१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गल्ती प्रजिअको, तानिए एसपी

विपद् व्यवस्थापनमा कमजोरी भएको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्रदेव पाण्डेको हेरफेरपछि त्यहाँका प्रहरी प्रमुखलाई पनि फिर्ता बोलाइएको छ।

वर्षाले जताततै विपत्ति निम्तिएका दुई दिन शुक्रबार र शनिबार सम्पर्कविहीन भएका प्रजिअ पाण्डेलाई गृह मन्त्रालयले फिर्ता बोलाएपछि प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि फिर्ता बोलाइएको हो।

‘प्रजिअलाई मात्र फिर्ता ल्याउँदा कर्मचारीमा नकारात्मक सन्देश जाने भएकाले एसपीलाई पनि तानिएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो। तर एसपी केसीले शुक्रबार र शनिबार मात्र होइन, त्यसअघि गृहले जारी गरेको सूचनालाई कडाइका साथ लागु गर्नुपर्छ भनेर आदेश लिन जाँदा पनि प्रजिअ पाण्डे नभेटिएको बताइएको छ। ‘प्रहरी प्रमुखले खोजेका बेला मात्र नभएर प्रायः शुक्रबार र शनिबार प्रजिअ पाण्डे सम्पर्कविहीन हुने गरेका थिए,’ धादिङका एक प्रहरी अधिकृतले भने, ‘जिल्लामा संकट परेका बेला उनी कहिल्यै भेटिएनन्।’

गृहको दबाबमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङको कमान्ड एसपी दीपेन्द्र शाहीलाई दिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले एसपी गौतम केसीलाई फिर्ता बोलाएर शाहीलाई धादिङ पठाएको बताए। गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रजिअको हेरफेर गरेको थियो। गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रजिअको जिम्मा दिएको छ। धादिङका प्रजिअ पाण्डेलाई फिर्ता बोलाउन गृहसचिव स्वयं पनि लागेका थिए। शुक्रबार र शनिबार गृहसचिवकै फोन नउठाएका प्रजिअ पाण्डेलाई आइतबार साँझ नै काठमाडौं बोलाइएको थियो। शुक्रबार र शनिबार कतै नदेखिएका प्रजिअ पाण्डे आइतबार भने झ्याप्ले खोलामा देखिएका थिए।

धादिङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को समन्वय भएको थिएन। सशस्त्र प्रहरीले राहत र उद्धारमा राम्रो काम गरे पनि जिल्लास्थित युनिटले समन्वय नगरेको गृहले जनाएको छ। धादिङमा डिएसपी लक्ष्मी थपलियाको कमान्डमा सशस्त्र प्रहरी खटिएको छ। झ्याप्ले खोलाको उद्धारका काठमाडौंस्थित १८ नम्बर गुल्म नीलबराहीको टोली पुगेको थियो। गृहले यो विषयलाई पनि ‘नोटिस’मा लिएको छ।

जिल्लामा भएका सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको भए पनि धादिङमा भने यस्तो नदेखिएको सुरक्षा अंगहरू आफैं परिचालित भएको देखिएको गृह स्रोतले जनाएको छ। एसपी गौतम नेपाल प्रहरीभित्र सकारात्मक ट्र्याक रेकर्ड भएका प्रहरी अधिकृत हुन्। यसअघि संखुवासभा, लैनचौर प्रहरी वृत्तको कमान्ड गर्दा उनी पुरस्कृत भएका थिए।

प्रकाशित: १६ आश्विन २०८१ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App