन वटा ढोका छन्। मूल ढोका पश्चिमतर्फ छ। यो मन्दिरमा अनेकौँ देवीदेवताका मूर्ति छन्। यद्यपि यहाँ विशेषगरी दुर्गा पूजा गरिन्छ।
प्रकाशित: १८ आश्विन २०८१ ०९:०२ शुक्रबार